लायन्स क्लब अफ लेखनाथको २८औँ पदस्थापन सम्पन्न

लेखनाथ, पोखरा। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन वर्ष २०२६/२७ का लागि क्लब पदाधिकारीहरूको पदस्थापन कार्यक्रम पोखरा क्षेत्रमा औपचारिक रूपमा सुरु भएको छ। काठमाडौं, काभ्रे, नुवाकोट, धादिङ, गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, म्याग्दी र मुस्ताङ गरी ११ जिल्लामा कार्यक्षेत्र रहेको डिष्ट्रिक्ट ३२५ आई अन्तर्गतका पुराना तथा सक्रिय क्लबमध्ये एक लायन्स क्लब अफ लेखनाथले आफ्नो २८औँ पदस्थापन समारोह शुक्रबार सम्पन्न गरेको हो।
समारोहमा डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले क्लबमा आबद्ध नयाँ सदस्यलाई औपचारिक रूपमा स्वागत गर्दै लायन वर्ष २०२६/२७ का लागि निर्वाचित पदाधिकारीलाई लायन्सको विधानअनुसार पद तथा गोपनीयताको शपथ गराई पदस्थापन गराए। उनले लायन्स अभियानलाई प्रभावकारी बनाउन अनुशासन, सेवा र नेतृत्वलाई समान रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा निवर्तमान अध्यक्ष बोधराज लामिछानेले आफ्नो कार्यकालमा सम्पन्न सामाजिक, शैक्षिक, स्वास्थ्य तथा मानवीय सेवासम्बन्धी गतिविधिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नवनिर्वाचित अध्यक्ष डम्बर बल्लभ चापागाईंलाई नेतृत्व हस्तान्तरण गरेका थिए। उनले क्लबले समुदायको आवश्यकतालाई केन्द्रमा राखेर सञ्चालन गरेका विविध सेवामूलक कार्यक्रमको उपलब्धि पनि सार्वजनिक गरे।

पदस्थापनपछि अध्यक्ष चापागाईंले आफ्नो कार्यकाललाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै वातावरण संरक्षणलाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गरे। उनका अनुसार वृक्षरोपण, सरसफाइ तथा वातावरणीय सचेतनामूलक अभियानलाई निरन्तरता दिइनेछ। साथै विद्यालयस्तरीय शैक्षिक कार्यक्रम, खेलकुद प्रतियोगिता, बाख्रापालन तथा आयआर्जनसँग जोडिएका परियोजना, महिला सशक्तीकरण र युवामुखी सीप तथा व्यावसायिक तालिम सञ्चालन गरिने उनले जानकारी दिए।
उनले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग, स्वास्थ्य शिविर, रक्तदान, विपद् व्यवस्थापन तथा अन्य मानवीय सेवाका कार्यक्रमलाई अझ प्रभावकारी बनाइने उल्लेख गर्दै समाजसेवामा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई समय–समयमा सम्मान गर्ने नीति पनि अघि सारे।
समारोहमा क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको ‘पढाऔँ अभियान’ मार्फत अल्फा एकेडेमीमा अध्ययनरत छात्रा सविन बराललाई रु. ५ हजार नगद सहयोग प्रदान गरेको थियो। त्यसैगरी धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले ओमकारेश्वर शिव मन्दिरलाई रु. ११ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो। सहयोग प्राप्त गर्ने पक्षलाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स अन्तर्राष्ट्रियका अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले विश्वव्यापी रूपमा लायन्सले कमाएको विश्वास र प्रतिष्ठालाई थप सुदृढ बनाउन सेवामूलक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले लायन्स क्लब अफ लेखनाथ पुरानो, सक्रिय र प्रतिष्ठित क्लब भएकाले समाजमा अझ प्रभावकारी सेवा विस्तार गर्ने पर्याप्त सम्भावना रहेको बताए।
उनले प्रत्येक लायन्स सदस्यले आफ्नो क्षमता, सीप, अनुभव र स्रोतलाई समाजहितमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै स्वरोजगार प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा विपन्न समुदायको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरे। संगठनको मर्यादा, अनुशासन र सेवाभावलाई आत्मसात् गर्दै निस्वार्थ रूपमा समाजसेवामा समर्पित हुनुपर्ने उनको भनाइ थियो।
समारोहमा मल्टिपल काउन्सिल चेयरपर्सन केशरबहादुर भण्डारी, निवर्तमान डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोक्का, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्रमोहन भट्टराई, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर विष्णु भण्डारी, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू विनोद ढुंगाना, चन्द्रकुमार केसी, रामबहादुर बसेल, इन्दु लम्साल तथा क्लबका पूर्वअध्यक्ष मेजर रामप्रसाद गुरुङलगायत वक्ताले समयको मागअनुसार सेवा, नेतृत्व, पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर गतिविधिलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे। उनीहरूले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन र मानवीय सेवामा लायन्सले पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै स्थानीय सरकार, सामाजिक संघसंस्था र समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउन सुझाव दिए।
समारोहमा क्लबका पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न लायन्स क्लबका प्रतिनिधि, समाजसेवी, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव केदारनाथ लामिछानेले गरेका थिए।
















