
पोखरा । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कास्की जिल्लामा आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । मिति २०८२/१०/०६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुने निर्वाचन कार्यालयले जनाएको छ ।
तीन वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा प्रत्येक क्षेत्रका लागि छुट्टाछुट्टै स्थल तोकिएको छ । निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारले पोखरा–१२ माटेपानीस्थित पशुपन्छी अनुसन्धान विकास तथा प्रशिक्षण केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ का लागि पोखरा–१७ ड्यामसाइडस्थित सिँचाइ तथा जलस्रोत कार्यालय तथा निर्वाचन क्षेत्र नम्बर ३ का लागि पोखरा–५ मालेपाटनस्थित कृषि मन्त्रालयको कार्यालयलाई मनोनयन दर्ता स्थल तोकिएको छ ।
मनोनयन दर्ताका क्रममा उम्मेदवारले आवश्यक कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्ने निर्वाचन कार्यालयले जनाएको छ । जसअन्तर्गत नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, कुनै पदमा रहेको भए राजीनामाको प्रमाण, प्रतिनिधि तोक्ने फारम, सोही क्षेत्रको मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थक, दलको हकमा औपचारिक पत्र, धरौटी रकम जम्मा गरेको भौचर वा रसिद, स्वघोषणा पत्र, सिलबन्दी सम्पत्ति विवरण, उम्मेदवारको फोटो दुई प्रति सहितको व्यक्तिगत विवरण फारम, पेस्की तथा बेरुजू फर्छ्यौटको निस्सा र प्रतिबद्धता पत्र पेश गर्नुपर्नेछ ।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार मनोनयन दर्ताका क्रममा बाजागाजा, झाँकी, र्याली गर्न निषेध गरिएको छ । उम्मेदवारसहित बढीमा २५ जनासम्म मात्र मनोनयन दर्तामा सहभागी हुन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए ।
निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित रूपमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको छ ।











