
अन्नपुर्ण, कास्की। अन्नपूर्ण गाउँपालिका, कास्कीको स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सोमबार गाउँपालिका कार्यालयमा बसेको छ। बैठकमा विपद् जोखिम न्यूनीकरण, प्रभावित परिवार तथा समुदायलाई राहत प्रदान, क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापना तथा भावी विपद् व्यवस्थापनका लागि आवश्यक तयारीका विषयमा केन्द्रित रही विस्तृत छलफल गरिएको थियो।
बैठकमा हालसम्म भएका विपद् घटनापछि प्रदान गरिनुपर्ने विपद् सहायता सम्बन्धी निर्णय तथा अनुमोदनका विषयमा गम्भीर छलफल गरिएको छ। साथै खानेपानी तथा अन्य सेवासँग सम्बन्धित पाइपलाइनहरूको मर्मत तथा प्रतिस्थापनका लागि आवश्यक पाइप खरिद गर्ने प्रस्तावमाथि पनि छलफल भई आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ।
यसका अतिरिक्त, विपद् पूर्वतयारी योजना, जोखिम न्यूनीकरणका उपाय, स्थानीय स्रोत–साधनको प्रभावकारी परिचालन, विभिन्न निकायबीच समन्वय सुदृढ गर्ने विषयलगायत समसामयिक मुद्दाहरूमा समेत बैठकमा विस्तृत विचार–विमर्श गरिएको थियो।
गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा सम्पन्न बैठकमा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल, कार्यपालिका सदस्यहरू, सम्बन्धित शाखा प्रमुख तथा कर्मचारीहरू, साथै नेपाल प्रहरी लगायत सुरक्षा निकायका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।
बैठकबाट भएका निर्णयहरूले स्थानीय तहमा विपद् व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी, समन्वयात्मक र जनमुखी बनाउने दिशामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जनाए । केसीका अनुसार गाउँपालिकाले आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा सुरक्षित समुदाय निर्माणका लागि थप योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।











