निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ काम गर्न खोजे पनि अनुभवको कमी र सरोकारवालासँगको संवादहीनताले आर्थिक तथा व्यावसायिक क्षेत्रमा अन्योल सिर्जना गरेको उनको टिप्पणी छ।
शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै श्रेष्ठले सरकार निजी क्षेत्रका संस्थासँग छलफल गर्नुभन्दा बन्द कोठाभित्रै निर्णय गर्ने प्रवृत्तिमा अघि बढेको आरोप लगाए।
‘सरकार संवादमा छैन, अरूलाई विश्वास गर्दैन,’ उनले भने, ‘आफूहरूबीच मात्रै छलफल गरेर सबै काम पूरा हुन्छ, हामी सक्षम छौँ, हामी विज्ञ छौँ भन्ने मात्र छ। तर अर्थतन्त्रको विज्ञ को हो भन्ने हेक्का राखिएको छैन।’
उनले हालै अर्थमन्त्रीसँगको एक कार्यक्रममा सरोकारवालासँग छलफल नगरी नतिजा हासिल गर्न नसकिने सुझाव दिँदा ‘हाम्रो छलफल टुँडिखेलमा होइन, बन्द कोठामा हुन्छ’ भन्ने जवाफ पाएको प्रसंग सुनाए। यस्तो सोचले आर्थिक समस्या समाधान गर्न नसकिने उनको भनाइ थियो।
निजी क्षेत्रले बजेटलाई सुरुमा स्वागत गर्ने र पछि विरोध गर्ने गरेको आरोपको जवाफ दिँदै श्रेष्ठले प्रारम्भिक प्रतिक्रिया र दस्तावेज अध्ययन तथा कार्यान्वयनपछिको मूल्यांकन फरक हुनु स्वाभाविक भएको बताए। महासंघले निजी क्षेत्रका विषयमा खुलेर बोल्ने र सरोकारवालाका कुरा सुन्ने गरेको उनको भनाइ थियो।
संविधान संशोधनसम्बन्धी छलफलमा महासंघले प्रधानमन्त्री कार्यालयमा सुझाव पेस गरिसकेको जानकारी दिँदै उनले तीन खम्बे नीतिको पुनरावलोकन, समाजवाद उन्मुख अर्थतन्त्रको अस्पष्टता हटाउने, खुला बजार अर्थतन्त्रतर्फ अघि बढ्ने र व्यक्तिगत सम्पत्तिको हक सुनिश्चित गर्ने विषयमा सुझाव दिएको बताए। थप सुझाव भए महासंघमा पठाउन उनले जिल्ला संघहरूलाई आग्रह गरे।

भूमि बैंकको स्वागत, औद्योगिक क्षेत्र सार्ने चर्चामा असहमति
रूपा गाउँपालिकाले अघि सारेको भूमि बैंकको अवधारणालाई स्वागतयोग्य भन्दै श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले त्यसलाई अपनत्व लिनुपर्ने बताए। कृषियोग्य जमिन मासिँदै गएको अवस्थामा औद्योगिक, व्यापारिक, आवासीय र कृषि क्षेत्र छुट्याउने भू–उपयोग नीति तत्काल ल्याउनुपर्ने उनको धारणा थियो।
तर पोखरा औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने चर्चाप्रति उनले असहमति जनाए। ‘राज्यले औद्योगिक क्षेत्र भनेर छुट्याइसकेपछि त्यो त्यहीँ हुनुपर्छ। बिरालोले बच्चा सारेजस्तो गरेर औद्योगिक क्षेत्र सार्दा हुँदैन,’ उनले भने।
औद्योगिक क्षेत्रको ढल तथा पूर्वाधार व्यवस्थापन राज्य र स्थानीय सरकारले गर्नुपर्ने तथा प्रदूषण नियन्त्रणका मापदण्ड पालना गर्ने जिम्मेवारी उद्यमीको पनि हुने उनले स्पष्ट पारे।
शिक्षा र रोजगारीबीचको खाडल पुर्न उद्योग र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै श्रेष्ठले महासंघले नगरपालिका महासंघसँग छिट्टै समझदारीपत्रमा हस्ताक्षर गर्न लागेको जानकारी दिए। काठमाडौं, त्रिभुवन र नेपाल विश्वविद्यालयसँग यसअघि नै सम्झौता भइसकेको उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सरकारले महासंघजस्ता संस्थालाई संस्थागत महत्त्व नदिएको भन्दै असन्तुष्टि जनाए। निजी क्षेत्रका माग सुनुवाइ नभए महासंघ अब संघर्षमा उत्रिनुपर्ने उनको भनाइ थियो।
सरकारले संस्थागत सुझाव लिनुभन्दा व्यक्तिविशेषलाई बोलाएर सल्लाह लिने अभ्यास थालेको आरोप लगाउँदै मुल्मीले नीतिगत विषयमा संस्थाको धारणा महत्त्वपूर्ण हुने बताए।
‘अहिले चर्चामा आएका, भेटिएका भनिएकाहरू सबै हाम्रै मित्र हुन्। त्यसको कुनै महत्त्व छैन,’ उनले भने, ‘महत्त्व त संस्थाको हो। संस्थाले नीतिगत रूपमा कस्तो सुझाव दिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो।’
महासंघ चुपचाप बस्ने बेला नरहेको बताउँदै उनले निजी क्षेत्रका कुरा नसुनिए हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने अवस्था आउन सक्ने बताए।
‘हामी सबै एकजुट भएर एक आवाज उठाउन सक्यौँ भने सरकारलाई बाध्य पार्न सक्छौँ,’ उनले भने।
सरकारको कार्यशैलीमाथि टिप्पणी गर्दै मुल्मीले अनुभवको कमी र संस्थागत संवादको अभावले सरकारी निर्णयप्रति शंका–उपशंका बढिरहेको बताए। सत्तारूढ दल र सरकारमा रहेका व्यक्तिहरूबीच देखिएको मतभिन्नताले मुलुकको दिशाबारे प्रश्न उठाएको उनको भनाइ थियो।
‘व्यवसायीको संकटमा नेतृत्व लिनुहोस्’
रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्योगी व्यवसायी संकटमा रहेका बेला महासंघ अध्यक्ष श्रेष्ठले साहसपूर्वक नेतृत्व लिनुपर्ने बताए।
उद्योगीले ग्यास, चिनी र तेलजस्ता आधारभूत वस्तुको अभाव तथा लगानीमैत्री वातावरणको कमी झेलिरहेको उल्लेख गर्दै उनले व्यवसायीका समस्या समाधानका लागि महासंघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
‘आन्दोलनमा जसरी एक जनाले नेतृत्व लिन्छ, त्यसैगरी अहिले तपाईंलाई त्यो अवसर छ। ऋण र लगानीमैत्री वातावरणका विषयमा व्यवसायीको संकटको बेला नेतृत्व लिनुहोस्, गण्डकीका सबै अध्यक्षले साथ दिनेछन्,’ उनले श्रेष्ठलाई सम्बोधन गर्दै भने।
गण्डकीबाट महासंघको नेतृत्व दोस्रोपटक प्राप्त भएको उल्लेख गर्दै ओझाले पूर्वअध्यक्ष मुल्मीको कार्यकालमा भएका कामको स्मरण गरे। यसपटक पनि गण्डकीबाटै व्यवसायीका समस्या समाधान हुने अपेक्षा व्यक्त गरे।
भूमि बैंकबारे जानकारी दिँदै ओझाले रूपा गाउँपालिका देशभरिमै पहिलोपटक भूमि बैंक स्थापनाका लागि कार्यविधि तयार गरी सूचना प्रकाशन गर्ने पालिका रहेको बताए। बाँझो जग्गा उत्पादनमा ल्याउन इच्छुक नभएका जग्गाधनीले पालिकालाई लिज वा भाडामा दिन सक्ने र पालिकाले त्यस्ता जग्गा उद्यमीलाई न्यूनतम मूल्यमा उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विगतका आन्दोलन, कोभिड महामारी र भदौ २३–२४ को ‘जेन्जी आन्दोलन’पछि देशको अर्थतन्त्र थप सुस्ताएको बताए। रसुवा–नुवाकोटमा हालै आएको बाढीले अर्थतन्त्रमा थप धक्का दिएको उनको भनाइ थियो।
