गण्डकी प्रदेश समाज कोरिया र दक्षिण कोरिया रिर्टर्निज एसोसिएसन नेपालको सहकार्यमा जेन्जि आन्दोलनका घाइते तथा सहिद परिवारलाई आर्थिक राहत
- January 29, 2026
- 1881

पोखरा । गण्डकी प्रदेश समाज कोरिया र दक्षिण कोरिया रिर्टर्निज एसोसिएसन नेपालको संयुक्त सहकार्यमा जेन्जि आन्दोलनका घाइते तथा सहिद परिवारलाई करिब तीन लाख रुपैयाँ आर्थिक राहत वितरण गरिएको छ।
विहिवार पोखरामा आयोजित आर्थिक राहत वितरण कार्यक्रममा ६ परिवारलाई नगद सहयोग प्रदान गरिएको हो। त्यस्तै, २०८२/१० महिनामा काठमाडौँमा पनि जेन्जि आन्दोलनका घाइते तथा सहिदका ६ परिवारलाई नगद सहयोग हस्तान्तरण गरिएको दक्षिण कोरिया रिर्टर्निज एसोसिएसन नेपालका अध्यक्ष ईश्वर बहादुर केसीले जानकारी दिए ।

गण्डकी प्रदेश कोरिया तथा कोरियास्थित मनकारी नेपाली साथीहरूले स्वतःस्फूर्त रूपमा संकलन गरी पठाएको नगद रकम कोरियाबाट आएका प्रतिनिधि कपिल अधिकारी, दक्षिण कोरिया रिर्टर्निज एसोसिएसन नेपालका अध्यक्ष ईश्वर बहादुर केसी, कार्यसमिति सदस्यहरू, सल्लाहकार सूर्यप्रसाद अधिकारी र नेत्र नारायण पौडेल, तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा वितरण गरिएको हो।
उक्त कार्यक्रम काठमाडौँमा मंगलवार रिर्टर्निजको होटल छिङ्गुमा सम्पन्न भएको थियो भने पोखरामा कोरिया रिर्टर्निज साथीहरुकै होटल किम्ची चौतारीमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै दक्षिण कोरिया रिर्टर्निज एसोसिएसन नेपालका अध्यक्ष ईश्वर बहादुर केसीले विदेशमा रहेर पनि स्वदेशप्रति माया र स्नेह राख्दै सहयोग पुर्याउने गण्डकी प्रदेश दक्षिण कोरियामा रहेका नेपालीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहिद परिवारप्रति गहिरो समवेदना समेत प्रकट गरेका थिए ।
घाइतेहरूको तर्फबाट बोल्दै एक प्रतिनिधिले विभिन्न देशबाट सरकारको खातामा रकम आए पनि प्रक्रिया नमिल्दा राहत प्राप्त गर्न नसकेको गुनासो व्यक्त गर्दै कोरिया टिमले प्रत्यक्ष रूपमा हातमै नगद सहयोग उपलब्ध गराएकोमा उहाँले धन्यवाद व्यक्त गरेका थिए ।













