5Shares

पोखरा । उज्यालो नेपाल पार्टीबाट कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुशल गुरुङले पोखराको दिगो विकास, पर्यावरण संरक्षण र आर्थिक रूपान्तरणलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्।

आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरुङले भाषण र नारामै सीमित राजनीति नभई काम र परिणाममा आधारित राजनीतिक अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पोखरा कुनै सरकारी घोषणाले होइन, यहाँको अनुपम प्राकृतिक सौन्दर्य, हिमाल, तालतलैया र जैविक विविधताका कारण विश्वकै महत्वपूर्ण पर्यटकीय सहरका रूपमा स्थापित भएको बताए।

विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्ण, धौलागिरी र मनास्लु पोखराबाट देखिनुका साथै विश्व रामसार सूचीमा सूचीकृत आठवटा तालहरूले पोखराको पर्यावरणीय सन्तुलन, पानीको सुनिश्चितता र सहरको शीतलता कायम राखेको उनले उल्लेख गरे। तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण ताल सुक्दै जानु र हिमालको हिउँ पग्लिनु गम्भीर चुनौती बनेको उनको भनाइ छ।

जलवायु परिवर्तनको असर पोखरेली जनताको गल्ती नभई औद्योगिक राष्ट्रहरूको अत्यधिक कार्बन उत्सर्जनको परिणाम भएको उल्लेख गर्दै गुरुङले त्यसबाट भएको क्षतिका लागि संयुक्त राष्ट्रसंघको हरित जलवायु कोषमार्फत अन्तर्राष्ट्रिय क्षतिपूर्ति प्राप्त गर्न संसदमा बलियो आवाज उठाउने बताए।

पर्यटन प्रवर्द्धनका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गराई वार्षिक ३० लाख पर्यटक भित्र्याउने ठोस योजना कार्यान्वयन गरिने उनले बताए। पृथ्वीचोकस्थित बसपार्कलाई विस्तार तथा व्यवस्थित गर्दै अपांगमैत्री संरचना, सार्वजनिक शौचालय, स्तनपान कक्ष, स्नानगृह, बहुधार्मिक प्रार्थना स्थल र सुविधायुक्त प्रतीक्षालयसहित आधुनिक बसपार्क निर्माण गरिने प्रतिबद्धता पनि उनले जनाए।

तालतलैया र सिमसार संरक्षणलाई प्राथमिकतामा राख्दै फेवाताललाई रामसार मापदण्डअनुसार संरक्षण, अतिक्रमण नियन्त्रण, ढल व्यवस्थापन र जैविक विविधता संरक्षण गरिने उनले बताए। सेती कोरिडोर विकास योजनाअन्तर्गत शान्ति वन जैविक विविधता उद्यानको सुधार, रामघाट जलाधारलाई जलविहार तथा मनोरञ्जन केन्द्रका रूपमा विकास गर्ने तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयदेखि बागमारा क्षेत्रसम्म नयाँ पर्यटकीय गन्तव्य विकास गर्ने योजना रहेको उनले जानकारी दिए।

गुरुङले पोखरालाई साहसिक खेलकुदको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्दै खेलकुद पर्यटनमार्फत ठूलो मात्रामा स्वरोजगारी सिर्जना गरिने बताए। वन डढेलो नियन्त्रणका लागि आधुनिक प्रविधि, तालिमप्राप्त जनशक्ति र सामुदायिक वन उपभोक्ता समितिलाई आवश्यक स्रोतसाधन उपलब्ध गराई तत्काल प्रतिक्रिया प्रणाली लागू गरिने पनि उनले स्पष्ट पारे।

कृषि र ऊर्जा क्षेत्रमा जलवायु उत्थानशील प्रणाली लागू गरी कृषकलाई जलवायु जोखिम बीमाको पहुँचमा ल्याइने, अन्तर्राष्ट्रिय जलवायु वित्तमार्फत ‘जलवायु कोष’ स्थापना गरिने तथा जलविद्युत आयोजनामा जलवायु उत्थानशील प्रविधि अपनाइने उनले बताए। साथै, Pokhara Digital Ecosystem स्थापना गरी २५ हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनको दाबी छ।

शिक्षा र प्रविधिको क्षेत्रमा सामुदायिक विद्यालय, क्याम्पस र विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) आधारित शिक्षा र तालिम लागू गरिने उनले बताए। कास्की, स्याङ्जा र तनहुँका स्थानीय तहलाई समेट्ने एकीकृत फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधान पनि कार्यान्वयन गरिने उनको भनाइ छ।

भूपू गोर्खा सैनिकको योगदानको सम्मान गर्दै ब्रिटिस गोर्खा संग्रहालयलाई आधुनिक ‘गोर्खा संग्रहालय’मा स्तरोन्नति गरिने र युवाका लागि सुरक्षित तथा सहमति–आधारित भारतीय सेनामा भर्ती प्रक्रिया पुनः सुरु गराउन कूटनीतिक पहल गरिने उनले बताए।

सामाजिक न्यायका सवालमा सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बस्तीहरूको न्यायपूर्ण, व्यावहारिक र दिगो समाधान सुनिश्चित गरिने उनले बताए। साथै, संगीत, कला र मनोरञ्जन क्षेत्रको विकास, पार्क, खेलमैदान र सार्वजनिक खुला स्थान विस्तार गरी युवाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने योजना पनि सार्वजनिक गरे।

स्वास्थ्य र सुशासनतर्फ सरकारी अस्पताल तथा स्वास्थ्य चौकी स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार, आधुनिक स्वास्थ्य बीमा प्रणाली प्रभावकारी बनाइने र AI आधारित सुशासन प्रणाली लागू गरिने गुरुङको प्रतिबद्धता छ।

अन्त्यमा उनले सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना गर्ने व्यक्ति तथा गिरोहमाथि तत्काल कानुनी कारबाही अघि बढाइने र पीडितको बचत फिर्ता प्रक्रिया तुरुन्त सुरु गरिने स्पष्ट गर्दै सहकारी ठगीलाई कुनै पनि हालतमा राजनीतिक सौदाबाजीको विषय नबनाइने दोहोर्‍याए।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected