अन्नपूर्ण आधार शिविरको पिसफुल लज पुनर्निर्माणका लागि घान्द्रुक समाज हङकङद्वारा रु. ५.४८ लाख सहयोग
- July 15, 2026
- 189

पोखरा । कास्की, अन्नपूर्ण गाउँपालिका–११ स्थित विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबिसी) मा रहेको पिसफुल लज एन्ड रेष्टुरेन्टको पुनर्निर्माणका लागि घान्द्रुक समाज हङकङले रु. ५ लाख ४८ हजार ४२० आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
गत चैत १० गते भएको आगलागीबाट पूर्ण रूपमा क्षति पुगेको उक्त लज पुनर्निर्माणका लागि समाजको अगुवाइमा हङकङ डलर (HKD) २७,१०० संकलन गरिएको थियो। उक्त रकम समाजका पूर्वअध्यक्ष मिलन गुरुङले लज सञ्चालक सुवास गुरुङलाई हस्तान्तरण गरेका हुन्।

समाजले विपद्को समयमा मानवीय सेवा, सहयोग र सद्भावमा एकजुट हुनु नेपाली संस्कार तथा सामाजिक उत्तरदायित्वको उदाहरण भएको उल्लेख गर्दै सहयोग अभियानमा साथ दिने सम्पूर्ण सहयोगीदाताप्रति आभार व्यक्त गरेको छ।
सहयोग अभियानमा समाजका अध्यक्ष आशा गुरुङ, उपाध्यक्ष दीपक गुरुङ, सचिव बिशु सम, सह–सचिव उत्तम गुरुङ, कोषाध्यक्ष महेन्द्र गुरुङ, सह–कोषाध्यक्ष रेणु गुरुङ, पूर्वअध्यक्ष चन्द्र गुरुङ, मिलन गुरुङ र मनप्रसाद गुरुङ, सदस्यहरू दुर्गा गुरुङ, प्रेम गुरुङ, यम गुरुङ, अमित गुरुङ, पवित्रा गुरुङ, सूर्य गुरुङ, रुपक गुरुङ, जोनिशा गुरुङ, विकास गुरुङ, अमृत गुरुङ, उन्नति गुरुङ, रामकुमारी गुरुङ, केशवराज गुरुङ, जगदीश गुरुङ, सुरेश गुरुङ, लक्ष्मण गुरुङलगायत गरी २७ जनाले आर्थिक सहयोग गरेका थिए।
समाजका अनुसार संकलित HKD २७,१०० लाई प्रतिहङकङ डलर रु. २०.२० का दरले नेपाली रुपैयाँमा रूपान्तरण गर्दा रु. ५ लाख ४८ हजार ४२० पुगेको हो।
लज सञ्चालक सुवास गुरुङका अनुसार पिसफुल लजको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगामी भदौ महिनादेखि पर्यटक तथा ग्राहकलाई पुनः पूर्ण रूपमा सेवा प्रदान गर्ने तयारी गरिएको उनले बताए।
गत चैत १० गते साँझ करिब ४:३० बजे खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास चुहावट भएपछि लागेको आगलागीले पिसफुल लज पूर्ण रूपमा नष्ट भएको थियो। आगलागीबाट लजका कोठा, भान्सा, स्टोर, हल तथा केही पर्यटकका व्यक्तिगत सामग्री जलेर नष्ट भएका थिए। घटनाबाट करिब रु. १ करोड बराबरको क्षति भएको अनुमान गरिएको थियो। आगलागीका बेला लजमा पर्यटक रहे पनि कुनै मानवीय क्षति भएको थिएन।
घटनापछि छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङ, सेन्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङलगायत स्थानीय प्रतिनिधिहरूले घटनास्थलको निरीक्षण गरेका थिए।
हाल अन्नपूर्ण आधार शिविर क्षेत्रमा करिब आधा दर्जन होटल तथा लज सञ्चालनमा छन्। स्थानीय पर्यटन व्यवसायीले पिसफुल लज पुनः सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन गतिविधि थप चलायमान हुने विश्वास व्यक्त गरेका छन्।
















