0Shares

पोखरा ।पोखराको अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन नेपाल सरकारकी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले गरिन् ।

उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले पोखरा महोत्सवले पोखराको ब्रान्ड प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै कला, संस्कृति र आर्थिक चलायमानमा समेत टेवा पुर्‍याएको उल्लेख गरिन् । पोखराको पर्यटन प्रवर्द्धनमा पोखरेलीको सक्रियता उदाहरणीय रहेको उनको भनाइ थियो ।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले युनाईटेड क्लबको पहलमा अघि बढेको खुला चिडियाखाना अवधारणालाई प्रदेश सरकारले कार्यान्वयनमा ल्याइरहेको जानकारी दिए । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनसँगै छात्रावास निर्माणमा समेत प्रदेश सरकारको सहयोग रहने उनले बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरू भीम कार्की र बेदबहादुर गुरुङ (श्याम) ले क्लबका सामाजिक गतिविधिको प्रशंसा गर्दै निरन्तर सहयोगको प्रतिबद्धता जनाए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महोत्सव सफल बनाउन पत्रकारहरूको साथ रहने बताए ।

उद्घाटन अवसरमा सामाजिक सञ्जालमार्फत पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएकी मुना केसी र विश्व साइकल यात्रामार्फत नेपाल चिनाएका अजित बराललाई सम्मान गरिएको थियो । कलाकार विपिन कार्की र विजय बरालले शुभकामना व्यक्त गरे ।

महोत्सवपूर्व पोखरा रंगशालाबाट निकालिएको झाँकी तथा र्‍यालीमा ३०० भन्दा बढी संघ–संस्थाको सहभागिता रहेको थियो । झाँकी तथा र्‍याली प्रतियोगितामा विभिन्न टोल विकास संस्था तथा आमा समूहहरू विजयी भएका छन् ।

महोत्सवको पहिलो दिन लोकदोहोरी तथा लाइभ ब्याण्डका आकर्षक प्रस्तुति रहेका छन् । महोत्सव प्रचार–प्रसार संयोजक दिनेश सुनारका अनुसार बुधबार पनि ख्यातिप्राप्त लोकदोहोरी कलाकारहरूको प्रस्तुति रहनेछ ।

क्लब अध्यक्ष तथा मूल समारोह समितिका संयोजक लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन दिनेश सुनारले गरेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected