पोखरा । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको पोखरा फाइनान्स लिमिटेडले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई फ्रिज हस्तान्तरण गरेको छ। संस्थाको केन्द्रीय कार्यालय पोखराले पोखरा महानगरपालिका–१७, छोरेपाटनस्थित मानव सेवा आश्रममा उक्त सामाग्री हस्तान्तरण गर्दै सामाजिक सेवामा आफ्नो प्रतिबद्धता पुनःप्रस्तुत गरेको हो।
उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले २९ वर्षको यात्रा संस्थाका लागि केवल समयको दूरी मात्र नभई सेवा, विश्वास र प्रविधिको विकाससँग जोडिएको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। उनले स्थापनाकालदेखि हालसम्म आइपुग्दा पोखरा फाइनान्सले ठूलो संख्यामा ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै वित्तीय पहुँच विस्तारमा उल्लेखनीय योगदान पुर्याएको बताए।
गुरुङका अनुसार संस्थाले व्यावसायिक वृद्धिसँगै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत सशक्त रूपमा अगाडि बढाउँदै आएको छ। “समाजप्रति हाम्रो दायित्व केवल वित्तीय सेवा प्रदान गर्नु मात्र होइन, आवश्यकतामा परेकालाई सहयोग गर्नु पनि हो,” उनले भने। यसै सोचअनुसार वार्षिकोत्सवको अवसर पारेर मानव सेवा आश्रमलाई आवश्यक सामग्री सहयोग गरिएको उनले स्पष्ट पारे।
यसैबीच, संस्थाले वार्षिकोत्सवकै अवसरमा तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग सामग्री वितरण गर्ने योजना समेत अघि सारेको जानकारी दिए । यस कदमले शिक्षा क्षेत्रप्रति संस्थाको संवेदनशीलता र सामाजिक योगदानलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
स्मरणीय छ, पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीचको मर्जर प्रक्रिया अनुमोदन भई अन्तिम चरणमा पुगेको छ। मर्जरपश्चात संस्थाको पूँजी, सेवा विस्तार र प्रतिस्पर्धात्मक क्षमता अझ मजबुत हुने अपेक्षा गरिएको छ।





























