0Shares

पोखरा, साउन ३१ । पोखरा महानगरपालिका वडा नं. २६ का नागरिकले गाउँमा बढ्दै गएको बाँदर आतंकदेखि पृथ्वीराजमार्गमा पैदलयात्रुको सुरक्षासम्मका समस्या सार्वजनिक सुनुवाइमार्फत वडा सरकारसमक्ष उठाएका छन्। शनिबार आयोजित सार्वजनिक सुनुवाइमा नागरिकले दैनिक जीवनमा प्रत्यक्ष भोगिरहेका समस्या, विकास निर्माणका क्रममा देखिएका कमजोरी तथा सार्वजनिक सेवासँग सम्बन्धित विषयमा वडा सरकारको ध्यानाकर्षण गराएका हुन्।

सार्वजनिक सुनुवाइमा उठेका प्रश्नले नागरिकका आवश्यकता ठूला विकास आयोजना र भौतिक पूर्वाधारमा मात्रै सीमित नरहेको देखाएको छ। खेतबारीमा लगाएको उत्पादन जोगाउनेदेखि रातिको समयमा सुरक्षित रूपमा हिँडडुल गर्न पाउने अधिकारसम्मका विषय नागरिकका प्राथमिकतामा छन्। त्यसैगरी सडक विस्तारसँगै पैदलयात्रुको सुरक्षा, सार्वजनिक जग्गा संरक्षण, तालको मापदण्ड, घरपालुवा जनावरको व्यवस्थापन तथा बालबालिकामैत्री कार्यक्रम पनि नागरिकले वडा सरकारसँग जवाफ र समाधान मागेका विषय हुन्।

खेतबारी जोगाउनै मुस्किल, घरभित्रै पस्न थाले बाँदर

वडाका पहाडी क्षेत्रका नागरिकले बाँदर आतंकका कारण कृषि उत्पादन जोगाउन निकै कठिन भएको गुनासो गरे। बाँदरले खेतबारीमा लगाएको फलफूल तथा तरकारी नष्ट गर्नुका साथै घरभित्रै प्रवेश गरेर भाँडाकुँडा तथा अन्य सामानसमेत लिएर भाग्ने गरेको उनीहरूको भनाइ थियो।

कृषि उत्पादनमा प्रत्यक्ष असर पार्ने समस्या बढ्दै जाँदा किसानको मेहनत र लगानी दुवै जोखिममा परेको नागरिकले बताए। बाँदर नियन्त्रणका लागि दीर्घकालीन तथा प्रभावकारी योजना बनाउनुपर्ने उनीहरूको माग छ। आवश्यक परे संवेदनशील क्षेत्रमा हेरालो राख्ने, नियन्त्रणका वैकल्पिक उपाय खोज्ने तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने व्यवस्था गर्नुपर्नेमा उनीहरूले जोड दिए।

वडा सदस्य सुदीपराज ढुंगानाले बाँदर आतंक दिनप्रतिदिन बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि विशेष कानुनी तथा व्यवस्थागत पहल आवश्यक रहेको बताए। स्थानीय तहको प्रयास मात्र पर्याप्त नहुने भएकाले संघ तथा प्रदेश सरकारसँग समेत समन्वय गरी दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ थियो।

सडक फराकिलो भयो, पैदलयात्रुको जोखिम घटेन

सार्वजनिक सुनुवाइमा पृथ्वीराजमार्गको स्तरोन्नतिसँगै बढेको सडक सुरक्षाको विषय पनि प्रमुखताका साथ उठ्यो। सडक फराकिलो बने पनि मुख्य चोक तथा बजार क्षेत्रमा पैदलयात्रुले सडक पार गर्न निकै जोखिम मोल्नुपरेको नागरिकको गुनासो थियो।

तीव्र गतिमा गुड्ने सवारीका कारण जेब्राक्रसिङबाट समेत सुरक्षित रूपमा सडक पार गर्न कठिन हुने गरेको उनीहरूले बताए। सडक विस्तारका क्रममा सवारीसाधनको आवागमनलाई मात्रै प्राथमिकता दिँदा पैदलयात्रुको सुरक्षामा पर्याप्त ध्यान नपुगेको नागरिकको भनाइ थियो। मुख्य बजार तथा चोकमा अन्डरपास वा आकाशेपुल निर्माण गर्न उनीहरूले माग गरेका छन्।

लेखनाथ क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठले सवारीसाधन तीव्र गतिमा आउने भएकाले जेब्राक्रसिङले मात्रै पैदलयात्रुको सुरक्षा सुनिश्चित गर्न नसक्ने बताए। पृथ्वीराजमार्गका प्रमुख बजार तथा चोकमा पैदलयात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक संरचना निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

डुम्रेदेखि पोखरासम्मको पृथ्वीराजमार्ग विस्तार भए पनि पैदलयात्रुका लागि अन्डरपास वा आकाशेपुलको पर्याप्त व्यवस्था नभएको नागरिकको गुनासो थियो। उनीहरूले सडक निर्माणको डिजाइनकै चरणमा सवारी चापसँगै बढ्दो जनघनत्व, बजार विस्तार र पैदलयात्रुको आवागमनलाई समेत ध्यान दिनुपर्ने बताएका छन्।

नागरिकका प्रश्नको जवाफ दिँदै वडा अध्यक्ष नरेन्द्र थापाले राजमार्ग निर्माणका लागि डिजाइन तयार गर्ने समयमा सवारी चाप र जनघनत्वको पर्याप्त आकलन हुन नसक्दा अहिले विभिन्न समस्या देखिएको बताए। उनले सुरक्षित यात्राका लागि आवश्यक उपायका विषयमा सम्बन्धित आयोजना तथा निकायसँग छलफल गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

उज्यालो वडा’ मार्फत सडकबत्तीको समस्या समाधान गर्ने प्रतिबद्धता

सार्वजनिक सुनुवाइमा रातिको समयमा भित्री सडकमा हिँडडुल गर्नसमेत समस्या हुने गरेको नागरिकले बताएका थिए। सडकबत्ती नहुँदा आवतजावतमा कठिनाइ हुनुका साथै सुरक्षा चुनौतीसमेत बढेको उनीहरूको भनाइ थियो।

नागरिकको गुनासो सम्बोधन गर्दै वडा अध्यक्ष थापाले सडकबत्तीका लागि ३० लाख रुपैयाँको टेन्डर भइसकेको जानकारी दिए। उनले ‘उज्यालो वडा’ कार्यक्रममार्फत वडाका सडकमा देखिएको बत्तीको समस्या क्रमशः सम्बोधन गरिने बताए। सडकबत्तीले रातिको आवतजावत सहज बनाउनुका साथै नागरिकको सुरक्षामा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

घरपालुवा कुकुरको व्यवस्थापनमा पनि प्रश्न

नागरिकले घरपालुवा कुकुरको व्यवस्थापनको विषयसमेत सार्वजनिक सुनुवाइमा उठाए। घरपालुवा कुकुर डुलाउने क्रममा कतिपयले अर्काको घर तथा सार्वजनिक स्थानअगाडि दिसापिसाब गराउने गरेको भन्दै यस्तो प्रवृत्ति नियन्त्रण गर्न माग गरिएको थियो।

अध्यक्ष थापाले कुकुरलाई माया गरेर पाल्नु सकारात्मक भए पनि डुलाउने क्रममा अरू नागरिक तथा सार्वजनिक स्थानलाई असर पर्ने गतिविधि गर्न नहुने बताए। उनले टोल विकास संस्थामार्फत घरपालुवा कुकुरको तथ्यांक राख्ने व्यवस्था गरिने जानकारी दिए। यसले घरपालुवा जनावरको व्यवस्थापनसँगै जिम्मेवार पालकको पहिचान र आवश्यक सूचना व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तालको मापदण्ड र सार्वजनिक जग्गा संरक्षणको विषय

सार्वजनिक जग्गा संरक्षण तथा वडाभित्र रहेका खाष्टे, गुँदे र न्युरेनी तालको मापदण्डसम्बन्धी समस्या पनि नागरिकले उठाएका थिए। तालको मापदण्डका कारण आफ्नो जग्गा बिक्री गर्न नपाएको तथा सम्पत्तिको उपयोगमा समस्या भइरहेको भन्दै नागरिकले स्पष्ट नीति र व्यवहारिक समाधानका लागि पहल गर्न वडा सरकारसँग आग्रह गरे।

ताल तथा सार्वजनिक सम्पत्तिको संरक्षण आवश्यक भए पनि मापदण्ड कार्यान्वयनका क्रममा प्रभावित नागरिकका समस्या सम्बोधन गर्नुपर्ने उनीहरूको धारणा थियो। सम्बन्धित निकायबीच समन्वय गरी तथ्यमा आधारित समाधान खोज्नुपर्ने माग पनि सुनुवाइमा उठेको थियो।

ठूला योजनासँगै साना योजनाको प्रभाव पनि महत्त्वपूर्ण

सुनुवाइमा वडा सरकारले भौतिक पूर्वाधारसँगै सामाजिक तथा क्षमता विकासका कार्यक्रमलाई समेत प्राथमिकता दिएको जानकारी दिइएको थियो। बालबालिकाका लागि ‘वडाध्यक्षसँग बालबालिका’, ‘बुक फ्रि डे’ लगायतका कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष थापाले बताए।

उनका अनुसार करोडौँ रुपैयाँका ठूला योजना सम्पन्न भए पनि नागरिकको सन्तुष्टि मापन गर्ने आधार दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने साना–साना योजना र सेवासमेत हुन्। सडकबत्ती, पैदलयात्रुको सुरक्षा, कृषि उत्पादन संरक्षण, सार्वजनिक स्थानको व्यवस्थापनजस्ता विषय नागरिकको दैनिकीसँग जोडिएकाले यस्ता समस्याको समाधानले वडा सरकारप्रतिको नागरिक विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

वडा सदस्य तीर्थबहादुर राजभाटले सुकुम्बासीका नाममा वडाकै एक नागरिकसम्बन्धी तत्कालीन भूमि आयोगको जिल्ला समितिको निर्णयका कारण आफूहरूले नगरेको कामको दोष र चरित्रहत्या व्यहोर्नुपरेको विषयमा समेत धारणा राखे। उनले यस्ता विषयमा तथ्य र निर्णयको वास्तविकता स्पष्ट हुनुपर्नेमा जोड दिए।

सेवा प्रवाह र विकास निर्माणको प्रगति प्रस्तुत

वडाका सूचना अधिकारी नवराज सापकोटाले गत आर्थिक वर्षमा वडाबाट भएका सेवा प्रवाह तथा विकास निर्माणसम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत गरे। उनले वडाबाट भएका काम, सेवा प्रवाह र विकास निर्माणका गतिविधिबारे नागरिकलाई जानकारी गराए।

कार्यक्रममा वडा सदस्य सुजता सुनार, लक्ष्मीदेवी भट्टराई, वडा सचिव लिलामणि भण्डारी, लेखनाथ खानेपानीका अध्यक्ष मुरारी शर्मा, शिशुवा अस्पतालका अध्यक्ष बाबुराम गिरीलगायतले नागरिकले उठाएका गुनासा तथा प्रश्न सम्बोधन गर्न सम्बन्धित क्षेत्रबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

सार्वजनिक सुनुवाइमा उठेका विषयले पोखरा–२६ का नागरिकका प्राथमिकता केवल सडक, भवन वा अन्य ठूला पूर्वाधार निर्माणमा मात्र सीमित नरहेको स्पष्ट पारेको छ। उनीहरू सुरक्षित सडक, उज्यालो बस्ती, कृषि उत्पादनको संरक्षण, सार्वजनिक सम्पत्तिको सुरक्षा, व्यवस्थित सामाजिक जीवन र सहज सेवा प्रवाह चाहन्छन्।

एकातिर खेतबारीमा लगाएको उत्पादन बाँदरबाट जोगाउनुपर्ने बाध्यता छ भने अर्कोतिर राजमार्ग पार गर्दा ज्यानकै जोखिम मोल्नुपर्ने अवस्था रहेको नागरिकको गुनासोले स्थानीय विकासको प्राथमिकता कस्तो हुनुपर्छ भन्ने गम्भीर प्रश्न उठाएको छ। विकासको वास्तविक अर्थ नागरिकको दैनिक जीवन सुरक्षित, सहज र व्यवस्थित बनाउनु हो। त्यसैले सार्वजनिक सुनुवाइमा उठेका प्रश्नलाई केवल गुनासोका रूपमा सीमित नराखी स्पष्ट कार्ययोजना, समयसीमा र जिम्मेवार निकाय तोकेर कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ।

नागरिकले उठाएका समस्या समाधानका लागि वडा सरकारको पहलसँगै महानगरपालिका, प्रदेश तथा संघीय सरकार र सम्बन्धित आयोजना तथा कार्यालयबीच प्रभावकारी समन्वय आवश्यक हुनेछ। नागरिकका प्रश्नको जवाफ तत्कालीन आश्वासनमा मात्र सीमित नभई व्यवहारमा देखिने परिणाममा परिणत गर्न सके मात्रै सार्वजनिक सुनुवाइको उद्देश्य सार्थक हुनेछ। पोखरा–२६ का नागरिकले उठाएको प्रश्नको मूल आशय पनि यही हो—विकाससँगै सुरक्षा, सुविधा र नागरिकको दैनिक जीवनलाई केन्द्रमा राखेर वडा सरकार अघि बढोस्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected