0Shares
  • नेतृत्व विकास, संगठन सञ्चालन, सदस्य परिचालन र समाजसेवाबारे गहन प्रशिक्षण तथा अन्तरक्रिया।
  • शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदान र विपद् व्यवस्थापनजस्ता सेवामूलक अभियानलाई प्राथमिकता दिने प्रतिबद्धता।
  • “बाँडेर सहयोग गर्नु” मूल नारामार्फत सहकार्य, सहानुभूति र मानवीय सेवाको भावना विस्तार गर्ने घोषणा।
  • सहभागीहरूले संगठनात्मक ज्ञान, व्यवहारिक सीप र सेवामूलक नेतृत्व विकासमा कार्यक्रम उपयोगी भएको प्रतिक्रिया।
 
नेपालमा सामाजिक सेवाको पर्यायका रूपमा स्थापित लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ नेपालले तीन दिने “डिष्ट्रिक्ट क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम” ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा सम्पन्न गरेको छ। जेठ २ गतेदेखि सुरु भएको आवासीय प्रशिक्षण कार्यक्रम जेठ ४ गते समापन भएको होभने प्रशिक्षणमा २१६ जनाको सहभागिता रहेको थियो।
सन् २०२६/०२७ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार के. सी. को पहलमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य मनोनीत क्याबिनेट पदाधिकारीहरूलाई संगठनात्मक जिम्मेवारी, नेतृत्व विकास तथा लायनवादको मूल सिद्धान्तबारे प्रशिक्षित गर्नु रहेको बताइएको छ। हरेक वर्ष नयाँ कार्यकाल सुरु हुनुअघि वा लगत्तै आयोजना गरिने यस्तो स्कुलिङ कार्यक्रमलाई लायन्सभित्र नेतृत्व निर्माणको महत्वपूर्ण आधारका रूपमा लिइन्छ।
कार्यक्रम वर्तमान डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको अध्यक्षतामा तथा पूर्व अन्तर्राष्ट्रिय निर्देशक संजय खेतानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय निर्देशक (इन्डोर्सी) राजन लम्साल, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू तथा विभिन्न क्याबिनेट पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तीन दिनसम्म सञ्चालन गरिएको प्रशिक्षणमा लायन्सको उद्देश्य, सामाजिक उत्तरदायित्व, मानवीय सेवामा लायन्सको भूमिका, नेतृत्व विकास, संगठनात्मक अनुशासन तथा व्यवहारिक जीवन उपयोगी विषयहरूमा गहन प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा प्रसिद्ध प्रेरणादायी वक्ता मानसी अग्रवाल, प्रेरणादायी वक्ता रामजी अधिकारी, आइडि (इन्डोर्सी) राजन लम्साल,पूर्व डिष्ट्रिक्ट गभर्नरहरू मन बहादुर रोका, बिनोद ढुंगाना, डिके ढुंगाना, चन्द्रकुमार के. सी.  रामबहादुर बसेल, इन्दु लम्साल, भाइस गभर्नरहरु शैलेन्द्र मोहन भट्टराई, बिष्णु प्रसाद भण्डारीलगायतले सहजीकरण गरेका थिए।
प्रशिक्षणमा सहभागीहरूले नेतृत्व क्षमता अभिवृद्धि, संगठन सञ्चालनको प्रभावकारी शैली, सदस्य परिचालन तथा समाजसेवाका विविध आयामबारे व्यवहारिक ज्ञान हासिल गरेका थिए। विशेषगरी डिजिटल प्रणाली, प्रतिवेदन प्रणाली, क्लब व्यवस्थापन तथा विश्वव्यापी सेवा लक्ष्यबारे गरिएको प्रशिक्षणलाई सहभागीहरूले उपलब्धिमूलक र प्रेरणादायी बताएका छन्।
कार्यक्रममा सामाजिक उत्तरदायित्व, मानवसेवा तथा सेवामूलक अभियानका विविध विषयमा समेत विस्तृत छलफल गरिएको थियो। शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दृष्टि संरक्षण, रक्तदान, विपद् व्यवस्थापन तथा मानवीय सहयोगजस्ता क्षेत्रमा लायन्सले निर्वाह गर्दै आएको भूमिकालाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित प्रशिक्षण सञ्चालन गरिएको आयोजकले जनाएको छ।
लायन्स क्याबिनेटमा मनोनीत पदाधिकारीहरूको भूमिका संगठनलाई गतिशील, उत्तरदायी र सेवामुखी बनाउने महत्वपूर्ण आधार मानिन्छ। जोन चेयरपर्सन, रिजन चेयरपर्सन तथा क्याबिनेट सदस्यहरूको मुख्य दायित्व क्लबहरूबीच समन्वय गर्ने, सदस्यहरूलाई सक्रिय बनाउने तथा डिष्ट्रिक्टका नीति र कार्यक्रमलाई तल्लो तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने हो।
समापन समारोहलाई सम्बोधन गर्दै निर्वाचित डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार के.सी. ले आगामी कार्यकालमा “बाँडेर हेरचाह गर्ने” भन्ने मूल नारालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले सेवा, सहकार्य र सहभागितामार्फत समाजका विपन्न, असहाय तथा आवश्यकता भएका वर्गसम्म लायन्सको पहुँच विस्तार गरिने बताए।
उनका अनुसार “बाँडेर सहयोग गरौ” Caring By Sharing केवल नारा मात्र नभई सामाजिक सहकार्यको अभियान हो। यसले समय, ज्ञान, स्रोत र अनुभव समाजसँग बाँड्दै सहानुभूति र मानवीय भावनाको विकास गर्ने लक्ष्य राखेको छ। विशेषगरी गरिबी, शिक्षा, स्वास्थ्य र विपद्का क्षेत्रमा साझा प्रयासमार्फत दीर्घकालीन प्रभाव सिर्जना गर्ने योजनालाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे।
कार्यक्रमको सञ्चालन सन् २०२६/०२७ का लागि मनोनीत क्याबिनेट सेक्रेटरी अनुज कुमार श्रेष्ठले गरेका थिए भने समापन समारोहमा पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
तीन दिने उक्त स्कुलिङ कार्यक्रमले नयाँ नेतृत्वलाई संगठनात्मक ज्ञान, व्यवहारिक सीप र सेवामूलक सोच विकास गर्न महत्वपूर्ण सहयोग पुगेको सहभागीहरूको विश्वास रहेको छ। सामाजिक सेवा, नेतृत्व र मानवीय सहयोगको अभियानलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित सम्पन्न कार्यक्रमले आगामी लायन वर्षका लागि नयाँ ऊर्जा र उत्साह थपेको आयोजकहरूको भनाइ छ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected