0Shares

पोखरा, २७ जेठ। नेपालको पर्यटन राजधानी पोखराको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले भारतको कोलकातामा ‘पोखरा–नेपाल प्रमोसनल क्याम्पेन २०२६ तथा बीटुबि सेल्स मिसन’ आयोजना गर्ने भएको छ।

जुन ११ देखि १५ सम्म सञ्चालन हुने अभियानबारे बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। अभियानको मुख्य कार्यक्रम जुन १३ मा कोलकातास्थित होटल केनिलवर्थमा आयोजना हुनेछ।

नाट्टा गण्डकीका अनुसार अभियानको उद्देश्य नेपाल र भारतबीचको पर्यटन सहकार्यलाई थप सुदृढ बनाउनुका साथै पोखरालाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा भारतीय बजारमा स्थापित गर्नु हो।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पछिल्लो समय भारतीय पर्यटकको आगमन उत्साहजनक रहेको बताए। उनका अनुसार अघिल्लो महिनाको तथ्यांक हेर्दा नेपाल आउने कुल विदेशी पर्यटकमध्ये करिब २९ प्रतिशत भारतीय रहेका छन्।

“भारतीय बजार नेपालको पर्यटनका लागि अत्यन्त महत्वपूर्ण छ,” उनले भने, “यस्ता प्रवर्द्धनात्मक अभियानले पोखरा र भारतका विभिन्न सहरबीच हवाई सम्पर्क विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौं।”

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले भारतीय पर्यटकको बढ्दो आगमनलाई व्यवस्थित व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए। पर्यटनमैत्री व्यवहारका कारण भारतीय पर्यटक नेपालप्रति आकर्षित भइरहेको उनको भनाइ थियो।

नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य वासुदेव त्रिपाठीले निजी क्षेत्रको सक्रियताले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। उनले गन्तव्य प्रवर्द्धनका कार्यक्रम पुनः सक्रिय रूपमा सञ्चालन हुन थालेकोमा खुसी व्यक्त गरे।

अभियानमा २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। टोलीको नेतृत्व नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले गर्नेछन् भने संयोजकको जिम्मेवारी प्रथम उपाध्यक्ष सङ्गीता पौडेल र सहसंयोजकको जिम्मेवारी द्वितीय उपाध्यक्ष राजेश पहारीले निर्वाह गर्नेछन्।

कार्यक्रम संयोजक तथा नाट्टा गण्डकीका प्रथम उपाध्यक्ष सङ्गीता पौडेलले पोखरालाई अन्तर्राष्ट्रिय बजारमा थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्न अभियान केन्द्रित गरिएको बताइन्। उनले पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले बीटुबि भेटघाट कार्यक्रमसमेत समावेश गरिएको जानकारी दिइन्।

अभियानअन्तर्गत पोखरा तथा नेपालको पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन, प्रवर्द्धनात्मक सामग्री वितरण, व्यवसायीबीच अन्तरक्रिया तथा विभिन्न पर्यटन संघ–संस्थासँग छलफल कार्यक्रम आयोजना गरिनेछ। साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारका विषयमा समेत सरोकारवालासँग संवाद गरिने जनाइएको छ।

कार्यक्रममा भारतका प्रमुख पर्यटन संगठन, टुर अपरेटर, ट्राभल एजेन्ट, सञ्चारकर्मी तथा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्वहरूको सहभागिता रहनेछ। इन्डियन एसोसिएसन अफ टुर अपरेटर्स, ट्राभल एजेन्ट्स एसोसिएसन अफ बंगाल, इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर्स एसोसिएसनलगायत संस्थाका प्रतिनिधिहरू सहभागी हुने नाट्टाले जनाएको छ।

जुन १३ मा हुने मुख्य कार्यक्रममा पश्चिम बंगालका लागि नेपालका महावाणिज्यदूत महामहिम झक्क प्रसाद आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

नाट्टा गण्डकीले यसअघि भारतका पटना, वाराणसी, अयोध्या, गोरखपुर र सिलिगुडीमा यस्ता प्रवर्द्धनात्मक अभियान सञ्चालन गरिसकेको छ। ती अभियानपछि पोखरामा भारतीय पर्यटकको आगमन बढेको दाबी गर्दै संस्थाले कोलकाता अभियानबाट पनि सकारात्मक परिणाम प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected