0Shares

काठमाडौं । नेपाल प्रेस युनियनको नेतृत्वमा रहेका शिव लम्साल अब नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा आफ्नो भूमिका खोज्दैछन्। कांग्रेसको १५औँ महाधिवेशनमा उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीतिक यात्रा, पत्रकारितामा बिताएको लामो समय र प्रेस युनियनको नेतृत्वबाट प्राप्त संगठनात्मक अनुभवलाई अब कांग्रेसको मूल संगठनमा प्रयोग गर्ने उद्देश्यसहित लम्साल चुनावी मैदानमा उत्रिएका हुन्। बारा क्षेत्र नम्बर १ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

लम्सालको राजनीतिक यात्रा २०५१ सालमा नेविसंघ बारा क्षेत्र नम्बर १ को अध्यक्ष बनेसँगै अघि बढेको थियो। त्यसपछि बारा, स्याङ्जा र मकवानपुरका विभिन्न क्याम्पसमा विद्यार्थी संगठन निर्माण र गतिविधिमा सक्रिय रहे। विद्यार्थी राजनीतिपछि पत्रकारिता रोजेका उनी नेपाल प्रेस युनियनको संगठनमा जोडिएर काठमाडौं शाखा सभापतिदेखि केन्द्रीय सचिव र महासचिव हुँदै २०७९ सालमा अध्यक्ष बने।

पत्रकारिताबाट पार्टी राजनीतितर्फको उनको प्रवेश भने केवल पदको दाबीमा सीमित छैन। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्यलाई पार्टीको नीतिनिर्माण तहसँग जोड्ने उनको मुख्य एजेन्डा छ। प्रेस स्वतन्त्रता पत्रकारको मात्र विषय नभई लोकतन्त्रको आधारभूत पक्ष भएकाले राजनीतिक नेतृत्वले त्यसको संरक्षणमा स्पष्ट भूमिका खेल्नुपर्ने उनको धारणा छ।

लम्सालले कांग्रेसको संगठनलाई थप सक्षम, सक्रिय र कार्यकर्तामैत्री बनाउन आफूले हासिल गरेको संगठनात्मक अनुभव उपयोग गर्ने बताएका छन्। विभिन्न तहका संगठनसँग काम गरेको अनुभव, देशभरका पत्रकारसँगको सम्पर्क र पेशागत संगठन सञ्चालनको अनुभवलाई पार्टी संगठन विस्तार र कार्यकर्ता परिचालनमा जोड्न सकिने उनको विश्वास छ।

उनको उम्मेदवारीले कांग्रेसभित्र पेशागत क्षेत्रबाट आएको नेतृत्वले पार्टीको नीति र निर्णय प्रक्रियामा कस्तो भूमिका खेल्न सक्छ भन्ने बहसलाई पनि अगाडि ल्याएको छ। सञ्चार, सूचना, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका सवाललाई पार्टीको मूल नीतिसँग जोड्ने प्रतिबद्धता लम्सालले व्यक्त गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पृष्ठभूमिका नेताहरूले केन्द्रीय सदस्यमा दाबी गरिरहेका बेला लम्सालले भने आफ्नो राजनीतिक यात्राको आधारका रूपमा नेविसंघको संगठन, पत्रकारिताको अनुभव र प्रेस युनियनको नेतृत्वलाई अघि सारेका छन्। उनका लागि यो उम्मेदवारी नयाँ राजनीतिक सुरुवातभन्दा पनि लामो समयदेखि जोडिएको संगठनात्मक यात्रालाई पार्टीको मूल संरचनामा विस्तार गर्ने प्रयास हो।

‘सक्षम संगठन, सशक्त कांग्रेस र लोकतान्त्रिक मूल्यको संरक्षण’लाई आफ्नो प्राथमिकता बताउने लम्साल केन्द्रीय सदस्यमा निर्वाचित भए प्रेस स्वतन्त्रता र पेशागत क्षेत्रका मुद्दालाई पार्टीको नीतिनिर्माणमा प्रभावकारी रूपमा उठाउने बताउँछन्। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा अब कांग्रेसको केन्द्रीय नेतृत्वमा कस्तो परिणाम दिन्छ भन्ने चासो महाधिवेशनसँगै बढेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected