
पोखरा, ७ मंसिर । स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापार विस्तार, कला संस्कृतिको संरक्षण र आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यसहित २२औँ लेखनाथ महोत्सव आगामी पुस २ देखि १३ गतेसम्म हुने भएको छ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा स्थानीय उत्पादनदेखि औद्योगिक व्यापार, कृषि, पर्यटन र मनोरञ्जनसम्मका गतिविधि समेटिने भएका छन्। महोत्सवबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य संघले तयारी र कार्यक्रमबारे जानकारी दिएको हो।
संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद स्थानीय उत्पादनको बजारीकरण, कृषकलाई प्रोत्साहन र सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको बताइन्। महोत्सव व्यापारिक प्रदर्शनीमा मात्र सीमित नभई सिक्ने र सिकाउने अनौपचारिक विश्वविद्यालयका रूपमा विकास भएको उनको भनाइ छ।
महोत्सव प्रचारप्रसार उपसमिति संयोजक एवं संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईका अनुसार महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला, सूचना प्रविधि, विद्युतीय उपकरण, फर्निचर तथा स्थानीय कृषि उत्पादनको बिक्री र प्रदर्शनी हुनेछ। स्थानीय सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी तथा दुग्धजन्य उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ। फुड फेस्टिभल, अटोमोबाइल र ग्रामीण प्रविधिको प्रदर्शनीसँगै कृषि, पर्यटन र उद्योगसम्बन्धी संवाद कार्यक्रम पनि सञ्चालन हुनेछन्। महोत्सवको विशेष आकर्षणका रूपमा गौतम बुद्धको प्रतिमा राखिनेछ।
संस्कृति र मनोरञ्जनतर्फ विभिन्न जातजातिका झाँकी, भेषभूषा तथा सांस्कृतिक प्रदर्शनी, महिला रत्यौली, विद्यालयस्तरीय नृत्य, साहित्यिक कार्यक्रम, लोकदोहोरी, हास्यव्यङ्ग्य, पप कन्सर्ट र लाइभ ब्यान्ड प्रस्तुत गरिनेछ। बाल उद्यान, टिकटक प्रतियोगिता र बृहत् साइकल र्यालीले पनि दर्शकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ।
महोत्सवमा विभिन्न प्रकृतिका ३३५ स्टल रहनेछन्। गार्मेन्ट तथा रेडिमेड कपडाका ११२, कृषि तथा पशुजन्य वस्तुका ४०, किचन सामग्रीका २६, जनरल २४, फुड एन्ड बेभरेजका १८ र खाना महोत्सवका १७ स्टल रहनेछन्। संघका सदस्यले स्टल बुकिङमा २० प्रतिशत छुटका साथै सामान ढुवानीमा थप दुई हजार रुपैयाँ छुट पाउनेछन्।
महोत्सव प्रवेशका लागि विद्यार्थीलाई ५०, सर्वसाधारणलाई १०० र सुगम संगीत कन्सर्टका लागि २०० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ।
आयोजकले महोत्सवमा करिब दुई लाख ७० हजार दर्शक भित्र्याउने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखेको छ। एक करोड पाँच लाख रुपैयाँ आम्दानी र ८५ लाख रुपैयाँ खर्च हुने अनुमानसहित २० लाख रुपैयाँ बचत गर्ने लक्ष्य छ। बचत रकम सात तालको संरक्षण तथा प्रवर्द्धन, नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणको पहल, पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने संघले जनाएको छ।
मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिका तर्फबाट संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यले स्वदेशी उद्योगको विस्तारले आयात प्रतिस्थापन, कृषकको आय वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्याउने बताए। नेपाली उद्योगले उत्पादन र बजार विस्तारमा सक्रियता देखाए आयातमा निर्भरता घटाउन सकिने उनको भनाइ थियो।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने महोत्सवको सहआयोजकमा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन्। पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक तथा एग्रो थाई फुड्स प्रालि मुख्य प्रायोजक रहेका छन्।
स्थानीय उत्पादनको बजार विस्तार, उद्यमशीलता प्रवर्द्धन, कला संस्कृतिको संरक्षण र आर्थिक गतिविधि बढाउने साझा उत्सवका रूपमा महोत्सवलाई सफल बनाउन आयोजकले उद्योगी, व्यवसायी, सञ्चारमाध्यम, विभिन्न संघसंस्था र सर्वसाधारणलाई सहभागिताका लागि आग्रह गरेको छ।












