
माछापुच्छ्रे, कास्की । माछापुच्छ्रे गाउँपालिका–१, टुसेमा मर्दी हिमाल सफलतापूर्वक आरोहण गर्ने आरोही तथा आरोहणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ।
माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा आयोजित कार्यक्रममा समुद्री सतहदेखि ५ हजार ५८७ मिटर उचाइमा रहेको मर्दी हिमाल सफलतापूर्वक आरोहण गर्ने आरोहीहरूलाई सम्मान गरिएको हो। उनीहरूलाई वडा नं. १ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले सम्मान गरेका थिए।
सम्मानित हुने आरोहीहरूमा क्षेत्रबहादुर गुरुङ (माछापुच्छ्रे–३), नारान गुरुङ (माछापुच्छ्रे–१), किसान थापा मगर (माछापुच्छ्रे–१), नवीन गुरुङ (माछापुच्छ्रे–१), सुदिप तामाङ (माछापुच्छ्रे–३), राम परियार (माछापुच्छ्रे–१), अर्जुन वि.क. (नौडाँडा, कास्की) र खिम पाइजा (म्याग्दी) रहेका छन्।
त्यस्तै, पर्वतारोहणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मनुमान गुरुङलाई पर्वतारोही गाइड तथा बुद्धि हिराचनलाई पर्वतारोही सहयोगीका रूपमा सम्मान गरिएको थियो।

कार्यक्रमका अध्यक्ष तथा वडा नं. १ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले मर्दी हिमाल आरोहीहरूको सम्मान उनीहरूको साहस, क्षमता र योगदानप्रति स्थानीय तहको सम्मान भएको बताए। उनले माछापुच्छ्रे गाउँपालिकाले पर्यटन, कृषि, ऊर्जा र गुणस्तरीय पूर्वाधारलाई समृद्धिको आधार मान्दै आएको उल्लेख गर्दै मर्दी हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धनलाई थप व्यवस्थित बनाइने बताए।
वडाध्यक्ष गुरुङका अनुसार मर्दी हिमाल पदयात्रा तथा आरोहण माछापुच्छ्रे गाउँपालिकाको महत्वपूर्ण पर्यटन गतिविधिका रूपमा स्थापित हुँदै गएको छ। पर्यटकको सहजताका लागि पर्यटक सूचना केन्द्र स्थापना तथा आवश्यक पर्यटन पूर्वाधार विकासका काम अघि बढाइँदै आएको उनले जानकारी दिए।
उनले भने, “आरोहीहरूको सम्मानले हिमाल आरोहण गर्ने साहसी युवालाई प्रोत्साहन गर्नुका साथै मर्दी हिमाल र समग्र माछापुच्छ्रे क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश दिन्छ।”
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिका सभापति वीरेन्द्र गुरुङले स्थानीय युवाको साहस, क्षमता र योगदानलाई सम्मान गर्नु सकारात्मक कदम भएको बताए। उनका अनुसार हिमाल आरोहणले व्यक्तिगत उपलब्धिसँगै स्थानीय क्षेत्रको पहिचान र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउँछ।
नेकपा एमालेका वड़ा कमिटी अध्यक्ष बरबहादुर गुरुङले मर्दी हिमाललाई स्थानीय पर्यटनको प्रमुख आधारका रूपमा विकास गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। उनले आरोहीहरूको सम्मानले नयाँ पुस्तालाई साहसिक पर्यटन तथा पर्वतारोहणतर्फ आकर्षित गर्न प्रेरणा मिल्ने धारणा व्यक्त गरे।
समाजसेवी निरप्रसाद गुरुङले हिमाल आरोहण केवल साहसको विषय नभई स्थानीय पहिचान, संस्कृति र पर्यटनसँग जोडिएको विषय भएको बताए। उनले आरोहीहरूको योगदानलाई राज्य तथा स्थानीय तहले निरन्तर प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
संरक्षण क्षेत्र व्यवस्थापन समितिका सचिव आनुप गुरुङले मर्दी हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्यसँगै वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर पर्यटन विकास गर्नुपर्ने बताए। उनका अनुसार पर्यटन बढेसँगै हिमाली क्षेत्रको वातावरण, जैविक विविधता र स्थानीय संस्कृतिको संरक्षणमा पनि विशेष ध्यान दिन आवश्यक छ।
माछापुच्छ्रे गाउँपालिकाको उत्तरी क्षेत्रमा हिमाली भूभागसमेत रहेको छ। प्राकृतिक सौन्दर्य, हिमाली पदयात्रा, पर्वतारोहण तथा स्थानीय संस्कृति यस क्षेत्रका महत्वपूर्ण पर्यटन सम्भावना हुन्। मर्दी हिमालको आरोहण तथा पदयात्रालाई थप व्यवस्थित गर्दै प्रचारप्रसार गर्न सके स्थानीयस्तरमा रोजगारी तथा आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमले पर्वतारोहणमा स्थानीयको सहभागिता, आरोहीहरूको सम्मान र मर्दी हिमाल क्षेत्रको दिगो पर्यटन विकासका लागि स्थानीय तह, पर्यटन क्षेत्र, संरक्षण पक्ष तथा समुदायबीच सहकार्यको आवश्यकता औँल्याएको छ।
कार्यक्रमको अध्यक्षता वडा नं. १ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले गरेका थिए। वडा सदस्य श्याममाया सुनारले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन वडा नं. १ का कर्मचारी बिलभ सुनारले गरेका थिए।













