
पोखरा । गगन थापा नेतृत्वमा रहेको नेपाली कांग्रेस भित्र विशेष महाधिवेशनको विषयलाई लिएर देखिएको मतभेदलाई संस्थापन इतर समूहका नेताहरूले पार्टी फुटको संकेत नभई संगठनलाई थप सशक्त बनाउने वैचारिक अभ्यासका रूपमा व्याख्या गरेका छन् ।
पार्टीभित्र विचार, बहस र समूहगत धारको परम्परा पुरानै रहेको उल्लेख गर्दै नेताहरूले बिपी कोइरालादेखि शेर बहादुरसम्मको राजनीतिक यात्रामा पनि कांग्रेसभित्र विभिन्न समूह र धार सक्रिय रहँदै आएको स्मरण गराए । उनीहरूको भनाइमा फरक मत र बहसले नै कांग्रेसलाई समयअनुसार परिमार्जित र सशक्त बनाउँदै आएको बताएका छन् ।

संस्थापन इतर समूहले जेठ ९ गते पोखरामा “नेपाली कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशा” शीर्षकमा गण्डकी प्रदेशस्तरीय भेला आयोजना गर्ने घोषणा गरेको छ । भेलामा पूर्व महामन्त्री शशांक कोइराल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । साथै १४ औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनित केन्द्रीय सदस्यसहित इतर समूहका विभिन्न नेताहरूको सहभागिता रहने जनाइएको छ ।
पोखरामा बिहीबार आयोजित पत्रकार भेटघाटमा कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले पार्टीभित्र बहस र विचारको संस्कृति जोगाइराख्न भेला आयोजना गरिएको बताए । उनले कांग्रेसभित्र लोकतान्त्रिक अभ्यासलाई जीवन्त राख्न विभिन्न धारबीच संवाद आवश्यक रहेको उल्लेख गरे ।
“हामी पार्टी फुटाउन होइन, पार्टीलाई अझ बलियो बनाउन जुटेका हौं,” उनले भने, “कांग्रेसको इतिहास नै विचार र बहसको इतिहास हो । फरक मत राख्नु कमजोरी होइन, लोकतान्त्रिक शक्ति हो ।”
पूर्व केन्द्रीय सदस्य पुष्प पराजुलीले पनि कांग्रेसभित्र सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले विशेष महाधिवेशनको विषयलाई लिएर विभिन्न धारबीच असन्तुष्टि देखिए पनि अन्ततः त्यसले पार्टीलाई थप स्पष्ट दिशातर्फ लैजाने विश्वास व्यक्त गरे ।
उनले विगतमा पनि कांग्रेसभित्र विभिन्न समूहबीच मतभेद हुने गरेको स्मरण गर्दै भने, “बिपीदेखि शेरबहादुर देउवासम्मको कालखण्डमा पनि विचार समूह थिए । तर ती बहसले अन्ततः कांग्रेसलाई कमजोर होइन, झन् परिपक्व बनाएको थियो । अहिलेको छलफललाई पनि त्यही रूपमा बुझ्नुपर्छ ।”
अर्का पूर्व केन्द्रीय सदस्य गुरु बरालले पार्टीभित्र नीति, कार्यक्रम र संगठन निर्माणबारे खुला छलफल आवश्यक रहेको धारणा राखे । उनले नेतृत्व र कार्यकर्ताबीच संवाद बढाउन सके कांग्रेस अझ एकताबद्ध हुने विश्वास व्यक्त गरे ।
नेताहरूले क्रियाशील सदस्यता नवीकरण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन् । प्रविधिमार्फत सदस्यता अद्यावधिक गर्ने अभियानलाई प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
संस्थापन इतर समूहले यसअघि बागमती, कोशी र कर्णाली प्रदेशमा पनि यस्तै प्रकारका भेला आयोजना गरिसकेको छ । नेताहरूका अनुसार प्रदेशस्तरीय संवाद र छलफलले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।







सम्बन्धित खवर















