0Shares

पोखरा, २५ जेठ । एसइईमा वर्षेनी उत्कृष्ट नतिजा निकाल्दै आएको पोखराको प्रतिष्ठित शैक्षिक संस्था शान्ति निकेतन स्कुलले उच्च माध्यमिक तहमा पनि आफ्नो यात्रा सुरु गरेको छ। यसै शैक्षिक सत्रदेखि विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ को पठनपाठन सुरु गरेको विद्यालयले पहिलो वर्षमै अभिभावक र विद्यार्थीबाट उत्साहजनक विश्वास प्राप्त गरेको छ।

पोखरा–५, पस्र्याङस्थित अत्याधुनिक सुविधासम्पन्न नयाँ भवनबाट सञ्चालनमा आएको कक्षा ११ मा पहिलो वर्षमै १२० जना विद्यार्थी भर्ना भएका छन्। विज्ञानतर्फ ८० र व्यवस्थापनतर्फ ४० सिट निर्धारण गरिएकोमा लक्ष्यअनुसार नै उच्चतम् ४ जीपीए प्राप्त गरेका विद्यार्थीहरूसहित गुणस्तरीय विद्यार्थीको सहभागिता रहेको संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले जानकारी दिए।

विद्यालयले विज्ञान संकायका कक्षा प्रातः तथा दिवा सत्रमा र व्यवस्थापन संकायका कक्षा दिवा सत्रमा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। निकट भविष्यमै मानविकी लगायत थप संकाय विस्तार गर्ने योजना पनि विद्यालयले अघि सारेको छ।

नवआगन्तुक विद्यार्थीलाई विद्यालय परिवारमा स्वागत गर्दै शान्ति निकेतनले सोमबार विशेष स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा विद्यार्थीलाई सपथ ग्रहण गराउँदै उज्ज्वल शैक्षिक यात्राको शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति प्रा.डा. भरतबहादुर खत्रीले सफलता हासिल गर्न इमान्दारिता, लक्ष्य र निरन्तर मेहनतको विकल्प नरहेको बताए।

जीवनमा के बन्ने भन्ने स्पष्ट लक्ष्य तय गर्नुपर्छ। इमान्दार बन्ने, मेहनत गर्ने र सफल हुने—यही मूल मन्त्रलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ,” उनले भने।

उनले जुनसुकै विषय अध्ययन गरे पनि त्यसमा उत्कृष्टता हासिल गर्न सके सफलता सुनिश्चित हुने धारणा व्यक्त गरे।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत सोम भण्डारीले शान्ति निकेतनको शैक्षिक गतिविधिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै विद्यालय पोखराका उत्कृष्ट नतिजा दिने संस्थामध्ये अग्रपंक्तिमा रहेको बताए।

“एसइईसम्म हासिल गरेको गौरवपूर्ण उपलब्धिलाई कक्षा ११ र १२ मा पनि विद्यालयले निरन्तरता दिनेमा पूर्ण विश्वास छ,” उनले भने।

संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले आधुनिक भौतिक पूर्वाधार, नवीनतम् प्रविधि र अनुभवी शिक्षकमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले शान्ति निकेतनको गौरवशाली इतिहासलाई निरन्तरता दिँदै समावेशी, समतामूलक र विद्यार्थी केन्द्रित शिक्षा प्रणालीमार्फत सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य रहेको बताए।

विद्यालयका बोर्ड अफ डाइरेक्टर किरण सापकोटाले पहिलो ब्याचका विद्यार्थी बन्नु आफैंमा ऐतिहासिक अवसर भएको उल्लेख गर्दै विद्यार्थीलाई दुई वर्ष पूर्ण समर्पणका साथ अध्ययन गर्न आग्रह गरे।

प्रतिभा माध्यमिक विद्यालयका प्राचार्यसमेत रहेका सापकोटाले प्रतिभा र शान्ति निकेतन ‘जोइन्ट भेन्चर’ का रूपमा अघि बढेकाले दुवै संस्थामा समान गुणस्तरको शैक्षिक वातावरण रहने बताए।

“हामी अनुभवले खारिएका र मेहनतले तिखारिएका शिक्षक हौँ। विद्यालयका तर्फबाट कुनै कमजोरी हुने छैन। विद्यार्थीले सगरमाथा छुने सपना देख्नुपर्छ,” उनले प्रेरणादायी सन्देश दिए।

डिज्नील्याण्ड स्कुलका संस्थापक प्राचार्य तथा अभिभावक नरेशप्रसाद बरालले एसइईमा निरन्तर उत्कृष्ट नतिजाका कारण आफ्नी छोरीलाई शान्ति निकेतनमा भर्ना गरेको बताए।

यसैबीच, शान्ति निकेतनबाटै एसइईमा उच्चतम् ४ जीपीए ल्याएका सखिम भण्डारीले विद्यालयको शैक्षिक वातावरण, शिक्षकको माया र प्रेरणाले आफूलाई यहीँ अध्ययन जारी राख्न प्रेरित गरेको बताए। उनलाई कार्यक्रममा विशेष सम्मानसमेत गरिएको थियो।

नवआगन्तुक विद्यार्थीका तर्फबाट खुशी अधिकारीले पहिलो ब्याचको हिस्सा बन्न पाउँदा गर्व लागेको बताउँदै मेहनतपूर्वक अध्ययन गर्ने प्रतिबद्धता जनाइन्।

त्यसैगरी, केवल १३ वर्षको उमेरमै एसइईमा ए प्लस नतिजा ल्याएका पर्वतका विवेक शर्मा पनि विज्ञान संकायमा भर्ना भएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुत्र्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहप्राचार्य यदुविलास भुत्र्यालले स्वागत मन्तव्य र परीक्षा विभाग प्रमुख हेम सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रमको आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारले आफ्ना लोकप्रिय गीतमार्फत विद्यार्थी र अभिभावकलाई भरपुर मनोरञ्जन प्रदान गरिन्। उनका प्रस्तुतीसँगै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

एसइईमा स्थापित उत्कृष्टताको विरासत बोकेको शान्ति निकेतनले कक्षा ११ सञ्चालनसँगै पोखराको शैक्षिक क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ। पहिलो वर्षमै उल्लेखनीय विद्यार्थी सहभागिता, अनुभवी शैक्षिक नेतृत्व र आधुनिक पूर्वाधारका कारण विद्यालयले उच्च माध्यमिक तहमा पनि उत्कृष्टताको नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected