
पोखरा । करिब आधा शताब्दीदेखि विभिन्न विवाद र अवरोधका कारण रोकिँदै आएको सुविधा सम्पन्न पोखरा बसपार्क निर्माणको मार्ग अन्ततः खुल्ने भएको छ।
पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गाधनीहरू र पोखरा महानगरपालिकाबीच महत्वपूर्ण सहमति भएपछि निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ। सहमतिअनुसार जग्गाधनीहरूले महानगरपालिकाविरुद्ध सम्मानित उच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिने भएका छन् भने बसपार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यस्तै, भविष्यमा निर्माण गरिने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्डअनुसार निर्माण गर्ने सहमति समेत भएको छ। हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू भने आजको मितिले ७ दिनभित्र पूर्ण रूपमा हटाइने सहमति भएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए।
नगर प्रमुख आचार्यले लामो समयदेखि रोकिएको बसपार्क निर्माणको मार्ग प्रशस्त गर्न सहयोग पुर्याउने जग्गाधनी, स्थानीयवासी, सरोकारवाला निकाय तथा सम्बन्धित सबै पक्षप्रति कृतज्ञता व्यक्त गरेका छन्।
यस सहमतिसँगै पोखराले आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माणको दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको विश्वास गरिएको छ।




























