कास्कीमा पहिलोपटक सार्वजनिक सेवाको ‘होम डेलिभरी’ सुरु: अन्नपूर्ण गाउँपालिकाबाट राहदानी घरमै वितरण
- April 26, 2026
- 531

अन्नपूर्ण, कास्की — कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको ‘होम डेलिभरी’ प्रणाली सुरु गरिएको छ। नागरिकलाई सरकारी सेवा सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिकाबाट राहदानी (पासपोर्ट) घरमै पुर्याउने सेवाको औपचारिक शुभारम्भ गरिएको हो।
जिल्ला प्रशासन कार्यालय कास्कीको अग्रसरता, अन्नपूर्ण गाउँपालिका र हुलाक निर्देशनालय कास्कीको सहकार्यमा सुरु भएको सेवाअन्तर्गत पहिलो चरणमै सेवाग्राहीका घरमै पुगेर राहदानी वितरण गरिएको छ। अन्नपूर्ण गाउँपालिका–१, लेवाडे निवासी गीता अधिकारी र वडा नं. २, ढिकुरपोखरी निवासी तारा ढुंगाना भण्डारीलाई उनीहरूकै निवासमा राहदानी हस्तान्तरण गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले संयुक्त रूपमा राहदानी हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले सेवामुखी प्रशासनलाई प्राथमिकता दिँदै नागरिकमैत्री पहललाई निरन्तरता दिइने बताइन्।
सोही अवसरमा अन्नपूर्ण गाउँपालिका हुलाक सेवा केन्द्रको अनुगमन समेत गरिएको थियो। साथै गाउँपालिका अध्यक्षसँग भएको भेटघाटमा सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने विषयमा समसामयिक छलफल गरिएको जनाइएको छ।
गाउँपालिका अध्यक्ष केसीले नयाँ सेवाले नागरिकलाई छिटो, सहज र झन्झटरहित सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा यस्ता सेवाहरू थप विस्तार गर्दै लैजान विभिन्न सरकारी निकायसँग समन्वय र सहकार्यलाई निरन्तरता दिइने पनि स्पष्ट पारे।




























