२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
अर्थ र वाणिज्य

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत

पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका नाममा व्यवसायीलाई हतोत्साहित र आतंकित नपार्न सरोकारवाला निकायसँग माग गरेको छ। संघले तोकिएकोभन्दा बढी मूल्य लिने, म्याद गुज्रेका सामान बिक्री गर्ने तथा उपभोक्ताको हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि आग्रह गरेको छ।

संघका अध्यक्ष शोभा गौतम नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमनलाई मर्यादित, व्यवस्थित र उपभोक्ता हितमैत्री बनाउन माग गरेको हो।

चाडबाड नजिकिँदै गर्दा सरकारी निकाय तथा विभिन्न संघसंस्थाले गरेको बजार अनुगमनका क्रममा केही व्यवसायीमाथि कारबाही भएका समाचार सार्वजनिक भएपछि संघले प्रशासनको ध्यानाकर्षण गराएको हो।

ध्यानाकर्षण पत्रमा व्यवसायीले वर्षौं लगाएर निर्माण गरेको ब्रान्ड र प्रतिष्ठामा सामान्य त्रुटिका आधारमा क्षति पुग्ने गरी प्रचारप्रसार नगर्न आग्रह गरिएको छ। अनुगमनका क्रममा व्यवसायीको कानुनी प्रतिरक्षाको अधिकारलाई समेत सम्मान गर्नुपर्ने संघको भनाइ छ।

संघले उपभोक्ता हितविपरीतका गतिविधिको भने विरोध गरेको छ। बढी नाफा लिने प्रवृत्ति रोक्दै गुणस्तरीय वस्तुको उत्पादन तथा बिक्रीवितरण सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उसले व्यवसाय गर्ने संवैधानिक अधिकारमाथि अनावश्यक हस्तक्षेप गर्न नहुने जनाएको छ।

ध्यानाकर्षण पत्रमा संविधानको धारा १७ को उपधारा १(च) ले दिएको पेसा, रोजगार तथा उद्योग–व्यवसाय सञ्चालन गर्ने स्वतन्त्रताको स्मरण गराउँदै उपभोक्ताको हित संरक्षणसम्बन्धी धारा ४४ प्रति पनि संघ सचेत रहेको उल्लेख छ।

चाडबाडको मुखमा पसल तथा बजारमा भीडभाड हुने समयमा गरिने अनुगमनले व्यवसायीलाई हतोत्साहित बनाएको संघको जिकिर छ। उपभोक्ता सचेतनाका कार्यक्रम समयमै सञ्चालन नगर्ने, भीडभाडका बेला अनुगमन गर्ने र मानवीय असावधानीबाट भएका सामान्य त्रुटिलाई आधार बनाएर व्यवसायीको चरित्रहत्या हुने गरी प्रचार गर्ने कार्य न्यायोचित नहुने संघले जनाएको छ।

कारबाहीका नाममा सोझै दण्ड–जरिवानाको रसिद काट्ने र त्यसलाई सार्वजनिक सञ्चारमाध्यममार्फत प्रसारण गर्दा व्यक्तिको कानुनी प्रतिरक्षाको अधिकारमा असर पर्ने संघको भनाइ छ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले बजार अनुगमनमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न पहल गर्ने तथा उपभोक्ता हितसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिएका छन्। निजी क्षेत्रलाई हतोत्साहित बनाउने प्रशासनको उद्देश्य नरहेको उल्लेख गर्दै उनले आपूर्ति प्रणाली चुस्तदुरुस्त राख्न र उपभोक्तालाई सहज रूपमा उचित मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउन प्रशासन क्रियाशील रहेको बताए।

संघले चाडबाडलाई लक्षित गरी व्यवसायीलाई सम्भावित मागअनुसार आपूर्ति व्यवस्था मिलाउन, आफ्ना उत्पादन तथा सेवामा यथासम्भव छुट दिन, गुणस्तरीय वस्तु बिक्रीवितरण गर्न, कानूनले तोकेभन्दा बढी मूल्य नलिन, म्याद गुज्रेका सामानको खरिदबिक्री नगर्न तथा खरिद–बिक्रीका बिल चुस्तदुरुस्त राख्न पनि आग्रह गरेको छ।

महासचिव सुदीप प्रधानाङ्गका अनुसार व्यवसायलाई स्वच्छ, मर्यादित र उपभोक्तामैत्री बनाउन संघले व्यवसायी तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै आएको छ।

अध्यक्ष गौतम नेतृत्वको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष दीनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्ष सौगात थापा, वाणिज्य उपाध्यक्ष मनोजकुमार श्रेष्ठ, महासचिव सुदीप प्रधानाङ्ग, कोषाध्यक्ष देवेन्सन प्रजू तथा उपमहासचिव प्रदीपराज राजभण्डारी सहभागी थिए।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…

पोखरा र समृद्धि फाइनान्सको मर्जर पूरा:असार २६ देखि ‘पोखरा फाइनान्स’को नाममा एकीकृत कारोबार

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड ले असार २६ गते शुक्रबारदेखि ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन्। एकीकृत कारोबारका लागि डाटा…