
संविधान, विधिको शासन र सुशासनमा सरकार चुकेको कांग्रेसको निष्कर्ष, अर्थतन्त्र सुधारदेखि सीमा विवादसम्म सरकारसँग जवाफ माग-सरकारलाई कांग्रेसको कडा खबरदारी : अध्यादेश फिर्ता लिन र संसद् बोलाउन माग
काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधि तत्काल सच्याउन माग गरेको छ। संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाउँदै कांग्रेसले अध्यादेश फिर्ता लिन, संसद्को अधिवेशन आह्वान गर्न र संवैधानिक संस्थाहरूको मर्यादा कायम राख्न सरकारलाई खबरदारी गरेको हो।
सभापति गगनकुमार थापाको सभापतित्वमा मंसिर ८ देखि ११ गतेसम्म पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारका पछिल्ला गतिविधि शासकीय स्वेच्छाचारितातर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ। बैठकका निर्णयहरू महामन्त्री प्रदीप पौडेलले शुक्रबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन्।
कांग्रेसले निर्वाचनपछि आफूले रचनात्मक, जिम्मेवार र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै अब सरकारका गलत निर्णय र कार्यशैलीविरुद्ध थप दृढतापूर्वक प्रस्तुत हुने निर्णय गरेको छ।
सरकारका सकारात्मक प्रयासमा सहयोग गर्ने प्रतिबद्धता यथावत् रहेको जनाउँदै कांग्रेसले संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाभिमान, विधिको शासन र नागरिकका अधिकारमाथि प्रहार हुने गतिविधिमा भने मौन बस्न नसकिने स्पष्ट पारेको छ।
सरकार गठनको प्रारम्भिक चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमीका रूपमा बुझ्दै संयम अपनाएको भए पनि पछिल्ला गतिविधिले सरकार सञ्चालन गर्ने नेतृत्वको सोच, चरित्र र प्रवृत्तिमाथि नै गम्भीर प्रश्न उठाएको कांग्रेसको ठहर छ।
अध्यादेश फिर्ता लिन र संसद् अधिवेशन बोलाउन माग
कांग्रेसले संसद्प्रति निरन्तर उपेक्षा गर्ने, संसदीय समितिप्रति जवाफदेही नहुने र संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्ने सरकारको प्रवृत्तिप्रति आपत्ति जनाएको छ।
शक्ति पृथकीकरणको सिद्धान्तविपरीत कार्यपालिकाले व्यवस्थापिका, संवैधानिक निकाय तथा राज्यका विभिन्न अङ्गमाथि हस्तक्षेप र नियन्त्रण गर्न खोजेको कांग्रेसको आरोप छ।
प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग सम्बन्धित संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन, संसद्को अधिवेशन आह्वान गर्न तथा संवैधानिक सीमा र संस्थागत मर्यादाको पूर्ण पालना गर्न कांग्रेसले माग गरेको छ।
कांग्रेसले सरकारलाई प्रश्न गरेको छ, ‘यही संविधान र संसदीय व्यवस्थाबाट प्रधानमन्त्री बन्ने तर संविधानले स्थापित गरेका संसद्, राष्ट्रपति, संवैधानिक निकाय र विधि–प्रक्रिया कसैलाई पनि मान्दिनँ भन्ने प्रवृत्तिलाई सरकारले नै संस्थागत गर्ने हो भने संवैधानिक व्यवस्था कसरी जोगिन्छ?’
राज्यशक्तिको दुरुपयोग र राजनीतिक प्रतिशोधप्रति आपत्ति
कांग्रेसले सरकारका पछिल्ला गतिविधिमा राज्यशक्तिको चयनात्मक प्रयोग भइरहेको आशङ्का व्यक्त गरेको छ। सरकारका विरोधीमाथि कानुन प्रयोग गर्ने तर निकटस्थलाई संरक्षण गर्ने प्रवृत्ति विधिको शासनविपरीत भएको उसको भनाइ छ।
सुनकोशी–मरिन आयोजनासँग सम्बन्धित प्रकरण तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएको मोबाइल प्रकरणले सरकारको निष्पक्षतामाथि प्रश्न उठाएको कांग्रेसले जनाएको छ।
यी प्रकरणको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न, अनुसन्धानमा राजनीतिक हस्तक्षेप नगर्न तथा दोषी देखिएका जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन कांग्रेसले माग गरेको छ।
अर्थतन्त्र सुधार र महँगी नियन्त्रण गर्न सरकारसँग माग
कांग्रेसले अर्थतन्त्र र जनजीविकाका सवालमा सरकार अपेक्षित रूपमा गम्भीर नभएको निष्कर्ष निकालेको छ। आम नागरिकको आम्दानी र खर्चबीचको खाडल फराकिलो हुँदै गएको, दैनिक उपभोग्य वस्तुको महँगी बढेको तथा साना उद्यमी र व्यवसायीले व्यवसाय सञ्चालन र बैंकको ऋण तिर्नसमेत कठिनाइ भोगिरहेको कांग्रेसको ठहर छ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उपलब्ध हुँदाहुँदै पनि लगानी बढ्न नसकेको, बैंकहरूको खराब कर्जाप्रतिको चिन्ता बढेको र निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको कांग्रेसले जनाएको छ।
अर्थतन्त्रको वर्तमान अवस्थाबारे यथार्थपरक विवरण सार्वजनिक गर्न, समयबद्ध आर्थिक कार्ययोजना ल्याउन, निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न, पुँजीगत खर्च बढाउन तथा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्न कांग्रेसले सरकारसँग माग गरेको छ।
महँगी नियन्त्रण गरी आम नागरिकलाई तत्काल राहत दिनुपर्नेमा जोड दिँदै कांग्रेसले सरकारलाई प्रश्न गरेको छ, ‘नागरिकको आम्दानी, शिक्षा, स्वास्थ्य, रोजगारी र जीवनस्तरमा सुधार ल्याउनु सरकारको प्राथमिकता होइन भने यो सरकारको प्राथमिकता आखिर के हो?’
सयदिने प्रतिबद्धता र सम्झौताको हिसाब माग
सरकारले कार्यभार सम्हाल्दा सार्वजनिक गरेको सयदिने कार्ययोजना, विभिन्न समुदाय तथा समूहसँग गरेका सम्झौता र गठन गरेका अध्ययन तथा छानबिन समितिका प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ।
समस्या समाधानका लागि समिति गठन गर्ने, असन्तुष्टि साम्य पार्न सम्झौता गर्ने र लोकप्रियताका लागि घोषणा गर्ने तर कार्यान्वयनमा जिम्मेवारी नलिने प्रवृत्ति देखिएको कांग्रेसको आरोप छ।
भदौ २३ र २४ का घटनासम्बन्धी छानबिन, मानव अधिकार आयोगको प्रतिवेदन, गृहमन्त्रीमाथिको छानबिन तथा विभिन्न समुदायसँग भएका सम्झौताको कार्यान्वयन अवस्थाबारे सरकारले नागरिकलाई स्पष्ट जानकारी दिनुपर्ने कांग्रेसको माग छ।
भारत भ्रमणका उपलब्धि सकारात्मक, सीमा मुद्दामा सरकारको अपरिपक्वता
बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका केही महत्त्वपूर्ण सहमतिलाई सकारात्मक रूपमा लिएको छ। भैरहवा हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति, भोटेकोशी–त्रिशूली क्षेत्रमा पुनर्निर्माण तथा विकासका लागि घोषणा गरिएको २४० अर्ब रुपैयाँ बराबरको सहयोग र शिक्षा, प्रविधि, स्टार्टअप, नवप्रवर्तन तथा जलवायु उत्थानशीलताका क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई कांग्रेसले स्वागत गरेको छ।
तर नेपाल–भारत सम्बन्धका संवेदनशील विषय, विशेषगरी सीमा विवादले उच्चस्तरीय संवादमा अपेक्षित प्राथमिकता नपाएको भन्दै कांग्रेसले सरकारको आलोचना गरेको छ।
प्रधानमन्त्री बन्नुअघि र पदमा रहेर पनि भारतसँगको सम्बन्ध तथा सीमा मुद्दामा उत्तेजक अभिव्यक्ति दिँदै आउनुभएका प्रधानमन्त्रीले कूटनीतिक संवादमार्फत उक्त विषय उठाउने अवसर पाउँदा प्राथमिकता नदिनुले बोली र व्यवहारबीच विरोधाभास देखिएको कांग्रेसको टिप्पणी छ।
संयुक्त वक्तव्य र संयुक्त दूरदृष्टि पत्र जारी हुनु आफैँमा उपलब्धिको पर्याप्त आधार नभएको उल्लेख गर्दै त्यसमा नेपालको राष्ट्रिय हित र सार्वभौमसत्ताका सवाल कति प्रभावकारी रूपमा सम्बोधन भए भन्ने आधारमा उपलब्धिको मूल्याङ्कन हुनुपर्ने कांग्रेसको भनाइ छ।
सीमा विवादलाई द्विपक्षीय संवादको मूल एजेन्डामा राख्न, विद्यमान संयन्त्र सक्रिय बनाउन र उच्चस्तरीय कूटनीतिक पहलमार्फत समाधान खोज्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
बाढीपीडितको पुनर्स्थापनामा सरकारको बेवास्ता
कांग्रेसले भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकीलगायतका बाढी प्रभावित क्षेत्रमा पुनर्स्थापना तथा पुनर्निर्माणको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना गरेको छ।
भोटेकोशीमा बाढी गएको तीन महिनाभन्दा बढी बितिसक्दा पनि प्रभावित नागरिकले सुरक्षित आवास, राहत र पुनर्स्थापनाको अनुभूति गर्न नसकेको कांग्रेसको भनाइ छ। राहत सामग्री गोदाममा थन्किएको तर पीडित चिसो त्रिपालमुनि बस्न बाध्य भएको, मृतक तथा बेपत्ताको यकिन तथ्याङ्क सङ्कलन हुन नसकेको र घोषणा गरिएका राहत रकमसमेत पीडितसम्म नपुगेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले जोखिमयुक्त क्षेत्रका बस्तीको पहिचान गरी वैकल्पिक जग्गा र सुरक्षित आवासको व्यवस्था गर्न, प्रभावित क्षेत्रको एकीकृत पुनर्लाभ तथा पुनर्निर्माण योजना बनाउन र साना ऋणी, विस्थापित नागरिक तथा जलविद्युत् र पर्यटन व्यवसायीका लागि राहत, अनुदान र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न माग गरेको छ।
यसका लागि केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित समन्वय तथा सहजीकरण समितिमा सम्बन्धित क्षेत्रका सांसद, पार्टीका केन्द्रीय सदस्य र विज्ञसमेत समावेश गरी आवश्यक समन्वय र सहजीकरणको जिम्मेवारी दिने निर्णय गरिएको छ।
सुकुम्बासी समस्या समाधानमा अध्यादेश होइन, स्थायी कानुनको बाटो
भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दा नागरिकको आवास अधिकार, मानवीय मर्यादा र सामाजिक न्यायलाई प्राथमिकता दिनुपर्ने कांग्रेसको निष्कर्ष छ।
पर्याप्त पूर्वतयारी, वैकल्पिक आवास र कानुनी प्रक्रिया पूरा नगरी बस्ती हटाउने तथा बल प्रयोग गर्ने सरकारी शैलीप्रति कांग्रेसले आपत्ति जनाएको छ। वास्तविक भूमिहीन, सुकुम्बासी र सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत वा व्यावसायिक लाभ लिने व्यक्तिबीच निष्पक्ष पहिचान गर्नुपर्ने उसको भनाइ छ।
भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशको बाटो गलत भएको उल्लेख गर्दै कांग्रेसले संसद्बाट स्थायी कानुन निर्माण गर्नुपर्नेमा जोड दिएको छ। कांग्रेसको पहलमा तत्कालीन कृषि तथा प्राकृतिक स्रोत संसदीय समितिबाट अघि बढाइएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ पारित गरी कार्यान्वयन गर्नसमेत माग गरेको छ।
पार्टीको नाम, झण्डा र चुनाव चिह्नको अनधिकृत प्रयोग नगर्न चेतावनी
बैठकले नेपाली कांग्रेसको नाम, लेटरप्याड, चारतारे झण्डा, छाप तथा चुनाव चिह्न ‘रुख’ को अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीको नाम र आधिकारिक प्रतीक प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा गतिविधि सञ्चालन नगर्न सम्बन्धित व्यक्ति तथा समूहलाई आग्रह गर्दै त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा प्रचार नगर्न चेतावनी दिएको छ।
यस्ता गतिविधि जारी राखे पार्टीको विधान र प्रचलित कानुनबमोजिम कारबाही तथा कानुनी प्रक्रिया अघि बढाउने निर्णय कांग्रेसले गरेको छ। निर्वाचन आयोगलगायत सम्बन्धित निकायलाई पार्टीको वैधानिक पहिचान संरक्षण गर्न पनि आग्रह गरिएको छ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान गठन
कांग्रेसले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानप्रति ऐक्यबद्धता जनाउँदै लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान (IGEDSI) स्थापना गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार, सुरक्षा र न्यायका विषयमा नीतिगत सुझाव दिने, अध्ययन अनुसन्धान गर्ने, पार्टीभित्र समावेशी अभ्यास प्रवर्द्धन गर्ने तथा लैङ्गिक हिंसा र विभेदसम्बन्धी गुनासोको सुनुवाइ र आवश्यक सिफारिस गर्नेछ।
कांग्रेसले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई देशका ६ हजार ७४३ वटै वडासम्म विस्तार गरी जनचेतना, हिंसा रोकथाम, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न पार्टीका सबै तहका संरचना, भ्रातृ तथा शुभेच्छुक संस्थालाई निर्देशनसमेत दिएको छ।
बैठकले ‘हामी तयार छौँ’ अभियानको अवधारणापत्र स्वीकृत गर्नुका साथै सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ परिमार्जनसहित पारित गरेको छ।
त्यसैगरी केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन गर्ने अधिकार सभापति गगनकुमार थापालाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ।
बैठकका निर्णयहरू महामन्त्री प्रदीप पौडेलले मंसिर १२ गते प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन्।












