२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
अर्थ र वाणिज्यखबर

लेखनाथ महोत्सव व्यापारिक केन्द्रमा परिणत, सात दिनमै ६ करोड ८० लाखको कारोबार

लेखनाथ, ९ पुस । कास्कीको लेखनाथमा पुस ३ गतेदेखि जारी २१औँ संस्करणको लेखनाथ महोत्सव महोत्सवस्थल कनिबेचको केन्द्रमै व्यापारिक केन्द्रको रूपमा विकसित हुँदै गएको छ।

महोत्सवमा मनोरञ्जनका कार्यक्रमसँगै घरायसी प्रयोजनका स्वदेशी तथा विदेशी सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध हुने भएकाले महोत्सवस्थल दर्शक तथा उपभोक्ताको आकर्षणको केन्द्र बनेको हो। महोत्सव अवलोकन गर्न आएका दर्शकहरू घर फर्कँदा आवश्यक सामग्री खरिद गरेर फर्कने क्रम बढेपछि अघिल्ला दिनको तुलनामा व्यापारिक कारोबार वृद्धि भएको लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि विस्ताकोटीले जानकारी दिनुभयो।

महोत्सवमा राखिएका करिब ३ सय ३६ फरक–फरक प्रकृतिका स्टलहरूमा दैनिक उपभोग्य सामग्रीदेखि विविध वस्तुहरू उपलब्ध छन्। आफूले खोजेको र रोजेको सामान सुपथ मूल्यमा पाएको भन्दै दर्शकहरू सन्तुष्ट देखिन्छन् भने व्यापार बढेकामा व्यवसायीहरू पनि उत्साहित भएका छन्।

स्वदेशमै उत्पादित वस्तुको बिक्री–वितरण केन्द्रका रूपमा महोत्सव स्थापित भएकाले उपभोक्ताले प्रत्यक्ष रूपमा उत्पादकसँग सामान खरिद गर्न पाएका छन्, जसका कारण सहुलियत मूल्यमा कारोबार भइरहेको छ।

पुस १४ गतेसम्म सञ्चालन हुने महोत्सव सातौँ दिनमा प्रवेश गर्दा बुधबार मात्र करिब ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। हालसम्म कुल ६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भइसकेको स्टलस्तरको सर्वेक्षणले देखाएको महोत्सव प्रचार–प्रसार उपसमितिका संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिनुभयो। बुधबार मात्र १७ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् भने हालसम्म १ लाख ९० हजारभन्दा बढी दर्शकले अवलोकन गरिसकेका छन्।

अनुकूल मौसमका कारण मध्यान्हपछि दर्शकको चाप बढ्दो देखिएको छ। महोत्सव सकिन अझै केही दिन बाँकी रहेकाले आगामी दिनमा दर्शक संख्या थप वृद्धि हुने अपेक्षा गरिएको छ।

महोत्सवको सातौँ दिन कलाकारहरू रामजी खाँड, कृष्ण सुवेदी, जगत पौडेल, पार्वती जिसी, रियालिटीमाया खड्का तथा बन्दना परिवारले प्रस्तुति दिएका थिए। साँझको कन्सर्टमा गायक अर्जुन सापकोटा, सहमिता श्रेष्ठलगायत स्थानीय कलाकारहरूको प्रस्तुतीले स्टेज तताएको थियो।

गाडीदेखि गार्मेन्टसम्म र माछादेखि महसम्म एकै स्थानमा उपलब्ध भएकाले महोत्सवलाई उत्पादक र उपभोक्ताको संगमस्थलका रूपमा लिइएको छ। लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित यो महोत्सव गण्डकी प्रदेशकै नमुना तथा ऐतिहासिक महोत्सवका रूपमा परिचित भइसकेको संघका पूर्व अध्यक्ष छत्रधर आत्रेयले बताउनुभयो।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…