
पोखरा । पर्यटन व्यवसायमा प्रविधिको प्रयोग बढ्दै जाँदा महिला व्यवसायीलाई पनि डिजिटल बजारको प्रतिस्पर्धामा सक्षम बनाउने उद्देश्यले पोखरामा दुईदिने ‘एआई एन्ड डिजिटल मार्केटिङ फर टुरिजम बिजनेस ग्रोथ’ तालिम सुरु भएको छ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजना,युनाइटेड कम्युनिटी नेपाल र स्विसकन्ट्याक्ट नेपालको सहयोगमा दुईदिने ‘दिगो पर्यटनका लागि समान सहभागिता’ भन्ने नारासहित तालिम सुरु भएको हो। तालिममा पोखरासहित विभिन्न क्षेत्रका ४५ जना महिला पर्यटन व्यवसायी सहभागी छन्।

टेम्पल बेल बुटिक होटल एन्ड स्पामा सञ्चालित तालिममा कृत्रिम बौद्धिकता (एआई) र डिजिटल मार्केटिङलाई पर्यटन व्यवसायको प्रवर्द्धन, ग्राहकसम्म पहुँच विस्तार तथा बजार विस्तारका लागि कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने भन्ने विषयमा प्रशिक्षण दिइँदै छ।
तालिमको सहजीकरण डिजिटल मार्केटर तथा एआरके भिजन एकेडेमीका सहसंस्थापक राहुल सापकोटाले गरिरहेका छन्। डिजिटल माध्यमबाट व्यवसायको प्रचारप्रसार गर्ने, प्रविधिको उपयोग बढाउने र बदलिँदो बजारको मागअनुसार व्यावसायिक क्षमता विकास गर्ने विषय तालिमका प्रमुख क्षेत्र हुन्।
पर्यटन व्यवसायी महिला संघ नेपालका अध्यक्ष शोभा न्यौपाने पाण्डेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा उनले महिला पर्यटन व्यवसायीलाई नयाँ प्रविधिको ज्ञान र सीपसँग जोड्दै व्यवसाय विस्तारका अवसर सिर्जना गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताइन्।
उनका अनुसार एआई र डिजिटल मार्केटिङको प्रभावकारी प्रयोगले पर्यटन व्यवसायको प्रचारप्रसारलाई व्यवस्थित बनाउनुका साथै सम्भावित ग्राहकसम्म पुग्न र बजारमा प्रतिस्पर्धी बन्न सहयोग पुर्याउन सक्छ।
पर्यटन क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै महिला व्यवसायीको क्षमता अभिवृद्धि गर्ने र दिगो पर्यटन विकासमा उनीहरूको सहभागिता थप प्रभावकारी बनाउने अपेक्षासहित तालिम आयोजना गरिएको तालिमका संयोजक एवम् टेवानका महासचिव शोभा अधिकारी पौडेलले जनाइन् ।




