0Shares

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरमा करेसाबारी निर्माण गरी तरकारी उत्पादन बढाउने उद्देश्यसहित ‘एक घर–एक करेसाबारी’ कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरेको छ।

मंगलबार गाउँपालिकाको वडा नं. ८, बिरेठाँटीमा आयोजित विशेष समारोहका बीच जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कार्यक्रमको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख पौडेलले घरघरमा करेसाबारी निर्माणलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गरेकोमा गाउँपालिकालाई धन्यवाद दिँदै यसले तरकारी उत्पादनमा आत्मनिर्भरता हासिल गर्नुका साथै स्थानीय परिवारको आयआर्जनमा समेत उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले गाउँपालिकाले उपलब्ध गराएको अवसरको अधिकतम सदुपयोग गर्न स्थानीय कृषकलाई आग्रह गरे ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले “कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार : अन्नपूर्ण समृद्धिको आधार” भन्ने मूल नारालाई व्यवहारमा उतार्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार गाउँपालिकाका ११ वटै वडालाई कृषि उत्पादनका विभिन्न विधामा पकेट क्षेत्रका रूपमा विकास गर्ने रणनीतिअनुसार योजनाबद्ध रूपमा काम भइरहेको छ।

अध्यक्ष केसीले स्थानीय कृषकलाई आधुनिक र व्यावसायिक कृषितर्फ आकर्षित गर्दै उत्पादन वृद्धि, आयआर्जन विस्तार तथा गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए । उनले गाउँपालिकाले कृषि विकाससँगै पूर्वाधार, पर्यटन तथा अन्य विकास निर्माणका कार्यक्रमलाई पनि समानान्तर रूपमा अघि बढाइरहेको उल्लेख गरे।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, वडा नं. ८ का कार्यवाहक अध्यक्ष गौमाया नेपाली, जिल्ला समन्वय अधिकारी नवराज बराल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल, जिल्ला समन्वय समिति कास्कीका सदस्य बालिका सुवेदी र गणेशबहादुर जिसी तथा शाखा अधिकृत लक्षु शर्मालगायतले स्थानीय कृषकलाई बीउबिजन, कृषि उपकरण तथा आधुनिक कृषि प्रविधिसम्बन्धी सामग्री हस्तान्तरण गरेका थिए।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

‘एक घर–एक करेसाबारी’ अभियानले प्रत्येक घरलाई ताजा तथा स्वस्थ तरकारी उत्पादनमा आत्मनिर्भर बनाउँदै कृषि उत्पादन र स्थानीय आम्दानी वृद्धि गर्ने गाउँपालिकाको अपेक्षा रहेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected