
पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पर्यटकीय केन्द्र लेकसाइडमा पोखरा सडक महोत्सवको २७औँ श्रृंखला आइतबारदेखि सुरु भएको छ। ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित सुरु भएको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्री कुलमान घिसिङले पोखरा पर्यटनको हब भएकाले अन्य सहर र देशसँगको कनेक्टिभिटी बढाउन आवश्यक रहेको बताए। पोखरालाई सडक र हवाई दुवै मार्गबाट सहज कनेक्टिभिटी आवश्यक रहेको उल्लेख गर्दै उनले पोखराको मुख्य गहना र पर्यटकीय केन्द्र फेवातालको संरक्षण सबैको साझा दायित्व भएको बताए। स्थानीय तथा प्रदेश सरकारले फेवाताल संरक्षणमा पहल गरिरहेको जानकारी पाएको उल्लेख गर्दै उनले भने, “यसमा संघ सरकारको पनि भूमिका हुनुपर्छ, म त्यसका लागि प्रयास गर्छु।”
फरक प्रसङ्गमा मन्त्री घिसिङले फागुन २१ गते हुने चुनाव सफल बनाउनु सरकारको मुख्य प्राथमिकता रहेको बताए। चुनावले देशलाई स्थायित्वतर्फ लैजाने भन्दै उनले भने,“फागुन २१ मा चुनाव हुन्छ र हुनुपर्छ।” चुनाव नभए देश अस्थिरतातर्फ जान सक्ने चेतावनी दिँदै उनले चुनावपछि बन्ने सरकार र नेतृत्वले देशको भविष्य निर्धारण गर्ने बताए। उनले जनतालाई सचेत भएर सही नेतृत्व चयन गर्न आग्रह गरे।

गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले प्रदेश सरकारले पर्यटन विकासका लागि निरन्तर प्रयास गरिरहेको बताए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्न मन्त्री घिसिङसँग आग्रह गरे। उनले भने, “जियो–पोलिटिक्सका कुरा हामीलाई धेरै थाहा नहुन सक्छ, तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्ने वातावरण बनाइदिन आग्रह गर्छु।”
महोत्सवका अवसरमा लेकसाइडको खहरेदेखि अम्बोटसम्म करिब साढे ३ किलोमिटर क्षेत्रमा सडकमा नै विभिन्न खानाका परिकारहरू प्रस्तुत गरिनेछन्। महोत्सवस्थल लेकसाइडलाई दुलहीझैँ सजाइएको छ। सडक माथि ध्वजापताका र आकर्षक विद्युत् बत्ती जडान गरिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए।
महोत्सवमा मुख्य आकर्षणका रूपमा लोपोन्मुख जातजातिका सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लाइभ कन्सर्ट लगायतका कार्यक्रम समावेश छन्। त्यस्तै, डुंगा दौड, वेटर रेस, डोरी तान्ने, मःम तथा ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ पनि रहने कार्यक्रम संयोजक वसन्त गौतमले जानकारी दिए।
महोत्सव अवधिभर पोखरा पर्यटनको विकास, प्रवर्द्धन, अवसर र चुनौतीबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिनेछ।उद्घाटनअघि पोखरा हल्लनचोकदेखि लेकसाइडसम्म सांस्कृतिक झाँकीसहितको ¥याली निकालिएको थियो। ¥यालीमा ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, थकाली, थारु लगायतका जातजाति आ–आफ्ना मौलिक सांस्कृतिक झाँकीसहित सहभागी भएको रेवानका महासचिव बिरेन्द्र शेरचनले बताए ।











