
पोखरा, असार १४। ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नारासहित पोखरामा २१औँ रोपाइँ महोत्सव–२०८३ उत्साहपूर्वक सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्को मुख्य आयोजना तथा वडा स्तरीय कृषि सञ्जालको स्थानीय व्यवस्थापनमा पोखरा–३० शिशुवा, देउराली खोलाछेउमा आयोजित महोत्सवले कृषि, संस्कृति र पर्यटनलाई एउटै मञ्चमा जोडेको छ।
हिलोमा खेलिने परम्परागत खेल, रोपाइँ, सांस्कृतिक प्रस्तुति तथा स्थानीय सहभागिताले महोत्सवलाई आकर्षक बनाएको थियो। महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले तीव्र सहरीकरणका कारण घट्दै गएको खेतीयोग्य जमिनको संरक्षण, परम्परागत धान खेतीको प्रवर्द्धन तथा युवालाई कृषिप्रति आकर्षित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । कृषि, संस्कृति र पर्यटनको समन्वयमार्फत पोखरालाई आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महोत्सवले महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।

महोत्सवका अवसरमा पोखरा महानगरपालिकाले उत्कृष्ट कृषक सम्मान प्रदान गर्दै पोखरा–२१ का ज्ञानबहादुर कार्की र पोखरा–२७ की कमला पाल्पाली खड्कालाई नगदसहित सम्मानपत्र प्रदान गरेको छ।
कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक कार्कीले ६५ रोपनी क्षेत्रफलमा मकै, तरबुजा, विभिन्न तरकारी बाली तथा पशुपालन गर्दै व्यावसायिक कृषि विस्तार गरेका छन् । त्यसैगरी हेब्रोन लाइभ स्टक फार्मकी सञ्चालक खड्काले आधुनिक र वैज्ञानिक प्रविधिमा आधारित नमुना दुग्ध उत्पादन केन्द्र सञ्चालन गर्दै स्थानीय स्तरमा दुग्ध आपूर्ति, रोजगारी सिर्जना र दिगो कृषिमा उल्लेखनीय योगदान पुर्याएकी छन् ।
३२ रोपनी क्षेत्रफलमा फैलिएको हेब्रोन लाइभ स्टक फार्ममा उन्नत घाँस खेती, आधुनिक गोठ, दूध दुहुने विशेष कक्ष, दाना भण्डारण गृह, मल तथा जैविक फोहोर व्यवस्थापन संरचना र प्रशासनिक भवन निर्माण गरिएको छ। फार्मले जैविक सुरक्षा र व्यावसायिक पशुपालनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषि अभ्यासलाई प्रवर्द्धन गरिरहेको छ।
नगर प्रमुख आचार्यले महानगर कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषकको सम्मानका लागि निरन्तर सहकार्य र प्रोत्साहनका कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
रोपाइँ महोत्सवले कृषि संरक्षण, कृषकको सम्मान र पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्दै पोखराको मौलिक पहिचान उजागर गरेको आयोजकको विश्वास छ।




























