0Shares

स्याङ्जा, २ फागुन । मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषि क्षेत्रमै व्यापक रोजगारी सिर्जना सम्भव रहेको बताउँदै त्यसका लागि संसदमार्फत नीतिगत सुधार अनिवार्य रहेको बताएका छन् ।

स्याङ्जा सदरमुकाममा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ का उम्मेद्वार बनेका ढकालले कुल जनसंख्याको झण्डै ७० प्रतिशत नागरिक कृषि क्षेत्रमा आबद्ध भए पनि मूल्य श्रंखला स्थापित हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको धारणा राखे ।

“कृषि नै रोजगारीको आधार हो । हामीले उत्पादनलाई बजारसँग, किसानलाई उद्योगसँग र वित्तीय संस्थालाई कृषि उद्यमसँग जोड्न सके लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ,” उनले भने ।

बैंकिङ् क्षेत्र र कृषि क्षेत्रमा लामो समय काम गरेको अनुभव उल्लेख गर्दै अर्थविज्ञ ढकालले कृषिमा देखिएका समस्याको समाधान नीतिगत सुधारमार्फत मात्रै सम्भव हुने बताए । “कृषिमा काम गर्दा सरकारले गर्नुपर्ने नीतिगत सुधारका अजेण्डा तयार गरेका छौं । ती अजेण्डा संसदबाट पारित भएमात्रै कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिन्छ,” उनको भनाइ थियो ।

ढकालले कृषि क्षेत्रको संस्थागत विकास, मूल्य श्रंखला सुदृढीकरण र कृषि उद्यम प्रवर्द्धनलाई आफ्नो प्रमुख चुनावी अजेण्डा बनाएको स्पष्ट पारे । उनका अनुसार कृषिलाई व्यवस्थित र व्यवसायिक बनाउन सके उत्पादन वृद्धि मात्र होइन, आयआर्जनका अवसर विस्तार भई परिवार र समाज आर्थिक रूपमा सबल बन्नेछ ।

पछिल्लो समय गाउँबाट बजारतर्फ जनसंख्या सर्ने क्रम बढिरहेको उल्लेख गर्दै उनले कृषि क्षेत्रको समयानुकूल विकास गर्न सके युवाहरू गाउँमै फर्किने वातावरण सिर्जना हुने दाबी गरे । “रोजगारीको खोजीमा विदेश जानुपर्ने बाध्यता अन्त्य गर्न कृषिमा नीतिगत सुधारसँगै आयमूलक समाज निर्माण आवश्यक छ,” उनले जोड दिए ।

ढकालले बैंकिङ् क्षेत्रमा हासिल गरेको अनुभवलाई कृषि उद्यम प्रवर्द्धनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै संसदमार्फत कृषि सुधारका कानुनी र नीतिगत पहल अघि बढाउने बताएका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected