
पोखरा । पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थीहरूले राष्ट्रियस्तरको माध्यमिक विद्यालयस्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्।
गणित शिक्षा परिषद्ले पहिलो संस्करणका रूपमा आयोजना गरेको उक्त प्रतियोगितामा मदरल्याण्डका सुरज पौडेल र संकल्प पौडेलले १२८ अंक ल्याउँदै शीर्ष स्थान सुरक्षित गरेका हुन्। प्रतियोगिताको फाइनल काठमाडौंको बालकुमारीस्थित ट्रिटन कलेजमा सम्पन्न भएको थियो।
विद्यार्थीमा गणितप्रतिको रुचि अभिवृद्धि गर्ने, आत्मविश्वास बढाउने तथा बौद्धिक क्षमता विकास गर्ने उद्देश्यले माघको पहिलो सातादेखि देशव्यापी रूपमा प्रतियोगिता सञ्चालन गरिएको परिषद्ले जनाएको छ। प्रतियोगिता जिल्ला, प्रदेश हुँदै अन्ततः केन्द्रमा ‘स्टेज अन क्विज’ स्वरूपमा आयोजना गरिएको थियो।
अन्तिम चरणमा पुगेका ६ उत्कृष्ट टिममध्ये काठमाडौंबाट बूढानीलकण्ठ स्कुलका इसान सुवेदी र अइलेस ढकालले १२० अंकसहित दोस्रो स्थान हासिल गरे भने धनगढीको एरिस्टो इङ्लिस बोर्डिङ स्कुलका आदर्श लम्साल र विधि भण्डारीले ११५ अंक ल्याउँदै तेस्रो स्थान हात पारे।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, प्रदेशबाट छनोट भई राष्ट्रियस्तरसम्म पुगेका सबै सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा गणित शिक्षा परिषद्का केन्द्रीय अध्यक्ष डा. रमेशप्रसाद अवस्थीले यस्ता प्रतियोगिताले विद्यार्थीमा गणितप्रतिको रुचि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा अझ व्यापक बनाउने योजना रहेको जानकारी दिए।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा परिषद्का पूर्व अध्यक्ष हिरा महर्जनले प्रतियोगितालाई निरन्तरता दिँदै हरेक वर्ष अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सुझाव दिए।
कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. ज्ञानबहादुर थापाले गणित विषय कठिन नभई अभ्यास र प्रयोगमार्फत जीवनमा सहजता ल्याउने विषय भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीमा सकारात्मक सोच विकास गर्ने धारणा व्यक्त गरे।
प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीहरूलाई मात्र सहभागिता अनुमति दिइएको थियो भने प्रश्नहरू पनि सोही कक्षाका अनिवार्य तथा ऐच्छिक गणित विषयवस्तुमा आधारित रहेका थिए।





सम्बन्धित खवर














