
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर–२ मा युवा नेता रश्मी आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीले यसअघि उम्मेदवारका रूपमा तय गरिएका कृष्ण थापाको स्थानमा आचार्यलाई चुनावी प्रतिस्पर्धामा उतार्ने निर्णय गरेको हो।
पोखरा महानगरपालिकाको प्रमुख पदमा पराजय भोगिसकेका थापालाई पुनः अवसर दिने एमालेको अघिल्लो निर्णयप्रति कास्की जिल्लाभित्र व्यापक असन्तुष्टि देखिएको थियो। थापाले पटक–पटक अवसर पाइसकेको भन्दै पार्टीकै नेता–कार्यकर्ताले सामाजिक सञ्जालमार्फत खुला असन्तोष व्यक्त गरेका थिए। यसबीच, स्वयम् थापाले पनि उम्मेदवार बन्ने इच्छा नरहेको संकेत गर्दै आएका थिए।
यही पृष्ठभूमिमा अन्तिम समयमा एमालेले उम्मेदवार परिवर्तन गर्दै रश्मी आचार्यलाई अघि सारेपछि कास्की–२ को राजनीतिक वातावरण थप तरंगित बनेको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट राजनीतिक यात्रा सुरु गरेका आचार्य लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका नेताका रूपमा परिचित छन्। यस पटक टिकट पाउनेमा एमाले पंक्तिभित्र व्यापक अपेक्षा रहे पनि अन्तिम घडीमा अर्कै उम्मेदवार चयन गरिँदा पार्टी आलोचनामा परेको थियो। बढ्दो दबाब र आन्तरिक असन्तुष्टिलाई ध्यानमा राख्दै अन्ततः एमाले उम्मेदवार परिवर्तन गर्न बाध्य भएको देखिन्छ।
कास्की–२ दिवंगत नेता रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रका रूपमा पनि परिचित छ। अधिकारीले २०६४ सालमा माओवादीको प्रभावशाली अवस्थामै विजय हासिल गर्दै २०७० र २०७४ मा लगातार तीन पटक प्रतिनिधि सभा निर्वाचन जितेका थिए। उनको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सम्पन्न उपचुनावमा धर्मपत्नी विद्या भट्टराई विजयी भएकी थिइन्। २०७९ को आम निर्वाचनमा पनि भट्टराई निर्वाचित भए तापनि यस पटक उनी चुनावी प्रतिस्पर्धामा छैनन्।
यस क्षेत्रमा एमालेका उम्मेदवार रश्मी आचार्यले नेकपाका किरण थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तम पौडेललगायत उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यता, नेपाली कांग्रेसले भने कास्की–२ मा अझै उम्मेदवार टुंग्याउन सकेको छैन।
उम्मेदवार परिवर्तनसँगै एमालेले कास्की–२ मा नयाँ सन्देश र संगठनात्मक उत्साह सिर्जना गर्ने प्रयास गरेको देखिन्छ। युवा नेतृत्व, लामो राजनीतिक संघर्ष र संगठनात्मक अनुभवका कारण आचार्यको उम्मेदवारीलाई एमालेभित्र चुनौतीसँगै अवसरका रूपमा हेरिएको छ।











