0Shares

पोखरा। जुलाई १ देखि लायन वर्ष २०२६/२०२७ को कार्यकाल औपचारिक रूपमा सम्हाल्न लागेका लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालका नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले पोखरा क्षेत्रका सम्पूर्ण क्याबिनेट पदाधिकारी, क्लब अध्यक्ष तथा लायन सदस्यलाई सेवा, नेतृत्व र सहकार्यलाई केन्द्रमा राखेर अघि बढ्न आह्वान गरेका छन्। उनले यस वर्षको मूल नारा ‘Caring by Sharing (बाँडेर सेवा गरौँ)’ सार्वजनिक गर्दै सेवा, नेतृत्व, भाइचारा र अवसर सिर्जनामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित गराएकोमा सम्पूर्ण लायन सदस्य, अग्रज, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै गभर्नर केसीले लायन्सको मूल मन्त्र ‘We Serve’ लाई व्यवहारमा उतार्न सबैलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन्। उनका अनुसार सेवा भनेको केवल आर्थिक सहयोग मात्र नभई प्रेम, करुणा, ज्ञान, अनुभव, समय, श्रम, नेतृत्व र प्रेरणा बाँड्ने संस्कृतिको विकास पनि हो। यस्ता साझा प्रयासले समुदायमा विश्वास, सामाजिक सद्भाव, आत्मीयता र आशाको वातावरण निर्माण गर्ने उनको विश्वास छ।

उनले समाजका विपन्न, असहाय तथा अवसरबाट वञ्चित व्यक्ति र समुदायको आवश्यकता पहिचान गरी प्रभावकारी मानवीय सेवा सञ्चालन गर्ने तथा प्रत्येक क्लबलाई गुणस्तरीय, सक्रिय, उत्तरदायी र प्रभावकारी बनाउँदै लायनवादको दायरा अझ फराकिलो बनाउने लक्ष्य लिएको बताए।

गभर्नर केसीका अनुसार लायन वर्ष २०२६/२०२७ मा सेवा विस्तारसँगै नेतृत्व विकास, सदस्य वृद्धि, महिला तथा युवाको सहभागिता विस्तार, क्लब सुदृढीकरण, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा मानवीय सेवाका कार्यक्रमलाई विशेष प्राथमिकता दिइनेछ। नयाँ क्लब स्थापना, महिला सदस्य तथा युवा नेतृत्व आकर्षित गर्ने, लियो क्लब विस्तार गर्ने र भविष्यका सक्षम नेतृत्व उत्पादन गर्ने योजनालाई समेत उच्च प्राथमिकतामा राखिएको छ।

डिष्ट्रिक्टले अन्तर्राष्ट्रिय अभियान Mission 1.5 लाई सफल बनाउन सदस्य संख्या वृद्धि, नयाँ क्लब स्थापना, सदस्य अभिमुखीकरण, क्लब सुदृढीकरण तथा सदस्य अनुभव सुधारका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। प्रत्येक क्लबलाई कम्तीमा २५ सदस्यसहितको स्वस्थ र सक्रिय क्लबका रूपमा विकास गर्ने लक्ष्य निर्धारण गरिएको छ।

सेवा कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविर, मेगा स्वास्थ्य शिविर, रक्तदान अभियान, शिक्षा सहयोग, बाल स्वास्थ्य तथा पोषण, वातावरण संरक्षण, सरसफाइ, वृक्षारोपण, विपद् व्यवस्थापन तथा महिला र युवाका लागि स्वरोजगारमूलक तालिम सञ्चालन गरिनेछ। त्रिभुवन विश्वविद्यालय लायन्स ब्लड बैंकसँग समन्वय गरी सात हजार पिन्ट रगत संकलन गर्ने महत्वाकांक्षी लक्ष्यसमेत डिष्ट्रिक्टले लिएको छ।

त्यसैगरी, एलसीआईएफ (LCIF) तथा नेपाल लायन्स फाउन्डेसन (NLF) मा योगदान वृद्धि, मेल्भिन जोन्स फेलो (MJF) तथा प्रोग्रेसिभ मेल्भिन जोन्स फेलो (PMJF) विस्तार, क्लब ट्विनिङ, अन्तर्राष्ट्रिय साझेदारी तथा संयुक्त सेवा कार्यक्रममार्फत लायन्सको अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाइनेछ। डिष्ट्रिक्टको आफ्नै दीर्घकालीन प्रभाव पार्ने ‘सिग्नेचर प्रोजेक्ट’ विकासमा पनि विशेष जोड दिइएको छ।

