
काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठक आगामी माघ १६ र १७ गते काभ्रेपलाञ्चोकको सुन्दर, शान्त र ऐतिहासिक नगरी धुलिखेलमा हुदै छ। बैठकको अवसरमा बागमती एरियामा रहनुभएका डिष्ट्रिक्ट क्याबिनेटका पदाधिकारी, क्लब अध्यक्ष तथा सदस्यहरूमाझ होस्ट क्लबहरूद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
सेवा, नेतृत्व र मित्रताको साझा यात्रामा अर्को महत्वपूर्ण अध्याय थपिँदै गइरहेको यस विशेष अवसरमा उपस्थित भई विचारको आदान–प्रदान, एकताको सन्देश र सेवाको संकल्पलाई अझ सशक्त बनाउन डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले सम्पूर्ण लायन्स लिडर तथा सदस्यहरूलाई हृदयदेखि निमन्त्रणा गरेकी छन् ।
बैठकको आयोजना काठमाडौं र काभ्रेका विभिन्न नौ लायन्स क्लबहरूले संयुक्त रूपमा गरेका हुन्। बैठक आयोजना गर्ने क्लबहरूमा लायन्स क्लब अफ काठमाडौं रञ्जना, काठमाडौं रक्तदाता समूह, काठमाडौं टेम्पल पिस काभ्रे, काठमाडौं पूर्व क्षितिज काभ्रे, काठमाडौं माँ चण्डेश्वरी, काठमाडौं बेथानचोक, काठमाडौं इन्द्रेश्वर, काठमाडौं काभ्रे गोसाइँस्थान तथा लायन्स क्लब अफ काठमाडौं काभ्रे नमोबुद्ध रहेका छन्।
डिष्ट्रिक्टका पदाधिकारी तथा सम्पूर्ण लायन्स सदस्यहरूको गरिमामय उपस्थिति र सक्रिय सहभागिताले बैठकलाई प्रभावकारी तथा सफल बनाउने विश्वास लिइएको आयोजकले लिएको छ। लायनवादको सेवाभावलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजना हुन लागेको यस महत्वपूर्ण बैठकलाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग अपेक्षित रहेको आयोजक समितिले जनाएको छ।

कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको तेस्रो क्याबिनेट बैठक तयारी मूल आयोजक समितिका संयोजक धीरज श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्याबिनेट मिटिङलाई सबै हिसाबले उत्कृष्ट बनाउने लक्ष्यका साथ रजिष्ट्रेशन उप–समितिले सक्रिय रूपमा काम गरिरहेको छ। प्रि–रजिष्ट्रेशनका लागि बागमती र गण्डकी क्षेत्रका एरिया को–अर्डिनेटरहरूलाई जिम्मेवारी प्रदान गरिएको छ।
संयोजक श्रेष्ठले सहभागिताका लागि सबैलाई निमन्त्रणा दिँदै भने, “यो कार्यक्रम काठमाडौं र काभ्रेका नौ क्लबहरूले आयोजना गरेको भए पनि सम्पूर्ण लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबहरूको साझा कार्यक्रम हो। त्यसैले सबै लायन्स सदस्यहरूलाई कार्यक्रममा सहभागी भइदिन हार्दिक अनुरोध गर्दछौं।”
बैठकमा डिष्ट्रिक्ट अन्तर्गतका क्लबहरूले हालसम्म सम्पादन गरेका कार्यक्रमहरूको समीक्षा, आगामी योजना तथा संगठनात्मक विषयहरूमा व्यापक छलफल हुने जनाइएको छ। दुई दिनसम्म चल्ने यस बैठकले डिष्ट्रिक्टको संस्थागत क्षमता सुदृढीकरण, सामाजिक सेवाका क्षेत्रमा सकारात्मक सन्देश प्रवाह, व्यापार–व्यवसायमा गतिशीलता, पर्यटन प्रवर्द्धन तथा समग्र जिल्लाको प्रचारप्रसारमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। काभ्रे जिल्लामा पर्यटन, पर्यापर्यटन, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा साहसिक पर्यटनको अपार सम्भावना रहेकाले यस बैठकले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान पुर्याउने विश्वास आयोजकको छ।











