0Shares

पोखरा, जेठ २३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी पुनः निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा उनी प्रतिस्पर्धी एकराज न्यौपानेलाई मात्र १ मतले पराजित गर्दै नेतृत्वमा दोहोरिएका हुन्।

अधिकारीले ११५ मत प्राप्त गर्दा न्यौपानेले ११४ मत पाए। अधिकारी यसअघि पनि रास्वपा कास्कीका सभापति थिए भने न्यौपाने प्रदेश जनसम्पर्क विभाग प्रमुखका रूपमा कार्यरत थिए।

सचिव पदमा विश्वराज पौडेल विजयी भएका छन्। उनले १२२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी टेकराज सापकोटाले १०५ मत पाए । अधिवेशनका लागि २९५ प्रतिनिधि छनोट गरिए पनि निर्वाचनमा २३३ मत मात्र खसेको थियो।

यस्तै, सदस्य पदमा भेषराज तिमिल्सिना, लक्ष्मी पौडेल, श्याम गुरुङ र सीता चापागाईं निर्वाचित भएका छन्। सभापति, सचिव र चार सदस्य पदमा निर्वाचन भए पनि अन्य पदमा भने सर्वसम्मत चयन गरिएको थियो।

उपसभापतिमा चिनु गुरुङ, सहसचिवमा सुजन वस्ताकोटी तथा सदस्यहरूमा श्रवणराज जमरकट्टेल, चित्रबहादुर क्षेत्री, राजकुमार भण्डारी र दलित महिला सदस्यमा लक्ष्मी परियार निर्विरोध निर्वाचित भएका छन्।

रास्वपाको १९ सदस्यीय जिल्ला समितिमा १२ जना निर्वाचित हुने व्यवस्था छ। बाँकी दुई सदस्य सभापतिले मनोनित गर्नेछन् भने जिल्लाका पाँच पालिका समिति सभापति पदेन सदस्य रहने प्रावधान छ।

यसअघि अधिवेशनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अधिवेशनले पार्टीलाई थप सुदृढ, संगठित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected