शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थ्यले लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शासनसँग विवेकसम्मत प्रश्न गर्ने नागरिकको सामर्थ्यले लोकतन्त्रलाई जीवन्त बनाउने बताउनुभएको छ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अनलाइनखबर डटकमद्वारा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले युवामा रहेको प्रश्न गर्ने साहस लोकतन्त्रको महत्वपूर्ण शक्ति भएको बताउनुभयो। उहाँले युवालाई केवल देशको भविष्यका रूपमा नभई वर्तमानका साझेदार, सर्जक र परिवर्तनकर्ताका रूपमा हेर्नुपर्नेमा जोड दिनुभयो।
“युवाहरू भोलीको मात्र होइन, आजकै साझेदार, सर्जक र परिवर्तनकर्ता हुनुहुन्छ,” राष्ट्रपति पौडेलले भन्नुभयो, “आजको अर्थतन्त्र, राजनीति, प्रविधि, संस्कृति, अनुसन्धान र सार्वजनिक बहसमा युवाको उपस्थिति अहिले नै आवश्यक छ।”
उहाँले नयाँ पुस्तासँग ऊर्जा, प्रविधि र विश्वसँग प्रत्यक्ष सम्पर्कसँगै प्रश्न गर्ने साहस रहेको उल्लेख गर्दै राष्ट्र निर्माणमा त्यसलाई विवेकसँग जोड्न आग्रह गर्नुभयो। पुर्खाको गौरवपूर्ण इतिहासको सम्मान गर्दै अनुभवबाट सिकेर अघि बढ्ने युवा आवश्यक रहेको उहाँको भनाइ थियो।
राष्ट्रपति पौडेलले अर्थतन्त्रलाई नयाँ विचार दिने, विज्ञानमा जिज्ञासु र समाजमा विभेद अस्वीकार गर्ने युवा आवश्यक रहेको बताउनुभयो। प्रविधिको प्रयोग गर्न आग्रह गर्दै उहाँले विवेकलाई प्रविधिको जिम्मा नछोड्न पनि युवालाई सचेत गराउनुभयो।
“विश्वसँग प्रतिस्पर्धा गर्नुहोस्, तर आफ्नो समाजसँगको सम्बन्ध कहिल्यै नतोड्नुहोस्,” उहाँले भन्नुभयो, “देशलाई तपाईंहरूको प्रतिभा मात्र होइन, तपाईंहरूको इमान्दारी पनि चाहिएको छ।”
नेपालका गाउँदेखि शहर, विश्वविद्यालय, प्रयोगशाला, स्टार्टअप, खेत, अस्पताल, खेलमैदान, स्टुडियो तथा विदेशका विभिन्न स्थानमा हजारौँ युवा सक्रिय रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले मूलधारको नजर नपुगेका युवाको योगदानलाई समेत सम्मान गर्नुपर्ने बताउनुभयो।
उहाँले पछिल्ला वर्षमा नेपालको सामाजिक तथा राजनीतिक बहसमा युवा पुस्ताको आवाज अझ स्पष्ट र प्रभावशाली बन्दै गएको उल्लेख गर्दै यसलाई पुस्तान्तरणमा मात्र सीमित नगरी विचार र कार्यशैलीको नवीकरणका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।
“हरेक पुस्ताले आफ्नो हिस्साको भविष्य निर्माण गर्छ। अब तपाईंहरूको पालो छ,” उहाँले भन्नुभयो, “आवेगको धनी हुनुहुन्छ, यसमा विवेक थप्न अझ मेहनत गरौँ।”
नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले फरक मत र असहमतिलाई लोकतन्त्रको शक्तिका रूपमा लिनुपर्ने बताउनुभयो। “असहमति लोकतन्त्रको कमजोरी होइन; जिम्मेवार असहमति लोकतन्त्रको शक्ति हो,” उहाँले भन्नुभयो।
राष्ट्रपति पौडेलले संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र सत्यमा आधारित पत्रकारिता, तथ्यमा आधारित बहस तथा प्रश्न गर्न सक्ने नागरिक समाजले लोकतन्त्रलाई जीवन्त राख्ने बताउनुभयो।
लोकतन्त्रबिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव नहुने भन्दै उहाँले राज्यका सबै अंगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
प्रविधिको विकाससँगै सूचना प्रवाहमा तीव्र प्रतिस्पर्धा बढ्दा मिथ्या सूचना फैलाएर जनतालाई दिग्भ्रमित पार्ने चुनौतीसमेत बढेको उहाँले बताउनुभयो। अनलाइनखबरजस्ता जिम्मेवार सञ्चारमाध्यमले यस्ता चुनौतीको सामना गर्दै जनतासम्म सही सूचना पुर्याउन सफल हुने विश्वास व्यक्त गर्दै उहाँले शुभकामना दिनुभयो।
राष्ट्रपति पौडेलले अनलाइनखबरले ‘४० मुनिका ४०’ कार्यक्रममार्फत विभिन्न भूगोल, समुदाय र क्षेत्रमा सक्रिय युवाको खोजी, अभिलेखीकरण र सम्मान गर्दै आएकोमा प्रशंसा गर्नुभयो। कार्यक्रममार्फत सम्मानित सबै युवालाई उहाँले बधाई तथा आयोजक अनलाइनखबर परिवारलाई धन्यवाद दिनुभयो।