कृषि, पर्यटन, ऊर्जा र पुँजी बजारलगायत कुनै पनि क्षेत्रमा सकारात्मक संकेत नदेखिएको उल्लेख गर्दै उनले सरकारले बजेटमार्फत निजी क्षेत्रबाट १४ खर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको र बाढीपछिको पुनर्निर्माणका लागि थप ८ खर्ब रुपैयाँ निजी क्षेत्रबाटै जुटाउने भनिएकाले कुल २२ खर्बको बोझ परेको बताए।
‘दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन्। छोराछोरी पढ्न गएर त्यहीँ अडिन्छन्, यहाँ बुढापाकामात्र बाँकी रहन्छन्। रेमिट्यान्सले मात्र देश धान्न सक्दैन,’ उनले भने।
संघको एकवर्षे उपलब्धि सार्वजनिक
कार्यक्रममा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले आफ्नो एकवर्षे कार्यकालमा संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर बजेट सुनिश्चित गरिएको जानकारी दिइन्।
उनका अनुसार संघले तीनमहिने सिलाइकटाइ तथा प्लम्बिङलगायत सीपमूलक कार्यक्रम सञ्चालन गरेको छ। पोखरा महानगरपालिकाबाट उद्योगहरूलाई विज्ञापन करमा ५० प्रतिशत छुट दिलाउन सफल भएको र २१औँ लेखनाथ महोत्सवसमेत सम्पन्न गरेको उनले बताइन्।
८० जना संस्थापक सदस्यबाट सुरु भएको संघमा हाल दुई हजारभन्दा बढी सदस्य रहेको अधिकारीले जानकारी दिइन्।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले नेपालमा लघु उद्यम तथा व्यवसायको हिस्सा ८२ देखि ८५ प्रतिशतसम्म रहेको उल्लेख गर्दै साना, मझौला र ठूला उद्योगको विकासका लागि सबै क्षेत्रलाई सँगसँगै अघि बढाउनुपर्ने बताए।
कृषि, पर्यटन र स्थानीय उत्पादनका क्षेत्रमा संस्थागत अनुसन्धान गरेर नीतिगत हस्तक्षेप गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताए। कास्कीमा दुईवटा उद्योग वाणिज्य संघ रहेको र दुवैको नेतृत्व महिलाले सम्हालेको उनले स्मरण गराए।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमलगायतले बोलेका थिए।
पत्रकार यात्रीलाई एक लाख एक हजारको पुरस्कार
साधारण सभाको अवसरमा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्वारा स्थापित चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सेवा पुरस्कार यात्री मिडिया नेटवर्क प्रालिका प्रधान सम्पादक टीकाराम यात्रीलाई प्रदान गरिएको छ। पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ रहेको छ।
त्यस्तै, पोखरा रत्न सम्मान २०८२ बाट सम्मानित उद्यमी चन्द्रकृष्ण कर्माचार्यलाई बधाईसहित सम्मान गरिएको थियो। सहयोगीदाता सम्मानअन्तर्गत कर्माचार्य बेक्स एन्ड फुड्सका सञ्चालक गोविन्द कर्माचार्य तथा संघका उत्कृष्ट कर्मचारीका रूपमा प्रसिद्ध पौडेललाई सम्मान गरिएको थियो।
संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए।













