
पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार तिलकबहादुर रानाभाटले कांग्रेस आफ्ना कमजोरी स्वीकार्दै सुधारका साथ अघि बढ्ने पार्टी भएको स्पष्ट पारेका छन्। उनले देशमा देखिएको राजनीतिक अस्थिरता र निराशाको अन्त्य कांग्रेस नेतृत्वमा मात्र सम्भव हुने दाबी गरे।
नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को प्रचार–प्रसार मूल समितिअन्तर्गत टोल समूह तथा टोल विकास संस्था समन्वय उपसमितिको बैठकलाई सम्बोधन गर्दै रानाभाटले पार्टीको नेतृत्व परिवर्तन भइसकेको उल्लेख गर्दै अब देश परिवर्तन गर्ने समय आएको बताए।

“हामीमा केही कमजोरी होलान्, तर तिनलाई लुकाउने होइन, सुधार गर्दै अघि बढ्छौं,” उनले भने, “व्यक्ति होइन, विचार र पात्र महत्वपूर्ण हुन्। हाम्रो चुनाव चिन्ह रुख हो, कांग्रेस नै लोकतन्त्रको पहिचान हो।”
कास्की क्षेत्र नं. १ कांग्रेसको ऐतिहासिक रूपमा बलियो आधार क्षेत्र भएको उल्लेख गर्दै उनले पार्टी निर्देशनअनुसार सबै कार्यकर्तालाई आ–आफ्नो स्थानबाट संगठित र अनुशासित ढंगले चुनावी अभियानमा सक्रिय हुन आग्रह गरे।
कास्की क्षेत्र नं. १ को क्षेत्रीय निर्वाचन कार्यालयमा सम्पन्न बैठक उपसमिति संयोजक तथा कांग्रेस महाधिवेशन प्रतिनिधि शान्ति खनालको अध्यक्षतामा बसेको हो। बैठकले टोलस्तरसम्म संगठन विस्तार गर्दै निर्वाचन अभियानलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण केसीले पछिल्ला वर्षहरूमा देखिएको अस्थिर राजनीति र संसद् विघटनजस्ता घटनाले देशलाई पछाडि धकेलेको टिप्पणी गरे। उनले कांग्रेस नै यस्ता जटिलताको निकास दिने जिम्मेवार शक्ति भएको दाबी गरे।
विशेष अधिवेशनपछि पार्टीभित्र कुनै पक्ष–विपक्ष नरहेको उल्लेख गर्दै केसीले कास्की क्षेत्र नं. १ ले स्वच्छ, निष्कलंक र सक्षम उम्मेदवार पाएको भन्दै रानाभाटको विजयका लागि सबै कार्यकर्ता तथा शुभेच्छुकलाई एकजुट हुन आह्वान गरे।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सह–महामन्त्री कोपिला रानाभाट, पार्टीका नेता, विभिन्न भ्रातृ संगठनका अध्यक्षहरू तथा ठूलो संख्यामा कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।













