
पोखरा भ्यूज
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको ब्याजदरको असरले मंगलबार पनि शेयर बजार घट्यो । बैंक तथा वित्तीय संस्थाहरुले सोमबार नै विज्ञप्ति निकालेर ब्याजदर बढेको सूचना सार्वजनिक गरेपछि त्यसको सिधा असर शेयर बजारमा परेको थियो ।
सोमबार २.६२ प्रतिशतले घटेको बजार निरन्तर ओरालो लागि रह्यो । मंगलबार नेप्से सूचक ७६.९६ अंकले घटेर २५११.१० विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १३.२३ अंकले झरेको छ ।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक रेकर्ड कायम भयो। कारोबारमा अधिकाँश कम्पनीको शेयरमूल्य घट्दा सबै उपसमूहको सूचक नकारात्मक देखिएको हो। सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक घटेको छ । फाइनान्स उपसमूह ५ प्रतिशतभन्दा धेरैले घटेको छ। यद्यपि कारोबारमा आएका ७ वटा कम्पनीको मात्रै शेयरमूल्य भने हरियाली नै देखिएको छ । महुली सामुदायिक लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.४९ प्रतिशतले बढेको छ भने मानुसी लघुवित्तको ४.०१ प्रतिशत, माउन्टेन इनर्जीको ३.५५ प्रतिशत, मेरो माइक्रोफाइनान्सको २ प्रतिशत र कालिका लघुवित्तको १.७५ प्रतिशतले बढेको छ।
तयस्तै नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य सबैभन्दा धेरै ९.७७ प्रतिशतले घटेको छ भने नेशनल हाइड्रोपावरको ९.४९ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ८.७१ प्रतिशत, मैलुङ खोला जलविद्युतको ८.०२ प्रतिशत र पोखरा फाइनान्स ७.९६ प्रतिशतले गिरेको छ।
नेप्से सूचक घट्दा पनि कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्बभन्दा कमको शेयर कारोबार भएकोमा मंगलबार ३ अर्ब ७८ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यस दिन ९५ लाख ७५ हजार ६०१ कित्ता शेयर ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९९५ रुपैयाँमा खरिद बिक्री भएको छ।







सम्बन्धित खवर
















