0Shares

पोखरा, असार २९ (रासस) — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा प्रदान गरिने कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार रुद्रबहादुर हितानमगर र पत्रकार इन्दिरा गुरुङ सम्मानित हुनुभएको छ।

पत्रकार हितानमगरलाई २०८२ सालको तथा पत्रकार गुरुङलाई २०८३ सालको पुरस्कार प्रदान गरिएको हो। गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी र पुरस्कारदाता कर्म गुरुङले उहाँहरूलाई सम्मानपत्र, भाङ्ग्रा, घलेक तथा जनही रु १० हजार नगदसहित पुरस्कार प्रदान गर्नुभयो।

सम्मान समारोहमा प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारिता क्षेत्रमा समर्पित व्यक्तित्वको सम्मानले नयाँ पुस्ताका पत्रकारलाई व्यावसायिक, जिम्मेवार र सिर्जनशील पत्रकारितातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

पुरस्कारदाता कर्म गुरुङले पत्रकारिताप्रति सम्मान व्यक्त गर्दै यस्ता पुरस्कारले पत्रकारको मनोबल अभिवृद्धि गर्ने बताउनुभयो। तमु धिं नेपालका अध्यक्ष तथा फोनिज कास्कीका सल्लाहकार हुम गुरुङले समावेशी पत्रकारिता वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै पुरस्कारलाई थप संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो।

नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले आदिवासी जनजातिका भाषा, संस्कृति र मुद्दालाई पत्रकारितामार्फत प्रभावकारी रूपमा समाजसमक्ष ल्याउनुपर्ने धारणा राख्नुभयो।

पुरस्कार छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले चार दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय हितानमगर नयाँ पुस्ताका पत्रकारका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो। उहाँले इन्दिरा गुरुङ भाषा पत्रकारिताको संरक्षण र प्रवर्द्धनमा निरन्तर समर्पित रहेको उल्लेख गर्नुभयो।

सम्मानपछि हितानमगरले पुरस्कारले आफूलाई अझ जिम्मेवार र सक्रिय भएर पत्रकारिता गर्न प्रेरणा मिलेको बताउँदै पत्रकारिता निष्पक्ष, स्वतन्त्र र भयमुक्त हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। पत्रकार गुरुङले भाषा पत्रकारिताको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँ २०५४ सालदेखि रेडियो नेपालसँग आबद्ध रहँदै आदिवासी जनजातिका भाषा, संस्कृति र समसामयिक विषयमा पत्रकारिता गर्दै आउनुभएको छ।

फोनिज कास्कीकी अध्यक्ष बिना कुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देविका तामाङले गर्नुभएको थियो।

तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उहाँका श्रीमान् कर्ण गुरुङको वैवाहिक वर्षगाँठको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार आदिवासी जनजाति पत्रकारितामा योगदान पुर्‍याउने सञ्चारकर्मीलाई वार्षिक रूपमा प्रदान गरिँदै आएको छ।

यसअघि उक्त पुरस्कारबाट रिता गुरुङ, तिलक पुन, हर्क आले मगर, राजबहादुर गुरुङ, शान्ति गुरुङ, एमबी आस्था मगर, हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य, रुद्र श्रीष मगर, दीपेन्द्र श्रेष्ठ र खेम सारु मगर सम्मानित भइसकेका छन्।

कार्यक्रममा राष्ट्रिय कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८३ बाट सम्मानित मिना थापामगर, पोखरा महानगरपालिकाको युवा उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित दुर्गा रानामगर तथा ११औँ राष्ट्रिय हप्किदो च्याम्पियन मेग्मा गुरुङलाई पनि सम्मान गरिएको थियो। सोही अवसरमा तमु विद्यार्थी समिति कास्कीका अध्यक्ष सतिश गुरुङ नेतृत्वको कार्यसमितिले पुरस्कारदाता कर्म गुरुङलाई समेत सम्मान गरेको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected