
स्याङ्जा, १८ फागुन । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जा क्षेत्र नं.–१ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका भरतराज ढकालले जिल्लाका झण्डै ६९ हजार घरपरिवारलाई शेयरमार्फत मालिक बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्।
ढकालले उत्पादनमूलक तथा वित्तीय सेवा समेटिएको ठूलो लगानीको पब्लिक कम्पनी स्थापना गरी स्याङ्जाका ६८ हजार ९५९ घरपरिवारलाई संस्थापक शेयर सदस्यका रूपमा आबद्ध गराएर मालिक बनाउने योजना अघि सारेका हुन्। प्रत्येक घरपरिवारलाई आर्थिक क्षमताअनुसार शेयर वितरण गर्दै उत्पादन, रोजगारी र आयआर्जनलाई एकैसाथ प्रवर्द्धन गर्ने उनको भनाइ छ।
उनका अनुसार उक्त योजनामार्फत जिल्लाका एक लाख १६ हजार ६७८ पुरुष र एक लाख ३६ हजार ३४६ महिलालाई उत्पादनमूलक क्षेत्रमा आबद्ध गरी रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्न सकिनेछ। “उत्पादनमूलक क्षेत्रमा काम गर्नेगरी ठूलो लगानीको पब्लिक कम्पनी स्थापना गर्न सकिन्छ,” ढकालले भने, “प्रत्येक घरपरिवारलाई शेयर दिएर मालिक बनाउँदै जिल्लाको अर्थतन्त्रलाई सबल बनाउनुपर्छ।”
ढकालले भूगोल र वातावरणीय अनुकूलताका आधारमा उत्पादन हुने कृषिजन्य वस्तुको खरिद–बिक्रीसमेत सोही कम्पनीमार्फत गर्न सकिने स्पष्ट पारे। उनका अनुसार २० देखि ३० वर्ष उमेर समूहका करिब ४५ हजार र ३० देखि ४० वर्षसम्मका करिब ३५ हजार युवायुवतीलाई स्वदेशमै रोजगारी र उद्यमशीलतामा आकर्षित गर्न सकिन्छ। वैदेशिक रोजगारीमा रहेका झण्डै ४० हजार युवाशक्तिलाई पनि आयमूलक व्यवसायमा फर्काउने योजना रहेको उनले बताए।
निर्वाचन क्षेत्रका ५२ वटै वडामा मतदाता भेटघाट, घरदैलो र टोलस्तरीय कार्यक्रममा ढकालले कृषिमा आधारित औद्योगिक विकासमा जोड दिएका छन्। उनले मासु तथा दुग्धजन्य उत्पादन वृद्धिसँगै सुन्तला, कफी, अदुवा लगायत नगदेबालीको व्यावसायिक उत्पादनमा लाग्न आग्रह गरेका छन्।
जिल्लाका व्यवसायी रविन्द्रमान श्रेष्ठले ढकालको योजनाप्रति विश्वास व्यक्त गर्दै विगतमा दर्जनौँ कम्पनी स्थापना र सञ्चालनको अनुभवले यस अभियानलाई सफल बनाउन सक्ने बताएका छन्।
मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल विभिन्न वित्तीय तथा सामाजिक संस्थामा करिब तीन दशकदेखि आबद्ध रहँदै आएका छन्। उनले अघि सारेको ‘घर–घर मालिक’ अभियानले जिल्लामा रोजगारी र समृद्धिको नयाँ आधार तयार गर्ने दाबी गरिएको छ।




















