सार्वजनिक यातायातमा भोग्दै आएको पीडा समाधान : कृष्ण थापाको सम्मान र अधिकार सुनिश्चित गरिने
- June 8, 2026
- 108

पोखरा । बौद्धिक अपाङ्गता भएका एक नागरिकले सार्वजनिक यातायातमा लामो समयदेखि भोग्दै आएको पीडा अन्ततः समाधानतर्फ उन्मुख भएको छ। पोखरा महानगरपालिका वडा नं. २६ निवासी कृष्ण थापाले बस यात्राका क्रममा भोग्नुपरेका असहजता तथा दुर्व्यवहारका विषयमा भएको छलफलपछि महत्वपूर्ण निर्णयहरू गरिएका छन्।
वडा कार्यालयमा आयोजित छलफलमा बेगनासताल–पोखरा यातायात प्रालिका प्रतिनिधि, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। छलफलले समस्या पहिचान मात्र नगरी कृष्ण तथा उनीजस्ता विशेष आवश्यकता भएका नागरिकहरूको सम्मानजनक यात्राको सुनिश्चितताका लागि उदाहरणीय पहल अघि सारेको छ।
वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाका अनुसार आगामी दिनमा कृष्ण तथा अन्य अपाङ्गता भएका नागरिकप्रति कुनै पनि प्रकारका दुर्व्यवहारका घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरिएको छ। कृष्णको सहज पहिचान र सम्मानजनक यात्राका लागि वडा कार्यालयले विशेष पोशाक उपलब्ध गराउने निर्णय गरेको छ। उक्त पोशाकका आधारमा यातायात प्रालिअन्तर्गत सञ्चालन हुने बसहरूले उनलाई सुरक्षित, सहज र सम्मानजनक यात्रा सुविधा प्रदान गर्नेछन्।
छलफलले कृष्णलाई सार्वजनिक यातायातमा पूर्ण भाडा छुटसहित निःशुल्क यात्रा सुविधा उपलब्ध गराउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय समेत गरेको छ।
“भौतिक पूर्वाधारको विकास मात्र विकास होइन, समाजका सबैभन्दा विशेष अवस्थाका नागरिकले सुरक्षित र सम्मानित महसुस गर्न पाउनु नै वास्तविक विकास हो,” वडाध्यक्ष थापाले बताए।
स्थानीय तहको यो पहलले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सामाजिक समावेशिताको पक्षमा सकारात्मक सन्देश प्रवाह गरेको छ। ढिलै भए पनि कृष्णले न्याय पाएका छन् भने यस कदमले अन्य अपाङ्गता भएका नागरिकहरूलाई समेत सम्मान र अपनत्वको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।
वडा कार्यालयले यस्ता संवेदनशील विषयमा आफू सदैव गम्भीर, उत्तरदायी र समाधानमुखी रहने प्रतिबद्धता जनाएको छ।




























