10Shares

लेखनाथ, १० पुस – पुसको चिसो मौसमको पर्वाह नगरी लेखनाथमा जारी महोत्सवमा आइतबार दर्शकको उल्लेख्य भीड देखिएको छ। बिहानैदेखि दर्शकको ओइरो लागेपछि भीड व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो। भीड नियन्त्रणका लागि थप टिकट काउन्टर सञ्चालन गर्नुका साथै आपतकालीन गेटसमेत खोलिएको थियो।

आठौँ दिन क्रिसमस परेकाले अभिभावकहरू बालबालिकासहित महोत्सव अवलोकनमा निस्कँदा अन्य दिनको तुलनामा आइतबार दर्शक संख्या दोब्बरले वृद्धि भएको आयोजकको दाबी छ।

विद्यालयस्तरीय सांस्कृतिक प्रस्तुतीअन्तर्गत लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल, जुनियर सिटिजन्स एकेडेमी र लिटल गार्डेन मोन्टेश्वरीका कार्यक्रमले महोत्सवलाई थप आकर्षक बनाएको थियो। जातजातिको भेषभूषा प्रदर्शनतर्फ भण्डारढिक नेवाःखल र महिलाको सम्मानस्वरूप खाष्टेताल बाराही महिला समूहको रतौली प्रस्तुत गरिएको थियो।

पुस ३ गतेदेखि सञ्चालनमा आएको महोत्सवमा आइतबार मात्रै करिब १ करोड रुपैयाँको आर्थिक कारोबार भएको छ। हालसम्म कुल कारोबार ७ करोड ८० लाख रुपैयाँ पुगेको स्टल सर्वेक्षणले देखाएको छ। आइतबार ३५ हजार र हालसम्म २ लाख २५ हजार दर्शकले महोत्सव अवलोकन गरिसकेको महोत्सव प्रचार–प्रसार उपसमितिका संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिनुभयो।

आठौँ दिनको सांगीतिक कार्यक्रममा शिव हमाल, राजन कार्की, परशुराम अधिकारी, सपना गाहा मगर, नविना सुवेदी, भूमिका गिरी, जानुका पौडेल (प्याकुली) र निरु खड्कले प्रस्तुती दिएका थिए। बेलुकीको कन्सर्टमा गायक ओम गुरुङ, र्‍यापर माइला र यम नेपालीको प्रस्तुतिले स्टेज तताएको थियो।

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected