जेठ २० मा अन्नपूर्ण म्याराथन : विश्व चर्चित धावक पाब्लो उरेटा पनि सहभागी हुने

पोखरा । अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म सञ्चालन हुने चर्चित “छैटौँ अन्नपूर्ण म्याराथन–२०८३” को तयारी अन्तिम चरणमा पुगेको छ । “सबै मौसमका लागि पर्यटन” भन्ने मूल नारासहित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा हुने उक्त साहसिक प्रतियोगिता आगामी जेठ २० गते सञ्चालन हुँदैछ । आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिएको हो ।
हरेक वर्ष जुन ३ तारिखलाई विशेष महत्वका साथ मनाउँदै आयोजना गरिने अन्नपूर्ण म्याराथन यस वर्ष पनि भव्य रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ । फ्रान्सेली आरोही मौरिस हर्जोगले विश्वकै पहिलो पटक ८ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण हिमाल सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरणमा यो प्रतियोगिता आयोजना हुँदै आएको हो । साहसिक खेलकुदसँगै पर्वतीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको म्याराथनले अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्दै गएको आयोजकको दाबी छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरूङका अनुसार हालसम्म ६ विभिन्न देशका १३ विदेशी धावक तथा २७ नेपाली धावकले प्रतियोगिताका लागि नाम दर्ता गराइसकेका छन् । यस वर्ष विदेशी धावकहरूको सहभागिता उल्लेख्य रूपमा बढेको उनले बताए । “अहिलेसम्म विदेशी धावकहरूको सहभागिता उत्साहजनक देखिएको छ,” उनले भने, “हाम्रो लक्ष्य नेपालीसहित कुल ७० जना सहभागी पुर्याउने हो ।”
उनका अनुसार नाम दर्ताको समय जेठ १५ गतेसम्म रहेकाले आगामी दिनमा सहभागी संख्या अझ बढ्ने अपेक्षा गरिएको छ । विभागीय टोलीका खेलाडीहरू पनि प्रतियोगितामा सहभागी हुने तयारीमा छन् । साथै स्थानीय स्तरबाट समेत १० जना धावकले प्रतिस्पर्धामा भाग लिने तयारी गरिरहेका छन् ।
यस वर्षको प्रतियोगितालाई अझ विशेष बनाउने अर्को पक्ष भनेको अर्जेन्टिनाका विश्व चर्चित धावक पाब्लो उरेटाको सहभागिता हो । आयोजकका अनुसार उनले अन्नपूर्ण म्याराथनमा सहभागी हुने निश्चित भइसकेको छ । विदेशी खेलाडीहरूको आकर्षण बढ्दै जाँदा अन्नपूर्ण म्याराथनले अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउँदै गएको आयोजकको विश्वास छ ।
समुद्री सतहबाट ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु हुने ४२ दशमलव १९५ किलोमिटर दूरीको म्याराथन माछापुच्छ्रे आधार शिविर, देउराली, दोभान, बम्बो, छोम्रोङ, घुर्जुङ, मेलाँचे र किम्रोङखोला हुँदै घान्द्रुकस्थित श्री मेश्रोम वराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर सम्पन्न हुनेछ ।
उच्च हिमाली भूगोल, कठिन पदमार्ग तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण मार्गका कारण अन्नपूर्ण म्याराथनलाई विश्वकै आकर्षक साहसिक प्रतियोगितामध्ये एक मानिने गरिएको छ । आयोजकका अनुसार प्रतियोगिताले खेलकुद मात्र नभई नेपालको हिमाली पर्यटनको प्रचारप्रसारमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
अध्यक्ष गुरूङले म्याराथनको निरन्तरता नै आयोजकको मुख्य उद्देश्य रहेको बताए । “म्याराथनमार्फत पर्यटन गन्तव्यलाई अझ गतिशील बनाउनुका साथै अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण भएको ऐतिहासिक दिनलाई स्मरण गर्नु पनि हाम्रो उद्देश्य हो,” उनले भने ।
संस्थाका सचिव मिकास गुरूङले प्रतियोगिताले साहसिक खेलकुद र पर्वतीय पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले प्रतियोगिता सफल बनाउन ५०१ सदस्यीय मूल आयोजक समिति तथा १३ वटा विभिन्न उपसमिति गठन गरिएको जानकारी दिए । उनका अनुसार व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, आवास, यातायात र प्रचारप्रसारलगायत सबै पक्षलाई व्यवस्थित बनाइएको छ ।
हिमालयन एक्स्ट्राईको प्राविधिक संयोजनमा सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेतालाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेले नगद रु १ लाख ५० हजार, द्वितीयले रु १ लाख तथा तृतीयले रु ७५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
अन्नपूर्ण म्याराथनको मुख्य आकर्षणका रूपमा “अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०८३” रहेको छ। समग्र अन्नपूर्ण गाउँपालिकाको पर्यटन, कला–संस्कृति, प्राकृतिक तथा धार्मिक सम्पदाको प्रचार–प्रसारमा सञ्चार माध्यममार्फत उल्लेखनीय योगदान पुर्याउने पत्रकारलाई समर्पित गरिनेछ। यस पुरस्कारले पर्यटन पत्रकारितालाई थप प्रोत्साहन गर्दै अन्नपूर्ण क्षेत्रको पहिचान र समृद्ध पर्यटन विकासमा सकारात्मक ऊर्जा थप्ने विश्वास लिइएको छ। यसका साथै विविध सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न करिब ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी लगायत पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाहरूले प्रतियोगितामा सहयोग गर्ने भएका छन् ।
म्याराथनका रेस डाइरेक्टर रिकेश योञ्जनले प्रतियोगितामा सुरक्षालाई उच्च प्राथमिकता दिइएको बताए । उनले प्रविधिमैत्री व्यवस्थापन, स्वयंसेवक टोली तथा मेडिकल किटसहितको स्वास्थ्य व्यवस्थाले प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउने जानकारी दिए । आयोजकका अनुसार हिमाली क्षेत्रमा हुने चुनौतीलाई ध्यानमा राख्दै सम्पूर्ण तयारी पूरा गरिएको छ ।






