नेतृत्व विकासलाई संस्थागत बनाउन क्याबिनेट अफिसर स्कुलिङ, क्लब अध्यक्ष प्रशिक्षण, अध्यक्ष सम्मेलन, डीएलएलआई, प्रशिक्षक प्रशिक्षण (TOT), जोन तथा रिजनस्तरीय तालिम, सार्वजनिक वक्तृत्वकला तथा क्विज प्रतियोगितालगायत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछन्। गभर्नर केसीले सक्षम नेतृत्व नै सफल संस्थाको आधार भएकाले प्रशिक्षण र सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

डिष्ट्रिक्टले यस वर्ष उत्कृष्ट क्लब, अध्यक्ष, पदाधिकारी तथा विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम पनि सञ्चालन गर्नेछ। पीडीजी सम्मान, एमजेएफ तथा पीएमजेएफ सम्मान, डिष्ट्रिक्ट अवार्ड, एनएलएफ दिवस, एमजेएफ दिवस, स्रष्टा सम्मान तथा विशिष्ट व्यक्तित्व सम्मानका साथै खेलकुद प्रतियोगिता र जिल्ला स्तरीय फेलोसिप कार्यक्रमसमेत आयोजना गरिनेछ।

गभर्नर केसीले समय व्यवस्थापन, पारदर्शिता, उत्तरदायित्व तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय कार्यक्रम सञ्चालनमा विशेष जोड दिँदै प्रत्येक सेवा कार्यक्रमबाट समुदायमा प्रत्यक्ष प्रभाव देखिने परिणाम हासिल गर्ने लक्ष्य रहेको बताए। उनले सम्पूर्ण क्याबिनेट पदाधिकारी, रिजन तथा जोन चेयरपर्सन, क्लब अध्यक्ष, सचिव, कोषाध्यक्ष र सम्पूर्ण लायन सदस्यलाई हातेमालो गर्दै ‘Caring by Sharing’ अभियानलाई सफल बनाउन आग्रह गरेका छन्।

यसैबीच, शनिबार पोखरामा आयोजित सिनियर लायन्स लिडरहरूको भेलामा गभर्नर केसीले आगामी कार्ययोजनाबारे करिब ६० जना लायन नेतृत्वसँग छलफल तथा अन्तरक्रिया गरेका छन्। पोखरास्थित एस.आर. केसी क्याटरिङमा सम्पन्न कार्यक्रममा गण्डकी क्षेत्रका क्लब अध्यक्ष तथा वरिष्ठ लायन नेताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आगामी वर्ष सञ्चालन हुने रणनीतिक योजना, क्लब सुदृढीकरण, सदस्य विस्तार तथा दिगो नेतृत्व विकासका विषयमा विस्तृत छलफल भएको थियो। डिष्ट्रिक्ट इलेक्ट एड्भाइजर ऋषि गिरिका अनुसार क्लबका चुनौती र समाधानका विषयमा समेत खुला छलफल गरिएको थियो।

सो अवसरमा गभर्नर केसीले अस्थायीभन्दा दीर्घकालसम्म सक्रिय रहने सदस्य भित्राउन आग्रह गर्दै वर्षभर उत्कृष्ट भूमिका निर्वाह गर्ने लायन लिडरलाई ‘फाइभ स्टार’ सम्मान प्रदान गरिने जानकारी दिए। उनले लायन्सको उद्देश्य, सेवा र नेतृत्व विकासको मर्म नबुझी सदस्यता प्रदान गर्दा संस्थाको छविमा असर पर्ने भएकाले नयाँ सदस्यलाई पर्याप्त अभिमुखीकरणपछि मात्र सदस्यता दिन आग्रह गरे।

डिष्ट्रिक्ट इलेक्ट प्रथम उपगभर्नर शैलेन्द्र मोहन भट्टराईले पनि क्लबमा गुणस्तरीय नयाँ सदस्य भित्राउन सबै लायन नेतृत्वलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरे।कार्यक्रमको सञ्चालन डिष्ट्रिक्ट इलेक्ट सेक्रेटरी लायन अनुज श्रेष्ठले गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected