लायन्सको संयुक्त पदस्थापनमा अन्तर्राष्ट्रिय डाइरेक्टर राजन लम्साल र सांसद बदन भण्डारी सम्मानित

काठमाडौं । लायन्स डिष्ट्रिक्ट ३२५ आई, नेपालअन्तर्गत रिजन १३, जोन २५ का चारवटा लायन्स क्लबको संयुक्त पदस्थापन समारोह काठमाडौंमा सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध, काठमाडौं गृहलक्ष्मी, काठमाडौं ब्लेसिङ बुद्ध र लायन्स क्लब अफ काठमाडौं बुद्ध मातृभूमिको संयुक्त आयोजनामा समारोह सम्पन्न भएको हो।
समारोहमा लायन्सका अन्तर्राष्ट्रिय डाइरेक्टर राजन लम्साल र प्रतिनिधिसभा सदस्य एवं लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धका पूर्वअध्यक्ष बदनकुमार भण्डारीलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय डाइरेक्टर लम्साललाई लायन्स अभियानमार्फत सामाजिक सेवा, नेतृत्व विकास तथा संस्थागत क्षेत्रमा पुर्याउँदै आएको योगदानका लागि सम्मान गरिएको हो। कार्यक्रममा लम्सालकी धर्मपत्नी, फर्स्ट लेडी तथा पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालको समेत उपस्थिति थियो।
त्यसैगरी, प्रतिनिधिसभा सदस्य तथा क्लबका पूर्वअध्यक्ष बदनकुमार भण्डारीलाई लायन्स क्लब तथा सामाजिक सेवाका क्षेत्रमा पुर्याएको योगदानका लागि बधाईसहित सम्मान गरिएको थियो। भण्डारीले आफ्नो अनुभव र नेतृत्वका आधारमा क्लबका सामाजिक अभियान तथा नेतृत्व विकासलाई थप प्रभावकारी बनाउन आवश्यक मार्गदर्शनसमेत प्रदान गरेका थिए।
समारोहमा पदस्थापन अधिकृत डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले चारवटै क्लबका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई पद तथा जिम्मेवारीको शपथ गराउँदै औपचारिक रूपमा पदस्थापन गराएका थिए।

कार्यक्रममा लायन वर्ष २०२५/०२६ का अध्यक्षहरूले आफ्नो कार्यकालमा सम्पन्न गरेका उत्कृष्ट सामाजिक सेवा तथा मानवीय सेवाका गतिविधिहरूको प्रस्तुति गरेका थिए। त्यसैगरी, लायन वर्ष २०२६/०२७ का नवनिर्वाचित अध्यक्षहरूले हालसम्म सम्पन्न गरेका कार्य तथा आगामी कार्यकालमा सञ्चालन गरिने सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत कार्यक्रमहरू प्रस्तुत गरेका थिए।
समारोहमा लायन्सका पूर्व तथा वर्तमान नेतृत्वकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन एवं लायन्स म्यागजिन चिफ मनबहादुर रोका, निवर्तमान डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईलगायत क्याबिनेटका वरिष्ठ लायन लिडरहरूको उपस्थिति थियो।
कार्यक्रममा रिजन चेयरपर्सन रूपबहादुर रावललाई आफ्नो रिजनअन्तर्गतको कार्यक्रमलाई भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न निर्वाह गरेको महत्वपूर्ण भूमिकाका लागि बधाई तथा धन्यवाद ज्ञापन गरिएको थियो। कार्यक्रममा काभ्रेदेखि नुवाकोटसम्मका विभिन्न क्षेत्रबाट आएका क्लब अध्यक्ष, रिजन तथा जोन चेयरपर्सन, क्याबिनेट पदाधिकारी तथा लायन सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।
संयुक्त समारोहको सभापतित्व प्रथम अध्यक्ष सुना सुवेदी र दोस्रो अध्यक्ष सुरेश भण्डारीले गरेका थिए। कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न पूर्व क्याबिनेट सेक्रेटरी तथा कार्यक्रम संयोजक रामबहादुर श्रेष्ठ, आर्थिक संयोजक डा. केपी पौडेललगायत दुवै क्लबका सदस्यहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए।
कार्यक्रम व्यवस्थापनमा लियो क्लब अफ काठमाडौं लर्ड बुद्धकी संस्थापक अध्यक्ष लियो सबिना भण्डारी नेतृत्वको टोलीको समेत उल्लेख्य सहभागिता रहेको थियो।
समारोहले लायन्स अभियानमा आबद्ध विभिन्न पुस्ताका नेतृत्वकर्तालाई एउटै मञ्चमा जोड्दै सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत सहकार्यलाई थप मजबुत बनाउने सन्देश दिएको डिष्ट्रिक्टका द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर एवं लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धका संस्थापक अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए।
उनका अनुसार लायन्स अभियानलाई अझ प्रभावकारी बनाउन अनुभवी नेतृत्वको मार्गदर्शन, नयाँ नेतृत्वको सक्रियता र क्लबहरूबीचको सहकार्यलाई निरन्तरता दिन आवश्यक छ। संयुक्त कार्यक्रमले विभिन्न क्लबबीच आपसी समन्वय र सहकार्यको वातावरण निर्माण गर्नसमेत महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
यसैबीच, कार्यक्रमपश्चात् चीन भ्रमणमा जान लागेका हरि अधिकारी तथा जर्मनी प्रस्थान गर्न लागेकी लक्ष्मी कट्टेललाई सफल, सुरक्षित एवं सुखद यात्राको शुभकामना व्यक्त गरिएको थियो।
समारोहका बक्ताहरूले सामाजिक सेवा, मानवीय सहयोग, नेतृत्व विकास र संस्थागत सहकार्यलाई केन्द्रमा राख्दै सम्पन्न समारोहले नयाँ लायन वर्षका लागि नवनिर्वाचित नेतृत्वलाई जिम्मेवारी निर्वाह गर्न ऊर्जा र प्रेरणा प्रदान गरेको बताएका थिए ।













