विश्व खाद्य स्वच्छता दिवस–२०२६ : सुरक्षित खाद्य अभ्यासलाई जीवनशैली बनाउन सरोकारवालाको जोड
- June 7, 2026
- 108

पोखरा, २४ जेठ। “सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान” भन्ने मूल नाराका साथ विश्व खाद्य स्वच्छता दिवस–२०२६ पोखरामा मनाईएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराद्वारा आइतबार पोखरामा आयोजित कार्यक्रममा खाद्य सुरक्षा, स्वच्छता तथा खाद्यजन्य रोग न्यूनीकरणका विषयमा व्यापक छलफल गर्दै सुरक्षित खाद्य प्रणाली निर्माणमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको औँल्याइएको छ।
यस वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निर्धारण गरेको अन्तर्राष्ट्रिय नारासमेत “खाद्यजन्य समस्याको समाधान, सबैतिर स्वच्छ खानपान” रहेको छ। सोही सन्देशलाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा खाद्यजन्य रोगको रोकथाम, उपभोक्ता अधिकारको संरक्षण तथा गुणस्तरीय खाद्य पदार्थको सुनिश्चितताका विषयमा सरोकारवालाहरूले आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा अस्वस्थकर तथा दूषित खाद्य पदार्थ मानव स्वास्थ्यका लागि गम्भीर चुनौतीका रूपमा देखापरिरहेको, खाद्यजन्य रोगले व्यक्तिको स्वास्थ्यमा मात्र नभई शिक्षा, जीविकोपार्जन र समग्र अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्ने उल्लेख गर्दै सुरक्षित खाद्य अभ्यासलाई दैनिक जीवनशैलीको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि चित्रांगत बरालले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ प्राप्त गर्नु प्रत्येक नागरिकको आधारभूत अधिकार भएको बताए। खाद्य स्वच्छता र गुणस्तर सुनिश्चित गर्ने कार्य सरकारको मात्र नभई उद्योगी–व्यवसायी, उत्पादक, विक्रेता तथा उपभोक्ता सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले उत्पादन, प्रशोधन, भण्डारण, ढुवानी र उपभोगका सम्पूर्ण चरणमा स्वच्छता तथा गुणस्तर कायम गर्न आग्रह गरे।
सहभागीहरूबाट उठाइएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै बरालले खाद्यजन्य रोग न्यूनीकरण, सुरक्षित खाद्य अभ्यासको प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिका लागि सरकारी निकाय, निजी क्षेत्र र उपभोक्ताबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए। उनले सुरक्षित खाद्य संस्कृतिको विकासका लागि व्यवहारमै परिवर्तन आवश्यक रहेको धारणा राखे।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराका प्रमुख विजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवान, उपभोक्ता मञ्चका कपिलनाथ कोइराला, राजेन्द्र लिगल, मिलन तिवारी, रेवान पोखराका महासचिव विरेन्द्र शेरचन लगायतले खाद्य स्वच्छता, उपभोक्ता अधिकार, खाद्य गुणस्तर नियन्त्रण तथा सुरक्षित खाद्य संस्कृतिको विकासका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए।
वक्ताहरूले “खाद्य स्वच्छता सबैको जिम्मेवारी” भन्ने सन्देशलाई व्यवहारमा कार्यान्वयन गर्न सके मात्र स्वस्थ नागरिक, स्वस्थ समाज र समृद्ध राष्ट्र निर्माण सम्भव हुनेमा जोड दिए। उनीहरूले खाद्य सुरक्षा सुनिश्चित गर्न कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन, उपभोक्ता सचेतना र व्यवसायीहरूको जिम्मेवार भूमिकालाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा सहभागीहरूले सप्ताहव्यापी अभियानले खाद्य सुरक्षा र स्वच्छताप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। साथै सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य प्रणाली निर्माणमार्फत नागरिक स्वास्थ्य संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको संचालन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराका खाद्य निरीक्षण अधिकारी अशोक गौतमले तथ्य, विज्ञान र प्रमाणमा आधारित उपायहरू अवलम्बन गर्न सके खाद्यजन्य रोगलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने भनाइ राखेका थिए।







सम्बन्धित खवर















