नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु : ६२ प्रतिशत बढीको हस्ताक्षर, कसले के भने ?

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन तथा बिरुवामा पानी हाल्दै पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन गरेका छन्।
पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विधानको धारा १७९(२) अनुसार विशेष महाधिवेशनको माग गरेपछि, संस्थापन पक्षको असहमतिका बीच महामन्त्रीद्वयको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन सुरु भएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले नेपाली काँग्रेसलाई “जिउँदो मानिसहरूको पार्टी” को संज्ञा दिए। “काँग्रेस दास र लासहरूको पार्टी होइन, यो प्रश्न गर्न सक्ने, बहस गर्न सक्ने जिउँदो मानिसहरूको पार्टी हो,” उनले भने, “प्रश्न गर्न नसक्ने समाजले उत्तर पनि पाउँदैन।”
थापाले जेन–जेड आन्दोलनलाई गणतन्त्रभित्र देखिएको नातावाद, भ्रष्टाचार र कुशासनविरुद्धको जनआक्रोशको परिणाम भएको बताए। “राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा ‘नेपो–बेबी’ हरूको वर्चस्व देख्दा युवाहरू आक्रोशित भए,” उनले भने, “त्यो आक्रोश सरकार र संसदप्रति थियो, व्यक्तिगत नेताप्रति होइन।”
महामन्त्री विश्वप्रकाश शर्माले जेन–जेड आन्दोलनका क्रममा २३ भदौमा नवयुवाहरूको मृत्यु हुनु दुर्भाग्यपूर्ण भएको बताए। “त्यो दिन संसद भवन तोडिन दिएको भए सायद ज्यान जाने थिएन,” उनले भने, “२३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन हुनुपर्छ।” उनले विशेष महाधिवेशनले काँग्रेस सुधारको संकल्प लिनुपर्नेमा जोड दिए।
सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको भिजन र साहसले कांग्रेस कार्यकर्ताको शीर ठाडो बनाएको बताए। “गगन एक्ला छैनन्, उहाँसँग ५४ प्रतिशत प्रतिनिधि र लाखौँ कार्यकर्ता छन्,” उनले भने।

पूर्वकार्यवाहक सभापति गोपालमान श्रेष्ठले अब पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने बताए। “इतिहासको ब्याज खाएर अब पार्टी चल्दैन,” उनले भने, “पुस्ता बद्लिएको छ, अपेक्षा बद्लिएको छ।”
गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेसले मौलिक सिद्धान्त छाडेर कम्युनिस्ट विचार भित्र्याएको आरोप लगाए। “कांग्रेस एक्लै हिँड्न डराएको देखिन्छ,” उनले भने, “अब कम्युनिस्टमुक्त कांग्रेस निर्माण गर्न विशेष महाधिवेशनले पहल गर्नुपर्छ।”
केन्द्रीय सदस्य प्रदीप पौडेलले समयमा नियमित महाधिवेशन नगर्दा विशेष महाधिवेशन गर्नुपरेको स्पष्ट पारे।
“५४ प्रतिशत प्रतिनिधिको मागलाई पार्टी फुटाउने प्रयास भन्न मिल्दैन,” उनले भने, “यो विधानले व्यवस्था गरेको प्रक्रिया हो।”
नेता चन्द्र भण्डारीले विगत ३४ वर्ष पद बाँडफाँडमै बितेको टिप्पणी गर्दै पार्टी रूपान्तरण अपरिहार्य भएको बताए। नेतृ पुष्पा भुसालले ५४ प्रतिशत हस्ताक्षरकर्तालाई सम्मान गर्न आफू कार्यक्रममै सहभागी भएको बताइन्। विघटित प्रतिनिधि सभा सदस्य सुनिल शर्माले सभापति शेरबहादुर देउवालाई उमेर र समयको हेक्का राखेर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो। अहिलेसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराइसकेको कार्यक्रममा जानकारी दिइयो। देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। यसको ६२.४ प्रतिशत भनेको २९०० भन्दा बढी हुन आउँछ। भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्द सत्र सभाहलमा सञ्चालन हुनेछ।






सम्बन्धित खवर













