
पोखरा। अन्नपूर्ण गाउँपालिका–४, भदौरेमा “२७औँ भदौरे पञ्चासे कोदो महोत्सव, तमु ल्होसार एवं कृषि जैविक विविधता प्रदर्शनी मेला–२०८२” बिहिवार उद्घाटन गरिएको छ। महोत्सवको औपचारिक उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरेका हुन् ।
उद्घाटन समारोहमा गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, नेपाल सरकारका सहसचिव विनोद बहादुर कुँवर, वडा नं. ४ का अध्यक्ष आइन्दल गुरुङ लगायत जनप्रतिनिधि तथा विभिन्न स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले भदौरे–पञ्चासे क्षेत्रको पहिचानसँग जोडिएको कोदो तथा रैथाने कृषि उपजको संरक्षण र प्रवर्द्धनमा महोत्सव महत्वपूर्ण आधार बन्ने बताए । “यस्ता महोत्सवहरूले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै नागरिकबीच एकता सुदृढ गर्ने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्छन्,” उनले भने ।

वडा अध्यक्ष आइन्दल गुरुङले कृषि जैविक विविधता प्रदर्शनीले कृषि र पर्यटनलाई जोड्दै पञ्चासे क्षेत्रको पहिचानलाई थप स्थापित गर्ने बताए ।
महोत्सवअन्तर्गत रैथाने बाली र कोदोका परिकारको प्रदर्शनी, युवाहरूका लागि खुला भलिबल र फुटबल प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति तथा तमु समुदायको महान पर्व ल्होसार को अवसरमा विशेष सांस्कृतिक झाँकी र शुभकामना आदान–प्रदान कार्यक्रम समावेश गरिएको छ।

यस अवसरमा अध्यक्ष केसीले गाउँपालिकाका विकास योजनाहरूको प्रगतिबारे जानकारी दिँदै महोत्सव सफल बनाउन सहयोग गर्ने स्थानीय युवा क्लब, आमा समूह र सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले उपस्थित सबैलाई आसन्न तमु ल्होसार पर्वको हार्दिक शुभकामना समेत व्यक्त गरेका थिए ।
“कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार; अन्नपूर्ण समृद्धिको आधार” भन्ने नारासहित सुरु भएको महोत्सव पुस ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।











