
“सर्वोच्चको निर्णयपछि पार्टी कमजोर बन्यो, अब एकतामै कांग्रेसको भविष्य सुरक्षित हुन्छ”
पोखरा। नेपाली कांग्रेसका नेता पूर्व महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो विभाजन र गुटीय ध्रुवीकरणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। गण्डकी प्रदेशस्तरीय संस्थापन इतर भेलालाई शनिवार पोखरामा सम्बोधन गर्दै उनले सर्वोच्च अदालतको निर्णयपछि पार्टीभित्रको राजनीतिक समीकरण बदलिएको र त्यसले कांग्रेसलाई कमजोर बनाएको दाबी गरे।
बीपी कोइरालाका पुत्रसमेत रहेका उनले कांग्रेसको विगतको गौरव सम्झिँदै वर्तमान अवस्थाले आफूलाई भावनात्मक रूपमा पीडा दिएको बताए। “हिजो कांग्रेस कति सुन्दर र बलियो थियो,” उनले भने, “आज त्यही विचारधारामा विभाजन देख्दा मन पोल्छ। यसको असर चुनावी परिणाममा समेत देखिएको छ।”

नेपाली कांग्रेस भित्र विगतदेखि नै विचार समूह र आन्तरिक बहसको परम्परा रहेको उल्लेख गर्दै कोइरालाले अहिलेको अवस्था भने फरक भएको टिप्पणी गरे। उनका अनुसार पहिले मतभेद भए पनि पार्टीभित्र संवाद र सहकार्य कायम रहने गर्थ्यो, तर अहिले अविश्वास र दूरी बढ्दै गएको छ। “कांग्रेस दुई पटक फुट्यो,” उनले स्मरण गरे, “तर पहिले जस्तो गुटीय अभ्यास थियो, अहिले त्यस्तो छैन। अहिलेको परिस्थिती सिर्जना हुनुमा सर्वोच्च अदालतको निर्णय मुख्य कारण बन्यो।”

उनले पार्टीलाई पुनः एकढिक्का बनाउन सबै पक्षबीच गम्भीर संवाद आवश्यक रहेको बताए। १५औँ महाधिवेशनलाई लक्षित गर्दै उनले दुवै धारका शीर्ष नेताहरूलाई समेटेर साझा समिति गठन गर्नुपर्ने प्रस्तावसमेत अघि सारे।
कोइरालाले कांग्रेसको एकता केवल दलगत आवश्यकता नभई मुलुकको राजनीतिक स्थिरता र संविधानको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको धारणा राखे। उनले कांग्रेस कमजोर हुँदा विदेशी हस्तक्षेप, अस्थिरता र द्वन्द्वको खतरा बढ्न सक्ने चेतावनी दिए। “जबसम्म कांग्रेस एक हुँदैन, नेपालको भविष्य अन्योलमै रहन्छ,” उनले भने, “ठूलो संघर्षपछि प्राप्त संविधानको रक्षा गर्नु कांग्रेसको दायित्व हो।”
गण्डकी भेलामा नेताहरूको स्पष्ट सन्देश: “हामी पार्टी फुटाउन होइन, अझ सशक्त बनाउन जुटेका हौँ”
भेलामा सहभागी नेताहरूले पार्टीभित्रको बहस र वैचारिक गतिविधिलाई लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गरेका छन्। भेला आयोजक समितिका संयोजक तथा गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले कांग्रेसको इतिहास नै विचार र बहसको इतिहास भएको उल्लेख गर्दै फरक मतलाई कमजोरी नभई लोकतान्त्रिक शक्ति भएको बताए।
नेपाली कांग्रेस पर्वतका नेता रामकृष्ण मल्लले संचालन गरेको कार्यक्रममा पूर्व केन्द्रीय सदस्यहरु मोहन बहादुर बस्नेत, गुरु बराल, सरस्वती अर्याल, कुन्दन काफ्ले, किरण शर्मा पौडेल, सिता पाण्डे देवकोटा, कोशी प्रदेशका पुर्व मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राइ, नेपाली कांग्रेस स्यांग्जाक सभापति राजु थापा, भक्तपुरक सभापति दुर्लभ थापा, पर्वतका पूर्व सभापति नवराज गुरुङ, राष्ट्रिय सभा सदस्य जगत तिमिल्सिना, म्याग्दीका महासमिति सदस्य ओम छन्त्याल, महासमिति सदस्य पोषनाथ शर्मा, छायारम खनाल , युवा नेता आशिक गुरुङ, श्रीजना मल्ललगाएतले बोलेका थिए।
उनीहरुको प्राय भनाई “हामी पार्टी फुटाउन होइन, पार्टीलाई अझ बलियो बनाउन जुटेका हौँ, विचार र बहसकै कारण कांग्रेस समयअनुसार परिमार्जित र परिष्कृत हुँदै आएको छ।”
नेताहरूले विपी कोइराला देखि शेर बहादुर देउवासम्मको राजनीतिक यात्रामा पनि कांग्रेसभित्र विभिन्न धार सक्रिय रहेको स्मरण गराउँदै बहसले पार्टीलाई परिपक्व बनाएको धारणा व्यक्त गरे।
भेलामा पार्टीभित्र विशेष महाधिवेशनको विषय, नेतृत्व चयन, संगठन विस्तार र क्रियाशील सदस्यता नवीकरण प्रक्रियालाई लिएर असन्तुष्टि देखिएको चर्चा गरिएको थियो। नेताहरूले सदस्यता वितरण र नवीकरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउन माग गरेका छन्। उनीहरूले नेतृत्व र कार्यकर्ताबीच नियमित संवाद कायम राखे कांग्रेस थप एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन्।
गण्डकी प्रदेश भेलाका मुख्य निर्णयहरू-सुकुम्बासीदेखि पार्टी एकतासम्म आठ बुँदे राजनीतिक निष्कर्ष:भेलाले समसामयिक राजनीति, पार्टी संगठन र राष्ट्रिय मुद्दासम्बन्धी विभिन्न निर्णयसमेत सार्वजनिक गरेको छ।
प्रमुख निर्णयहरू:
- सुकुम्बासी बस्तीमा सरकारले गरेको डोजर अभियानको विरोध गर्दै संविधानअनुसार आवासको अधिकार सुनिश्चित गर्न माग।
- शेर बहादुर देउवा र आरजु राणा देउवाको स्वास्थ्य लाभको कामना।
- उद्यमी, व्यवसायी र राजनीतिकर्मीमाथि कानुनी प्रक्रिया बिना भइरहेको धरपकडको विरोध।
- बीपी कोइरालाको सिद्धान्त र आदर्शमाथि राष्ट्रिय बहस चलाउनुपर्ने निष्कर्ष।
- पोखरा सहित गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार गर्न सरकारसँग माग।
- सभापति गगन थापाले पाटी नेताप्रति गरेको अन्यायपूर्ण व्यवहार र भ्रातृसंस्था विघटनको विरोध।
- २०८२ सालको निर्वाचनमा अपेक्षित परिणाम नआउनुको कारण नेतृत्वबीच सहमति अभाव रहेको निष्कर्ष।
- शीर्ष नेताहरूबीच तत्काल संवाद गरेर पार्टी एकताको सन्देश दिन आग्रह।
- २०८३ जेठ १५ भित्र समाधान ननिस्किए महासमिति बैठक बोलाएर निकास खोज्न आह्वान।







सम्बन्धित खवर















