0Shares

२१ शाखासहित सेवा विस्तार, नयाँ नेतृत्व चयन

पोखरा । पोखरा न्युरोडमा १३ वर्षअघि स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) अब ‘युआरएल ग्रुप’मा रूपान्तरण भएको छ। शुक्रबार सम्पन्न विशेष साधारणसभा तथा अधिवेशनले संस्थाका २१ शाखालाई समेट्दै युआरएल ग्रुप गठन गर्ने निर्णय गर्नुका साथै नयाँ नेतृत्वसमेत चयन गरेको हो।

अधिवेशनले ठाकुरप्रसाद पन्थको अध्यक्षतामा सात सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ। ग्रुपको सचिव तथा प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइराला, बोर्ड डाइरेक्टरमा बालकृष्ण शर्मा, गीता कार्की पन्थ, डा. कृष्णराज अधिकारी, डा. वसन्त पगेनी र पुष्पराज कोइराला निर्वाचित भएका छन् ।

साधारणसभाले संस्था सञ्चालनका लागि नयाँ कार्यविधि पारित गर्नुका साथै तीन उपसमिति गठन गर्ने निर्णय गरेको छ। युआरएलमा लेखा तथा खरिद उपसमिति, व्यापार प्रवर्द्धन उपसमिति तथा गुणस्तर नियन्त्रण उपसमिति रहनेछन्।

ग्रुपका अध्यक्ष पन्थले गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याबका रूपमा स्थापित युआरएललाई अझ सशक्त र व्यवस्थित ढंगले अघि बढाइने बताए ।

“काठमाडौं बाहिरको पहिलो रेफरेन्स ल्याबका रूपमा रहेको युआरएलले अहिले ग्रुपअन्तर्गत २१ शाखा र तीन ब्रान्ड नाममार्फत २४ स्थानबाट सेवा दिइरहेको छ,” उनले भने, “अब हामी कम्प्लिट डायग्नोस्टिक सेन्टरको अवधारणातर्फ अघि बढिरहेका छौं।”

कार्यक्रममा प्रबन्ध निर्देशक कोइरालाले आधुनिक प्रविधि, दक्ष जनशक्ति र सर्वसाधारणको आवश्यकता अनुरूप सेवा विस्तार गर्दै संस्थालाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

हाल युआरएल ग्रुपमा ५१ सेयर सदस्य आबद्ध छन्। संस्थामा ६० प्रतिशतभन्दा बढी ‘वाकिङ प्यासेन्ट’ अर्थात् आफैं सेवा लिन आउने सेवाग्राही रहेको जनाइएको छ। युआरएलमा अहिले प्राविधिक तथा गैरप्राविधिक गरी १ सय ५० भन्दा बढी कर्मचारी कार्यरत छन्।

युआरएलले २०७२ सालदेखि विभिन्न रोगसम्बन्धी विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। कास्की तथा आसपासका जिल्लामा विभिन्न सामाजिक र स्वास्थ्य संस्थासँग सहकार्य गरी हालसम्म २ सय २४ वटा शिविरमार्फत २ लाख ८० हजारभन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिइसकेका छन्।

संस्थाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा राष्ट्रिय स्वास्थ्य पुरस्कारसमेत प्रदान गर्दै आएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected