
गोली चलाउनेदेखि दमनमा संलग्न सबैमाथि कारबाही सिफारिस
काठमाडौँ। भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो अन्तिम प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ। आयोगले आन्दोलनका क्रममा गोली चलाउनेदेखि दमनमा संलग्न सबै व्यक्तिमाथि कारबाही गर्न सरकारलाई सिफारिस गरेको जनाएको छ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले आइतबार बिहान प्रधानमन्त्री सुशीला कार्कीलाई करिब नौ सय पृष्ठको प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् सचिवालय बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै आयोग सदस्य विज्ञानराज शर्माले प्रतिवेदनमा तत्कालीन सरकारका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरूमाथि कारबाही सिफारिस गरिएको बताए।
तर उनले कसैको नाम भने सार्वजनिक गरेनन्। उनले भने, “हामीले आफ्नो जिम्मेवारी पूरा गरेका छौँ। अब यो प्रतिवेदन सरकारको सम्पत्ति हो। प्रधानमन्त्रीले आवश्यक कदम चाल्नुहोला।”
गत असोज पहिलो साता गठित उक्त आयोगलाई सुरुमा तीन महिनाको म्याद दिइएको थियो। पछि तीन पटक म्याद थपिएपछि आयोगले अन्ततः आफ्नो प्रतिवेदन बुझाएको हो।
आयोगका अनुसार घटनासँग सम्बन्धित दुई सयभन्दा बढी व्यक्तिसँग बयान लिएर प्रतिवेदन तयार गरिएको हो। प्रतिवेदनमा सुरक्षाकर्मी, प्रशासन र राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरूको भूमिका तथा जेनजी आन्दोलनका घटनाक्रमबारे विस्तृत अध्ययन गरिएको छ।प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने राज्य सञ्चालनको सर्वमान्य सिद्धान्तलाई आधार मानेर विश्लेषण गरिएको बताइन्छ।
उता २४ गते भएको आगजनी र विध्वंसका घटनाबारे भने आयोगले थप अनुसन्धान आवश्यक रहेको संकेत गरेको छ। स्रोतका अनुसार प्रतिवेदनमा उक्त दिन आपराधिक गतिविधि भएको उल्लेख भए पनि त्यसमा संलग्न व्यक्तिहरूको नाम भने किटान गरिएको छैन।
भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जना प्रदर्शनकारीको ज्यान गएको थियो। सो घटनापछि तत्कालीन गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै सोही साँझ राजीनामा दिएका थिए। २४ गतेको घटनामा भने सिंहदरबारसहित विभिन्न स्थानमा आगजनी र विध्वंस भएको थियो। त्यस घटनामा संलग्न भएको आरोपमा केही राजनीतिक व्यक्तिहरू समेत विवादमा तानिएका छन्।
स्रोतका अनुसार आयोगले ती घटनासम्बन्धी भिडियो, फोटो तथा प्रमाणहरू उल्लेख गर्दै सरकारलाई थप अनुसन्धान गर्न सुझाव दिएको छ। “२४ गतेको घटनामा थप अनुसन्धानको आधार दिइएको छ। सरकारले चाहे विस्तृत अनुसन्धानबाट धेरै तथ्य बाहिर आउन सक्छ,” स्रोतले जनाएको छ।
यसैबीच आयोग संयोजक कार्कीले प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गर्न नसके पुनः आन्दोलन भड्किन सक्ने चेतावनी समेत सरकारलाई दिइएको बताए। उनले आयोगले देश, जनता र शहीदको न्यायका लागि निष्पक्ष रूपमा काम गरेको दाबी गर्दै प्रतिवेदन कार्यान्वयन हुने विश्वास व्यक्त गरे।




















