0Shares

अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिकाले जनप्रतिनिधिहरूको दोस्रो कार्यकालको चौथो वर्ष पूरा भएको अवसरमा विकास, समृद्धि र सुशासनको यात्रालाई ऐतिहासिक उचाइमा पुर्‍याउँदै विशेष समारोह आयोजना गरेको छ । गाउँपालिकाको प्रशासनिक तथा विकास यात्रामा नयाँ अध्याय थप्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा सात महत्वपूर्ण योजनाको एकसाथ समुद्घाटन गरिएको हो ।

समारोहमा नागरिक, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णु बहादुर के.सी., उपाध्यक्ष चन्द्रकला अधिकारी, नेपाल सरकारका सहसचिव बिनोद बहादुर कुँवर, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, निवर्तमान गाउँपालिका अध्यक्ष युवराज कुँवर, प्रमुख प्रशासकीय अधिकृत चिरंजीवी बराल, वड़ा अध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधिलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष के.सी.ले अन्नपूर्ण गाउँपालिकाले विगत चार वर्षमा पूर्वाधार, स्वास्थ्य, पर्यटन, शिक्षा, सूचना प्रविधि र सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा अझ पारदर्शी, उत्तरदायी र जनमुखी शासन प्रणालीमार्फत “समृद्ध अन्नपूर्ण” निर्माण अभियानलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरे ।

समारोहको विशेष आकर्षणका रूपमा गाउँपालिकाले प्रकाशन गरेको वार्षिक उपलब्धिमूलक पुस्तक “अन्नपूर्ण दर्पण–४” को विमोचन गरिएको थियो । उक्त पुस्तकले गाउँपालिकाको चार वर्षे विकास यात्रा, उपलब्धि, चुनौती तथा भावी योजनालाई समेटेको छ । कार्यक्रममा स्थानीय संस्कृति र परम्परालाई झल्काउने भजन, सांस्कृतिक नृत्य, विद्यार्थी तथा कर्मचारीहरूको प्रस्तुति, लोक झाँकी तथा विविध सांस्कृतिक कार्यक्रमले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।

गाउँपालिकाको विकास निर्माणमा योगदान पुर्‍याउने निर्माण व्यवसायी, सामाजिक अभियन्ता तथा सहयोगी संस्थाहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । समारोहले अन्नपूर्ण गाउँपालिकाले विकास र सुशासनलाई सँगसँगै अघि बढाइरहेको सन्देश स्पष्ट रूपमा दिएको स्थानीयवासीहरूले बताएका छन् ।

१५ शैयाको अन्नपूर्ण आधारभूत अस्पताल सञ्चालनमा

अन्नपूर्ण आधारभूत अस्पतालको उद्घाटनसँगै गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ ।

नवनिर्मित १५ शैयाको अस्पताल आधुनिक संरचना, आधारभूत स्वास्थ्य सेवा तथा आवश्यक स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएको हो । उद्घाटन समारोहमा पूर्व अध्यक्ष युवराज कुँवर, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

अध्यक्ष के.सी.ले अस्पतालमा दक्ष चिकित्सक, स्वास्थ्यकर्मी, आधुनिक उपकरण र गुणस्तरीय सेवा सुनिश्चित गरिने बताउँदै अब गाउँपालिकावासीले आफ्नै गाउँघरमा सहज र भरपर्दो स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । अस्पतालबाट इमर्जेन्सी, प्रसूति, ओपिडी, प्राथमिक उपचार तथा मातृ–शिशु स्वास्थ्य सेवा थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

नौडाडा भ्यु टावर : पर्यटनको नयाँ आकर्षण

नौडाडा भ्यु टावरको उद्घाटनसँगै अन्नपूर्ण गाउँपालिकाको पर्यटन विकासले नयाँ गति लिएको छ ।

अध्यक्ष विष्णु बहादुर के.सी. र प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संयुक्त रूपमा उद्घाटन गर्नुभएको उक्त भ्यु टावरबाट हिमाल, हरियाली पहाड तथा पोखरा उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

स्थानीयवासीका अनुसार नौडाडा अब आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ । पर्यटन व्यवसायीहरूले पनि यस संरचनाले स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

काँडे–भदौरे–सल्यान सडक : विकासको मेरुदण्ड

काँडे–भदौरे–सल्यान सडकको समुद्घाटनसँगै स्थानीय बासिन्दाको यातायात पहुँच थप सहज बनेको छ ।

सडक निर्माणपछि गाउँ–बस्तीबीचको दूरी छोटिएको छ भने शिक्षा, स्वास्थ्य, कृषि उत्पादन ढुवानी, व्यापार तथा पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । स्थानीय नागरिकहरूले सडकलाई “विकासको मेरुदण्ड” को रूपमा लिएका छन् ।

नयाँपुल डिजिटल चेक पोस्ट : प्रविधिमैत्री सुरक्षा प्रणाली

पर्यटकीय प्रवेशद्वारका रूपमा परिचित नयाँपुल डिजिटल चेक पोस्टको उद्घाटनसँगै सुरक्षा व्यवस्थापन थप आधुनिक र प्रविधिमैत्री बनेको छ ।

डिजिटल प्रणालीमार्फत पर्यटक अभिलेख, सुरक्षा निगरानी तथा सेवा प्रवाहलाई व्यवस्थित बनाइने लक्ष्य लिइएको छ । यसले पर्यटक तथा स्थानीय नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्नुका साथै पर्यटन व्यवस्थापनलाई पनि प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

धोति खोला स्टिल ट्रस पुल : दुई वडाको जीवनरेखा

धोति खोला स्टिल ट्रस पुलको समुद्घाटनसँगै स्थानीयवासीको दैनिक आवतजावत सहज बनेको छ ।

पुल निर्माणपछि विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणलाई ठूलो राहत पुगेको स्थानीयहरूले बताएका छन् । पुलले कृषि उत्पादन बजारसम्म पुर्‍याउन, स्वास्थ्य सेवा लिन तथा सामाजिक–आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

नौडाडा प्रहरी चौकी : सुरक्षित अन्नपूर्णतर्फ अर्को कदम

नौडाडा प्रहरी चौकीको उद्घाटनसँगै गाउँपालिकाको सुरक्षा संरचना थप मजबुत बनेको छ ।

पर्यटकीय क्षेत्रको प्रवेशद्वार नजिक स्थापना गरिएको चौकीले स्थानीयवासी तथा पर्यटकलाई सुरक्षित र विश्वस्त वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले “सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री अन्नपूर्ण” निर्माण अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ ।

समृद्ध अन्नपूर्ण निर्माणतर्फ द्रुत अग्रसरता

अन्नपूर्ण गाउँपालिकाले चार वर्षको अवधिमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, सुरक्षा तथा सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ । सात महत्वपूर्ण योजनाको एकसाथ उद्घाटनले गाउँपालिकाको विकास दृष्टि, दूरदर्शिता र कार्यक्षमताको स्पष्ट सन्देश दिएको छ ।

स्थानीयवासीहरूले जनप्रतिनिधिहरूको सक्रियता र विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै आगामी दिनमा अन्नपूर्ण गाउँपालिका गण्डकी प्रदेशकै नमुना स्थानीय तहका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

विकास, सुशासन, सेवा र समृद्धिको साझा लक्ष्यसहित अघि बढिरहेको अन्नपूर्ण गाउँपालिका अब “समृद्ध अन्नपूर्ण, सुखी नागरिक” को अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected