0Shares

शिक्षा, स्वास्थ्य र कृषिमा पूर्वाधार निर्माणदेखि डिजिटलाइजेसनसम्म

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका आठवटा उच्च प्रभाव सामुदायिक विकास आयोजना सञ्चालन हुने भएका छन्। आठ आयोजनाका लागि कुल ८० करोड ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजनाको कार्यान्वयनका लागि नेपाल र भारतबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

काठमाडौंस्थित भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा भारत सरकार, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित आयोजना कार्यान्वयन निकायका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार कोशी प्रदेशको सुनसरीस्थित धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन गरिनेछ। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुनेछ भने धादिङको ज्वालामुखी गाउँपालिका–६ मा नगरीय कृषि तथा पशुपन्छी केन्द्र भवन निर्माण गरिनेछ।

त्यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मा रहेको बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा १० शय्याको अस्पताल, हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवर्द्धन केन्द्र र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर निर्माण गरिनेछ।

सुनसरीको बराहक्षेत्र नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण पनि नयाँ सम्झौतामा समेटिएको छ। आठवटै आयोजना नेपाल सरकारका स्थानीय निकाय तथा सम्बन्धित संस्थामार्फत कार्यान्वयन गरिने जनाइएको छ।

भारत सरकारले सन् २००३ यता नेपालमा आज सम्झौता भएका आठ आयोजनासहित ६०५ वटा उच्च प्रभाव सामुदायिक विकास आयोजना अघि बढाएको जनाएको छ। तीमध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा सार्वजनिक उपयोगिताका क्षेत्रमा ५१२ वटा आयोजना सम्पन्न भइसकेका छन्।

बाँकी आयोजना भने विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन्। भारत सरकारको अनुदान सहयोगमा सञ्चालन हुँदै आएका यस्ता आयोजनाले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य आधारभूत पूर्वाधार विकासमा योगदान पुर्‍याउँदै आएको भारतीय दूतावासले जनाएको छ।

नेपाल र भारतबीचको बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउन उच्च प्रभाव सामुदायिक विकास आयोजना महत्वपूर्ण रहेको भारतीय पक्षको भनाइ छ। प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्दै नेपालको विकास र समृद्धिको प्रयासलाई सहयोग पुर्‍याउने उद्देश्यले भारत सरकारले निरन्तर सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected