10Shares

पोखरा। लायन्स क्लब अफ पोखरा पिपल चौतारीले आफ्ना सदस्य तथा परिवारजनबीच सामाजिक सद्भाव, भाइचारा र पारिवारिक आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यसहित उल्लासमय पारिवारिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ। वार्षिक कार्ययोजना अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रम प्राकृतिक परिवेशमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको क्लबका सचिव बसन्तराज बास्तोलाले जानकारी दिए।

क्लबका अध्यक्ष लोकनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सदस्यहरू, उनीहरूका परिवारजन तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। खुला वातावरणमा आयोजित कार्यक्रममा विविध मनोरञ्जनात्मक खेलकुद, सांस्कृतिक प्रस्तुति तथा सामूहिक भोजनले सहभागीहरूमा उत्साह थपेको थियो।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवं पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले यस्ता पारिवारिक जमघटले सदस्यहरूबीचको आत्मीय सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। व्यस्त जीवनशैलीबाट केही समय विश्राम र मनोरञ्जन प्रदान गर्ने अवसरका रूपमा यस्ता कार्यक्रमलाई लिनुपर्ने उल्लेख गर्दै उनले परम्परागत खेलकुद, गीत–संगीत र सामूहिक वनभोजले लायन्सको सेवाभावसँगै पारिवारिक एकता र सहकार्यको भावना मजबुत बनाउने धारणा राखे।

कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष शिव केसीले यस्ता कार्यक्रमहरूले लायन्स क्लबको “सेवा र भाइचारा”को मूल मन्त्रलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने बताए। सेवा गतिविधिसँगै सदस्यहरूबीच पारस्परिक विश्वास, सहकार्य र आत्मीयता विस्तार गर्न पारिवारिक कार्यक्रमहरू प्रभावकारी माध्यम बन्ने उनको भनाइ थियो।

क्लबका प्रथम उपाध्यक्ष सुवाखर उप्रेतीले स्वागत मन्तव्य व्यक्त गर्दै उत्साहपूर्ण वातावरणमा सम्पन्न हुने यस्ता कार्यक्रमले सहभागीहरूमा सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरे। अध्यक्ष लोकनाथ अधिकारीले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा पारिवारिक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

कार्यक्रममा डिष्ट्रिक्ट एड्मिनीट्रेटर टंकराज अधिकारी, जिएलटी डिष्ट्रिक्ट को-अर्डिनेटर  भावना बसेल, जोन चेयरपर्सनद्वय बालकृष्ण न्यौपाने, बिजय थापा, लायन्स क्लब अफ पोखरा समर्पितका अध्यक्ष बन्दना केसीलगाएतको उपस्थिति रहेको थियो।

बनभोजका क्रममा विभिन्न मनोरञ्जनात्मक प्रतियोगिताहरू आयोजना गरिएको थियो। बेलुन चुम्मा प्रतियोगितामा संकल्प बसेल र सरु बसेलको जोडी प्रथम तथा लोकनाथ अधिकारी र सविना अधिकारीको जोडी द्वितीय भए। उक्त प्रतियोगितामा ७ जोडी सहभागी थिए। म्युजिकल चेयरमा ११ जना सहभागीमध्ये सरु बसेल प्रथम हुन सफल भइन्। त्यस्तै, घैटो फुटाउने प्रतियोगितामा डा. अर्जुन बस्नेत विजयी भए भने बिङ्गो खेलमा संकल्प बसेलले बाजी मारे।

कार्यक्रमले लायन्स परिवारबीच आपसी सद्भाव, एकता र आत्मीयताको भावना अझ प्रगाढ बनाएको क्लबका सदस्यहरुले बताए।

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected